रक्सौलमा किनमेल गर्न सरकारी गाडी

[mashshare]

मधेशदृष्टि
वीरगंज, २४ माघ ।
सरकारी स्वामित्वमा रहेको सवारी साधनको दुरुपयोग केही दिनयतादेखि बढ्दै गएको छ । कामकाज भन्दा पनि आफ्नो निजी कामको लागि सरकारी गाडीको दुरुपयोग गर्ने कार्य बढ्दै गएको हो । जनताको सेवा गर्ने क्रममा पालिका तथा सरकारी कार्यालयको कामको लागि आवतजावत गर्न सरकारले उपलब्ध गराएको सरकारी नम्बर प्लेटका गाडी पालिकाका जनप्रतिनिधिका आफन्त, श्रीमती तथा कर्मचारीको श्रीमतीहरु चढेर घरायसी सामान किनमेल गर्न रक्सौल पुग्ने गरेको पाइएको छ ।

घरायसी सामान किनमेल गर्न सरकारी गाडी भारतीय सिमावर्ती सहर रक्सौल देखिन्छन् । खास गरेर सार्वजनिक विदाको दिन सरकारी गाडी कार्यालय प्रमुख तथा जनप्रतिनिधिका आफन्तले किनमेलको लागि भारतीय सिमावर्ती सहर रक्सौल लगेको पाइएको छ ।
स्थलगत अनुगमनको क्रममा भारतको रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको दक्षिणपट्टि रहेको सवारी पार्किङ्गमा दुईवटा सरकारी गाडी पार्किङ्ग गरेको अवस्थामा फेला परेको थियो ।

बा. २ झ ४४३६ र मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको सरकारी गाडी पार्किङ्ग स्थलमा पार्क गरि राखिएको थियो । त्यस्तै बा. २ झ ४४३६ नम्बरको हाफ बडि स्कार्पियो तथा मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको स्कार्पियो पर्सा जिल्लाकै कुनै पालिकाको गाडी हुन, त्यहि थिए । दुबै गाडीमा महिला सवार भई घरायसी सामान किनमेल गर्न रक्सौल बजार पुगेका पाइयो । सरकारी गाडी लिएर आएका सवारी चालकसँग बुझ्दा आफूले केही नगरेको, जसले गाडी ल्याएको छ उसैसँग गएर बुझ्न भन्ने जवाफ पाइयो ।
पर्सा जिल्लामा रहेका १४ वटा पालिकाहरुमध्ये सिमावर्ती क्षेत्रमा पर्ने अधिकांश पालिकाको गाडी भारतीय सिमावर्ती सहरमा पुग्ने गरेको पाइन्छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा त तस्करहरुले ल्याउने सामान भन्दा पनि बढि सामान लोड गरेर खुलेयाम मुख्य भन्सार हुँदै ल्याउँने गरेको सहजै देख्न सकिन्छ ।

रक्सौलबाट वीरगंज आउने क्रममा ना. १ ब २३१२ नम्बरको टि.भि.एस. कम्पनीको आपाची मोटरसाइकलमा तस्करहरुले ल्याउँने सामान भन्दा बढी सामान बोकी रक्सौलबाट वीरगंज आउँदै गरेको दृष्य पनि देखियो । यो गाडी पनि कुनै सरकारी निकायकै हो ।
यसरी सरकारी नम्बरको गाडी लिएर सिमावर्ती सहरमा सामान किनमेल गर्न जाँदा कोही कसैले रोकटोक समेत गर्ने गरेको छैन । कार्यालयको काम गर्नका निम्ति मात्रै सरकारी गाडी प्रयोग गर्न पाउने प्रावधान रहेको अवस्थामा यहाँका कर्मचारीहरु खुलेयाम आफ्नो घरायसी सामान किनमेल गर्न रक्सौल आउँजाउँ गर्ने गरेका छन् । सरकारी गाडीमा बोकी भारतीय सीमावर्ती सहरबाट सामान ल्याउँदा भन्सार स्थित सुरक्षाकर्मीले रोकटोक नगर्ने, जति सामान भएपनि चेकजाँच नहुने, त्यसमा पनि आफ्नो निजी खर्च पनि नहुने कारणले गर्दा पनि जनप्रतिनिधि तथा कर्मचारी पत्निहरु सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइन्छ ।

सम्बन्धित नियामक को कमजोरीको कारण पनि जिल्लाका पालिका लगायत सरकारी कार्यालयहरुको गाडीको खुलेयाम दुरुपयोग हुने गरेको छ । यसो पनि शनिबारको दिन सरकारी गाडी चलाउन नपाइने अवस्थामा नियम कानूनलाई लत्याउँदै सरकारी निकायका कर्मचारी श्रीमती एवं जनप्रतिनिधिका श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।

स्थानीय निकायका जनप्रतिनिधि एवं कर्मचारी श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गरेको यो पहिलो घटना पनि होइन, पटक पटक यो विषयको उठान गरिएको छ तर सम्बन्धित निकायको लाचारीपनको कारण सरकारी गाडी दुरुपयोगमा कमि हुनुको साथै झन् बढ्दै गएको पाइन्छ ।

यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले श्निबारको दिन पास नलिईकन कुनै पनि सरकारी गाडी संचालन गर्न नपाइने भन्दै त्यस्तो पाइएमा ट्राफिकसँग समन्वय गरि नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा फर्काइने बताए ।
सामान्यता सरकारी विदामा सरकारी गाडी चलाउन पाइँदैन, तर कुनै यस्तो कार्यालय हुन्छ, फिल्डमा जानुपर्ने हुन्छ, शान्ति सुरक्षा कायम गर्न जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा जिल्ला प्रशासन कार्याल्यबाट सवारी पास जारी गरिन्छ र त्यसले मात्रै गाडी चलाउन पाउँछ तर यसरी अनुमति नलिई सरकारी विदाको दिन चलाउने गाडीलाई कारवाही गरिने उनको भनाई छ । परिवार घुमाउने सन्दर्भमा शनिबारको दिन परिवारलाई पनि लैजान नपाउने उनको भनाई छ तर यहाँ सरकारी गाडी परिवारको सदस्यहरुलाई सयर गर्नका लागि बढि प्रयोग गर्ने गरिएको पाइएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button