
मधेशदृष्टि
जनकपुरधाम ।
मुलुकमा नयाँ पार्टी खोल्नेदेखि पार्टीहरु ध्रुवीकृत हुने क्रम बढ्दो छ । यसैक्रममा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र कञ्चन नेतृत्वको नेकपा बहुमतको एकता भइ कम्युनिष्ट पार्टी नेपाल गठन भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन भएपछि नेताहरु पार्टीको आन्तरिक काममा व्यस्त छन् ।
वैचारिक–राजनीतिक कार्यदिशा, लक्ष्य, रणनीति र उद्देश्यसहितका खाका तयारीमा रहेका क्रममा पार्टीको आन्तरिक काममा लागिपरेका उमेरले पाका तर युवा भन्दा पनि बढी जोशजाँगर देखाउँदै मुलुक तथा जनताप्रति चिन्तित देखिए एक नेता । मधेशदृष्टिका किरण कर्णसँग मुलुकको समसमायिक राजनीतिक अवस्था र बढ्दो ध्रवीकरणबारे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कुराकानी गरेका छन् ।
वर्तमान राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
अहिलेको राजनीतिक स्थिति अत्यन्तै लथालिंग–भताभुंग छ, देशको कुनै लय छैन, सकारात्मक लय छैन । त्यति मात्रै होइन कि यो अत्यन्तै गम्भीर र खतरनाक अवस्थामा छ । देशमा महँगी छ, भ्रष्टाचार छ, तस्करी छ, बेरोजगारी छ । त्यसमा अत्यन्तै लजास्पद प्रकारको स्थिति कसरी गइरहेको छ भने पछिल्लो घटनाक्रमले देखाएको छ । त्यो भनेको आफ्नो देशको नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा निर्यात र व्यापार गर्न प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरु संलग्न भएर गर्ने जुन हर्कत भएको छ । यो अत्यन्तै दयनीय प्रकारको छ ।
दोस्रो कुरा, अहिले भर्खरै भारतमा नेपालका प्रधानमन्त्रीको भ्रमण भयो । अब त्यो देशका स्वाधिनतासँग सम्बन्धित तमाम कुरा दिइएको छ । सीमानाकाका सवाल, पारवहनका सवालमा उदार छन् । केही दिनअघि मात्रै सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याएको छ । मधेशमा नेपाली नागरिकता नपाएका नेपाली बढी छन् । जोसँग नागरिकता पाउने आधार छैनन् । जसले पाउनुपर्ने हो । तर नागरिकता पाउने आधारमा सरकारले जन्मसिद्ध नागरिकता एकाएक वंशजको नागरिकता बनाउने र नेपाली जनतामाथि विदेशी सम्पत्ति ल्याएर यहाँका संरचना कानुनी आधारमा कब्जा गरी यहाँका जनतालाई दास बनाउने प्रपञ्च भइरहेको छ । यो खालको स्थिति राज्यद्वारा योजनावद्ध ढंगले सञ्चालित गरिएको छ । यो स्थिति भनेको अत्यन्तै दयनीय र नाजुक तथा सबैभन्दा कमजोर अवस्था हो ।
अहिलेको राजनीति र विगतको राजनीतिदेखि नै माओवादीकै वरिपरि मुलुक नाचिराखेको अवस्था छ । यसरी कम्युनिष्ट र माओवादी आन्दोलनमा एकअर्कालाई सत्रुतापूर्ण व्यवहार देखियो, फुट्ने जुट्ने र आलोचना गर्ने भन्ने पनि देखियो, यसरी हेर्दा कम्युनिष्ट आन्दोलन दुई धु्रवमा बाँडियो, एक सत्तामा रुमल्लिएका र अर्को अधुरो क्रान्ति पूरा गर्ने नाममा विद्रोही हुँ भन्दै आलोचनात्मक क्रान्तिकारिता मात्रै देखियो नि ? कम्युनिष्ट भनेको आलोचना गर्ने र अवसरका लागि भ¥याङ खोजे जस्तो देखिन्छ छ ?
