प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्

[mashshare]

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।

‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भने ।

सम्बोधनको क्रममा उनले वर्तमान सरकारको प्राथमिकता स्पष्ट पारकेा छन् । ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ,’ उनले भने ।

फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु। विभिन्न आन्दोलन र संघर्षका क्रममा घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। निरंकुशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षको मैदानमा खट्नुभएका सम्पूर्ण योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै न्याय, समानता र स्वतन्त्रताका पक्षमा संघर्षशील स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

अन्त्यमा, ७३ औं प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button