फतुवा विजयपुरमा २० दिनपछि खुल्यो ताला, तलब र सुविधा पाउनेमा अझै आशंका

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

तलब माग गर्दै शिक्षक, कर्मचारीले फतुवा विजयपुर नगरपालिकामा गरेको तालाबन्दी २० दिनपछि खुलेको छ । छठपर्वअघि सम्पूर्ण शिक्षक, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिइने शर्तमा जनप्रतिनिधि र कर्मचारीको रोहवरमा शुक्रवार साँझ ताला खुलेको हो ।
फतुवा विजयपुरका निलम्बित मेयर गोपाल राय यादवको पहलमा ११ वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा शिक्षक र नगरका कर्मचारी भेला भएका थिए ।

छलफलमा नगरअन्तर्गतका सम्पूर्ण शिक्षक, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता छठपर्वअघि वितरण गरिने सहमतिमा वडाअध्यक्षहरुले जिम्मा लिएपछि ताला खुलेको वडा नम्बर ९ का अध्यक्ष पप्पु भनिने राकेश यादवले बताए ।
बडादशैँको मुखमा तलबसुविधा पाउने सम्भावना नदेखिएपछि असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मूलगेटमा तालाबन्दी गरेका थिए ।

फतुवा विजयपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको अझै टुंगो लागेको छैन । मन्त्रालयले फतुवामा केहीदिन अघि नयाँ प्रशासकीय अधिकृतका रूपमा पठाएका उपसचिव सुरेन्द्र प्रधानलाई जनप्रतिनिधिले विभिन्न आरोप लगाउँदै हाजिर हुन दिएका छैनन् । प्रधान आएपछि पहिलेदेखि कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव पनि कार्यालय आउन छोडेका छन् । कार्यवाहक मेयर अम्बेया खातुनले नयाँ हाकिमका रुपमा उपसचिव प्रधान आउनुपर्ने र बाँकी वडाअध्यक्षले प्रधानलाई हाजिर हुने नदिने अडान लिएका छन् ।

असार १० गतेभित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधिबीच आपसी तालमेल नमिलेका कारण हालसम्म हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ। नगरभित्रका शिक्षकलगायत ३ सय ५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । वृद्धवृद्धा, एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

निलम्बितकै इशारामा वडाध्यक्षहरु: उपमेयर खातुन
उपमेयर अम्बे खातुनले निलम्बित मेयर यादवको इशारामा केही वडा अध्यक्षले कर्मचारीको तलबको निहुँमा नगरपालिकामा गरेको तालाबन्दी उनै यादवको इशारामा खुला गरेको बताइन् । निलम्बित मेयरले विभिन्न अवरोध उत्पन्न गरेर नगरपालिकाको कामकाज प्रभावित बनाइरहेको खातुनको भनाई छ ।

नदीको टेन्डर मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना फैसला विशेष अदालतबाट भएपछि उनको पद गएको हो । कार्यबाहक मेयर खातुन र वडाअध्यक्ष तथा फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बोर्डबीच समझदारी नहुँदा नगरको सम्पूर्ण काम अवरुद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button