तपाईंले भन्नु भएको ठिकै हो, किनभने नेपालमा कम्युनिष्टहरु टुटफुट विभाजन भइरहे । र, ती विभाजनबीचमा अन्तरविरोध पनि अभिव्यक्त भए । तर मूलरुपमा के छ भन्दा एउटा ठूलो अन्तरविरोध कहाँ छ भने नेपाली जनता समाजवाद चाहन्छन्, नेपालका अत्यधिक ठूलो जनसंख्या समाजवादको पक्षमा छ । देशमा शान्ति, समृद्धि, प्रगति निरन्तर परिवर्तनको बाटोमा नेपाली जनता छन् । त्यसकारण कम्युनिष्ट पार्टीहरु नेपालमा छन् । अन्य मुलुकसँग तुलना गर्ने हो भने नेपालका कम्युनिष्ट पार्टी निकै पपुलर छन् । हुन त यो एकदमै स्वाभाविक हो । किनभने नेपाली जनताले के बुझेका छन् भने यदि मुलुकमा जे जति परिवर्तन भएका छन् । ती सबै परिवर्तन समाजवादको विचारधारामा आधारित रहेर भएका छन् । २००७ सालदेखि भएका राजनीतिक आन्दोलन सबै आन्दोलन समाजवादकै लागि भएको हो । समाजवादको आकांक्षाले गर्दा आन्दोलन भएका हुन् । जनताले साथ, सहयोग, समर्पण सबै थोक गरेकै हुन् । तर जब जनताको भावनालाई नारा बनाएर पुँजिवादीहरु प्रवेश गरे । त्यसपछि पार्टीभित्र दलाल पुँजिपतिहरु, सामन्तहरुसमेत प्रवेश गरे । अर्थात कम्युनिष्ट÷समाजवादी आन्दोलनको नारालाई समातेर सामन्ती प्रवेश गरे । तिनले समाज बाहिरका सामन्त, पार्टी बाहिर रहेका सामन्त, देश भन्दा बाहिर रहेका पुँजिपति वर्ग तथा सामन्त वर्ग दलाल पुँजिपतिको सहयोगमा पार्टी र सत्तालाई कब्जा गरेका छन् । यसखालका अन्तरविरोध जनताले सहजै थाहा पाउन सक्दैनन् । र, पार्टी भित्र अन्तरद्वन्द्व सृजना हुने, झगडा हुने गर्छ । विगतमा कांग्रेस पार्टी फुट्नुको कारण पनि त्यही हो । कम्युनिष्ट पार्टी फुट्नुको कारण पनि त्यही हो । अनि जुट्नुको कारण पनि त्यही हो । त्यो फुट्नुको कारण सही कम्युनिष्ट को हो र गलत कम्युनिष्ट को हो ? भन्ने छुट्याउन पनि गा¥हो छ । लोकतान्त्रिक कांग्रेस वा लोकतान्त्रिक समाजवाद कांग्रेस कुन हो ? कांग्रेसको नीति पनि त लोकतान्त्रिक समाजवाद हो । कांग्रेसभित्र पनि दलाल पुँजिपति सामन्त प्रवेश गरेर पार्टी विगतमा फुटेकै हो । कम्युनिष्ट पार्टीमा पनि त्यही भयो । त्यतिबेलाको नेकपा माक्र्सवाद लेनिनवाद (माले) को सिद्धान्त सर्वहारा अधिनायकत्व, तर त्यो पार्टीभित्र पनि सामन्त पसे, दलाल पुँजिपति पसे र नोकरशाही पनि पसे । त्यस्तै, नेकपा माओवादी केन्द्र, जुन हाम्रै पार्टी थियो । जसले दशवर्षे जनयुद्ध ग¥यो । नेपालको सामान्यतया २ हजार वर्ष÷५ हजार वर्ष र २५० वर्षे पुरानो राजतन्त्र अन्त्य गर्दै गणतन्त्र ल्यायो । यस पार्टीमा पनि सामन्त, दलाल पुँजिपति पसे । ती पार्टीको नेताको विचारमा प्रवेश ग¥यो । पार्टी नेताहको विचार र दिमागमा पनि दलाल पुँजिवादी हाबी भइदियो । कम्युनिष्ट पार्टी भन्नेहरुको विचारभित्र दलाल पस्यो र साम्राज्यवादको कठपुतली बन्ने र एकाधिकार पुँजिपतिको कठपुतली बन्ने दलाल पुँजिवाद प्रवेश ग¥यो । तपाईंले भन्नुभए जस्तै यस्तो कन्फ्युजन पैदा ग¥यो कि के सही, के गलत हो भन्ने छुट्याउन अत्यन्तै गा¥हो स्थिति पैदा भयो । अब त्यो गा¥होको बीचमा सही÷गलत कम्युनिष्ट बीचमै लडाइँ पर्ने भयो । त्यो हुँदा कम्युनिष्ट पार्टीभित्र विभाजन हुने, एकता पनि हुने प्रक्रियाबाट चलेको हो ।
तत्कालीन मोहन वैद्य किरण नेतृत्वको ड्यास माओवादीबाट विप्लव नेतृत्वमा अलग भएर नेकपा बन्यो र फेरि सो पार्टी विभाजन भएर अहिले नेकपा बहुमत र अहिलेको नेकपा क्रान्तिकारी माओवादी किन मिल्नु प¥यो ?
अहिलेको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत दुवै पार्टी एकता गरेका छौँ । एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनाएका छौँ । हिजोको नेकपा बहुमत र नेकपा क्रान्तिकारी अहिले मिलेको छ । हिजो हामी एउटै पार्टीमा थियौँ । पार्टी फुट्यो । पार्टी फुटिसकेपछि अहिले फेरि पनि हामी एकजुट भएका छौँ । फेरि कमरेड किरणजी ड्यास माओवादीसँग फुटिसकेपटि फेरि विप्लवसँग अलग ग¥यौँ । नेकपा बहुमत बनायौँ । त्यसो गर्दा अहिले हामी मिल्यौँ । हिजोको ड्यास माओवादी हिजोको ठाउँमा छैन । अहिलेको नेकपा बहुमत पनि सो अवस्थामा छैन । दुई वटै पार्टी रुपान्रतण भयो । र, पार्टीभित्र ठूलो परिवर्तन भएको छ । राजनीतिक हिसाबले, बुझाइका हिसाबले, परिवेशको हिसाबले ठूलो परिवर्तन भएको छ । जसले गर्दा वैचारिक राजनीतिक विकासक्रम अनुसार क्रान्तिकारी पार्टीलाई एकतावद्ध गरेको छ । क्रान्तिकारी पार्टीहरुले आन्दोलनलाई अघि बढाउन सक्छ भनेर एकता भयो । र, अब नेपालमा क्रान्तिकारी आन्दोलन अगाडि बढाउने र यो अहिलेको दलाल पुँजिवादी सत्ताको विकल्पमा नयाँ जनवाद वैज्ञानिक समाजवाद भनेका छौँ । नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापित गर्ने दिशामा अगाडि बढ्ने हुन्छ ।
राजनीति संसदीय भाष र क्रान्तिकारी कम्युनिष्ट, विचार संसदीय व्यवस्था असफल भए पनि हाबी भए पनि क्रान्तिकारी नेतृत्व एकत्रित भई आन्दोलन कसरी अगाडि बढाउन सकिन्छ ? तपार्इंहरु आफूलाई क्रान्तिकारी भन्नुहुन्छ, किन कमजोर हुँदै जानु भएको छ ?
एउटा ठेगान लगाए जस्तो तत्काल देखा पर्दैन । किनभने त्यो अहिले नेपाली जनता रुमलिएको अवस्था छ । नेपालमा संसदीय दलाल, नोकरशाही दलाल, सामन्त दलाल पुँजिवादी दलाल संसदीय व्यवस्थाले नेपाली जनताको हित गर्न सक्दैन । राष्ट्रियताको संवद्र्धन, औद्योगिकरण गर्न सक्दैन । जनजीविकाका सवाललाई समाधान गर्न सक्दैन, स्वाधीनता स्थापना गर्न सक्दैन, नेपाली जनता बीचमा एकता पैदा गर्न सक्दैन, समृद्धि पैदा गर्न सक्दैन भन्ने कुरा हामीले त्यतिबेला नै भनेका थियौँ । जुन अहिले प्रमाणित भएको छ । जनता किन रुमलिए भन्दा हिजो त्यत्रो जनयुद्ध लडेर गणतन्त्र ल्याएको पार्टी छिन्नभिन्न हुदाँ एउटा हिस्सा संसदवादमा प्रवेश गरेपछि कमजोर बन्यो । जबकि संसदीय व्यवस्था अन्त्य गर्नु पर्नेथ्यो । तर त्यो भएन । बरु त्यहीभित्र प्रवेश गरेर जुन खालको जनतामा वितृष्णा पैदा भयो । जसले गर्दा जनता रुम्मलिन पुगे । अब जनताले अर्को पार्टीको विकल्प खोज्न थालिसकेका छन् । जसले गर्दा अहिले नयाँ पार्टीको उदय भएको छ । यसले गर्दा जनतामा उनीहरु माथि पनि आश पलाएको जस्तो देखिएको छ । पार्टी खोल्यो, जनतामा तत्कालै स्थापित हुने, चुनावमार्फत अत्यधिक संख्यामा सिट जित्ने र सांसददेखि मन्त्रीसम्म छिटो बन्ने माध्यम बनाउने होडबाजी नै चलेको छ ।
संसदीय व्यवस्था रहुञ्जेलसम्म पुरानो बोतलमा रहेका रक्सी, नयाँ बोतलमा राखेर त्यसको गन्ध, त्यसको रंग र नसामा बदलाव आउँदैन । जतिसुकै इमानदार व्यक्ति, जतिसुकै प्रचारबाजी गरे पनि स्टन्टबाजी गरे पनि यो दलाल नोकरशाही पुँजिवादी व्यवस्था अन्त्य नगर्दासम्म नेपाली जनताको हित हुँदैन । जुन छर्लंग भएको अवस्था छ । जनता पनि वास्तविक धरातलमा आउनै पर्छ । अहिले क्रान्तिकारी कमजोर जस्तो देखिए पनि अन्ततः जनता सही ठाउँमा आउँछन्, जनतामा छरिएका भ्रम विस्तारै हट्दै जानेछ । संसदवादी पनि अहिले संसदीय व्यवस्थाअनुसार पार्टी चलाउन सकिरहेका छैनन् ।
आफ्नै देशमा नागरिक बेच्ने पार्टी र पार्टीका नेताले यो पार्टी र नेता जनताको हितमा छ भनेर भन्न सक्ने अवस्था छैन । पुराना पार्टी पुराना तरिकाले चलाउन नसक्ने अवस्थामा पुगिसकेको छ । जनता पनि पुराना पार्टीमाथि विश्वास गर्न नसक्ने स्थितिमा छन् । देशमा पनि पुराना तरिका, नियम, कानुन, ऐनअनुसार चल्नसक्ने अवस्था छैन । मुलुकमा संसदीय व्यवस्थाले राज्यसत्ता सञ्चालन गर्ने अवस्था नभएपछि अन्ततः हामीले भनेको समाजवादी आन्दोलनमा आउनै पर्छ । जुन जनताको अनिवार्य सर्त बन्छ । क्रान्तिकारी पार्टीले यसको नेतृत्व अवश्य गर्नेछ ।
के पुराना पार्टीविरुद्ध नयाँ पार्टी नै मुलुकको विकल्प हो त ? पुराना र नयाँ पार्टी खोल्ने जुन होडबाजी चलेको छ, यसलाई कसरी नियालिरहनु भएको छ ?
अहिले जुन मुलुकमा पुराना पार्टीलाई आलोचना गर्ने र नयाँ पार्टी खोल्ने होडबाजी चलेको छ । यसले नयाँ बोतलमा पुराना रक्सी खन्याएको मात्रै हो । नयाँ पार्टीको चरित्र र आधारभूत कुरामा फरक छैन । युवा जति नै युवा भए पनि जति नै चमत्कारी प्रभावशाली, विश्वसनीय भए पनि र भावनात्मकरुपमा जति नै राम्रो गर्छु भनेर भने पनि यो व्यवस्थाभित्र परिवर्तन गर्न खोज्न सम्भव छैन । नयाँ व्यवस्था, नयाँ नियम, नयाँ नीति लिएर पार्टी खोल्ने हो भने परिवर्तन सम्भव छ । किन भने व्यवस्था राम्रो ल्याउन पुष्पकमल दाहाल प्रचण्ड, खड्गप्रसाद ओली, शेरबहादुर देउवा, रवि लामिछाने, सिके राउतलगायतका सबैले परिवर्तन गर्न सक्छन् । तर यही व्यवस्थामा रहेर विगतमा प्रचण्डले दशवर्षे जनयुद्धका लागि, २० वर्षदेखिको तयारी गर्दा राष्ट्रिय स्वाधिनताको, नेपाली जनताको रक्षा गर्छु भन्थे । तर उही प्रचण्ड प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा राष्ट्रियता बेचेर आएका छन् । यसका लागि पनि उनी विवश हुनु परेको छ ।
त्यसभन्दा पनि रोचक विषय के छ भने भुटानी शरणार्थी टेकनाथ रिजाल भुटानी राजाको दरबारमा बस्थे । आफ्ना देशका नागरिक देश बाहिर गए भनी उनी पनि देशनिकाला भएका भुटानी शरणार्थीसँगै पछि लागेर आए । उनले अधिकारको नाममा लामो आन्दोलन गरे, संघर्ष गरे । भुटान सरकारलाई आफ्ना जनता फर्काउन बाध्य पार्दै थिए । त्यही बेला अमेरिकाले भुटान बाहिर रहेका नेपाली भाषी नागरिकलाई अमेरिका पु¥याइदिएपछि उनी त्यहाँ पनि असफल भए । त्यसपछि मान्छे बिक्रीवितरण गर्ने र पैसा कमाउनेतिर लागे । नेपालभित्र भुटानी शरणार्थी आए । अमेरिकाले आफ्नो देशमा लगे । अनि भुटानी जनताका निम्ति मानवअधिकारका निम्ति लडेका, जेलमा बसेका, इज्जत मानसम्मान र प्रतिष्ठा कमाएका मान्छे अन्तिममा दलाल, नोकरशाही र भ्रष्ट व्यवस्थाका कारण त्यही व्यक्ति स्वयम् भ्रष्ट भएर जेल बस्नु परेको छ । उनी मान्छे बेचेको मुद्दामा समातिएका छन् । भनेपछि व्यवस्थाले मान्छेलाई कसरी रुपान्तरित गर्दोरहेछ ? ठूल्ठूला नेताको मानप्रतिष्ठा कमाएकाहरु कसरी अकर्मण्यताको सिकार हुन्छ भन्ने टेकनाथजी एउटा उदाहारण मात्र हो । यो दलाल पुँजिवादी नोकरशाही व्यवस्था रहदाँसम्म नयाँ पार्टी, नयाँ व्यक्तिको उदय हुनाले कुनै काम लाग्दैन । नेपालमा विष्णु भगवान वा स्वर्गका राजा ईन्द्र नै यहाँ आएर शासन गरे पनि प्रचण्ड, ओली र देउवा जस्ता भ्रष्ट भएर निस्कन्छन् । ईन्द्र नै आए पनि यो व्यवस्थाभित्र भ्रष्ट हुन्छ । यो कानुन, नियम, ऐन, संविधानभित्र रहेर आउने जोसुकै व्यक्ति त्यस्तै बन्छन् । त्यसकारण नेपाली जनताले यो व्यवस्थालाई फ्याल्न संगठित हुनुपर्छ । यो अनिवार्य नियम पनि हो ।
केही महिनाअघि भारतीय माओवादी नेता नेपालबाटै पक्राउ परे र त्यसको केही दिनभित्रैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भयो, यस भ्रमणलाई कसरी हेरिरहनु भएको छ ?
भारतीय माओवादीका नेता दिनेश गोप नेपालबाट पक्राउ परेको बारे हामीले भारतीय पत्रिकाबाट जानकारी पायौँ । जसअनुसार भारतीय माओवादी नेता पक्राउ गरी नेपाल सरकारले सुपुर्दगी गरेको भनेर । दशवर्षे जनयुद्धबाट आएका नेताको अगुवाईमा रहेको सरकारले एउटा समाजवादी आन्दोलनमा लागेका जुनसुकै व्यक्तिलाई समातेर बुझाउनु राम्रो होइन । त्यो परिवर्तनविरोधी हर्कत हो । पक्राउ गरी भारत सरकारलाई बुझाउन कुनै कानुनसमेत नरहेको बेलामा सुपुर्दगी गर्नु गलत हो । यसको हामी कडा विरोध गर्छौ । र, भारत भ्रमणका नाममा मुलुकका धरोहर सम्पत्ति बेच्ने र नेपालको नक्सा, सीमालगायतका विवादबारे केही बोल्नसमेत नसक्नुले पनि प्रस्ट पारेको छ कि यो दलाल पुँजिवादी सरकार हो ।
अहिले नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा नेपाल गठन गरिएको छ, अब त जनताका माग र समस्या समाधानसँगै समाजवादी आन्दोलन हुन्छ नि ?
यो समाजवादी मोर्चा बनाएर के गर्न खोजेको हो, त्यो अझै स्पष्ट हुनसकेको छैन । समाजवादी मोर्चा बनाएर पार्टीबाट पतन हुनु हो । पार्टी छाड्न नयाँ गठन गरिएको हो । यो पार्टी भन्दा पनि मोर्चा बनाएर बिसर्जनका लागि गठन गरिएको मोर्चा हो । यो पार्टी भन्दा पनि मोर्चा बनाएर बिसर्जनतर्फ उन्मुख हुनु हो । यो समाजवादी मोर्चा नामको बिसर्जन मोर्चा हो । बरु पार्टी बनाएको भए हुन्थ्यो । किनभने सबैले आफ्नो नीतिमा समाजवाद उल्लेख गरेका छन् । शान्त, समृद्ध, स्वाधिन, सार्वभौम राष्ट्र निर्माण गर्ने समाजवादी हो । सबैको नीति, सिद्धान्त समाजवादी मुलुक बनाउनु छ भने एउटै कम्युनिष्ट वा समाजवादी पार्टी बनाउँदा भइहाल्यो नि त !
समाजवादी मोर्चाको औचित्य भनेकै आफ्नो पार्टी चलाउन नसकेपछि बिसर्जनतर्फको शृंखलामा गइसकेपछि बिसर्जित हुने तरिका हो ।
तराई–मधेश क्षेत्रमा कम्युनिष्ट र माओवादी भनेर घृणा गरेका छन् भने मधेशकेन्द्रित दललगायतका नेताहरुलेसमेत कम्युनिष्ट भन्नेबित्तिकै भारतविरोधी हो भनेर संज्ञा दिदैँ आलोचना गर्ने गरेका छन् । आखिर किन कम्युनिष्टहरु अर्काको देशको विरोधी हुनु परेको हो ?
तराई–मधेश कम्युनिष्टहरुको उर्वर भूमि हो । मधेशमा मधेशी जनता कम्युनिष्ट र माओवादीविरुद्ध छैनन् । तराई मधेशमा सबै जिल्लामा सैयौँको संख्यामा जनयुद्धमा क्रान्ति सफल पार्न आफ्नो ज्यानको आहुति दिएका छन् । तराई–मधेशको २२ वटै जिल्लामा सहिदको रगत बगेको छ । जुन आमूल परिवर्तनको आन्दोलनमा आफूलाई अर्पण गरेका छन् । त्यसैले मधेशमा सबैभन्दा बढी कम्युनिष्ट छन् । जसले माओवादीसँग घृणा गर्दैनन् ।
दोस्रो कुरा मधेशका नेताको छिमेकी मुलुक भारतसँग निकै राम्रो सम्बन्ध हुनु स्वाभाविक नै छ भने अर्को तर्फ रहेको छिमेकी मुलुक चीनसँग पनि धेरै राम्रो सम्बन्ध छ । बुर्जुवा, सामन्त जुन पार्टीका नेता भए पनि उपेन्द्र यादव, महन्थ ठाकुरलगायतका सबै नेताको र पार्टीको चीनसँग राम्रो सम्बन्ध छ ।
जसले गर्दा पनि यहाँका जनता कम्युनिष्टविरोधी छैनन् । बरु यहाँ कम्युनिष्ट पार्टीविरोधी छन् । यहाँ कम्युनिष्ट पार्टीका नाममा माओवादीले पनि जनतासँग रगत माग्दा रगत दिएकै हो । पार्टी र नेताले भने जनतासँग बेइमानी गर्ने गरेकाले जनता र पार्टीवाला नेताबीच नफरत पैदा भएको छ ।
हामीले त भारत सरकारको विस्तारवाद, साम्राज्यवाद नीतिको विरोध गरेका छौँ । जुन सही छ । भारतले नेपाली जनतामाथि हस्तक्षेप गरेको छ । सीमानाका अतिक्रमण गरी विस्तारवाद नीति अख्तियार गरेको छ । सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा खुलेआम हस्तक्षेप गरेकै छ ।
सबैभन्दा बढी गरिब जनता भारतमा छन् । त्यहाँ उत्पीडित देशका होउन्, उनीहरु आफ्नो देशमा पनि र अरुको देशमा पनि सत्ताको उत्पीडनको शिकार हुनु परेको छ । जता गए पनि प्रताडना भोग्नु परेको छ । जो धनीमानी छन्, उनीहरुले जुनसुकै देशमा जग्गा जमिन किनमेल र व्यापार गरेकै छन् । त्यो व्यक्ति हिमाल, पहाड, तराई मधेश वा भारतकै किन नहोउन् उनीहरु जताततै जग्गाजमिन किनेर घर बनाएर दोहोरो नागरिक बनेकै छन् । त्यो व्यक्ति जुनसुकै ठाउँका होस्, धनीमानीले दुवै देशमा अवसर लिन चाहेका छन् । विवाहवारी पनि गरेकै छन् । जसले नेपाली जनतामाथि भारतविरोधी भनेर आरोप लगाउने गरेका छन्, उनीहरु नै यस किसिमका भारतीयले ‘माइण्डसेट’ नीति अख्तियारी गरी होहल्ला फिँजाएर भ्रम छर्ने काम गरिरहेका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन भएको लामो समय भएको छ, यस पार्टीले पनि अन्य पार्टीले जस्तै समाजवाद ल्याउन के कस्ता कामहरु गर्दैछ ?
भर्खरै दुई वटा पार्टी मिलेर रुपान्तरित पार्टी गठन भएको हो । क्रान्तिकारी माओवादी र नेकपा बहुमत मिलेर नयाँ पार्टी बनेपछि अहिले हामी आन्तरिक छलफलमा व्यस्त छौँ । मुलुकमा अहिले राजनीतिक अस्थिरताको समस्या छ । यो संसदीय व्यवस्था प्रणालीमा संसदीय व्यवस्थाभित्र संसारको कुनै पनि देशमा स्थिरता छैन । अमेरिका, बेलायत, क्यानडा, जापान, भारत, इटाली ग्रीसलगायत विकासित तथा अविकसित मुलुकमा जबसम्म संसदीय व्यवस्था प्रणाली रहन्छ, तबसम्म त्यहाँ राजनीतिक स्थिरता रहँदैन ।
नेपाल जस्तो देशमा राजनीतिक स्थिरता नहुनु मुलुकका लागि घातक हो । बढी भन्दा बढी राष्ट्रघाती काम हुन्छन् । जसले राजनीतिक स्थिरताका लागि संसदीय व्यवस्था प्रणालीको अन्त्य हुनु पहिलो सर्त हो । त्यसपछि मात्रै राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति हुन प¥यो । अनि मात्र मुलुक विकसित, समृद्धि र स्वाधिन राष्ट्र हुन्छ । यसका लागि संसदीय व्यवस्था प्रणालीको अन्त्यका निम्ति स्वाधिन संयुक्त सरकार निर्माण हुनु प¥यो । तर अहिले हामी एकीकृत पार्टी भइसकेपछि अब कसरी अघि बढ्ने भन्ने छलफल, बहस गम्भीर ढंगले गरिरहेका छौँ ।
समाजमा अहिले मिटरब्याजी भनेर निकै आन्दोलन भइरहेका छन्, तर अर्कातर्फ मिटरब्याजी पनि आन्दोलनमा छन् । यसले जनताका समस्या समाधान हुन्छ ? वा तपार्इंहरु यस समस्यालाई कसरी समाधान गर्न सक्नुपर्छ भन्ने लागेको छ ?
अहिले विश्व नै आर्थिक भूमण्डलीकरण, वित्तीय उदारिकरण र प्राकृतिक स्रोतहरुको निजीकरण जसरी एकपछि अर्को लागू भइरहेको छ । यसले जनतामा वित्तीय शोषण गर्न थालेको छ । यसको पछिल्लो परिणाम हो, मिटरब्याज । जनतालाई मिटरब्याजी, लघुवत्तिवालाको शोषण उत्पीडन हो ।
यस्ता समस्या समाधानका लागि अध्यादेशले केही गर्न सक्दैन भन्ने लागेको छ । बरु यसका लागि राज्यको संरचनागत रुपमै परिवर्तन गरेर अघि बढे अवश्य जनताले सधैँका लागि राहत पाउने छन् । यसका लागि नेपालमा रहेका सम्पूर्ण विदेशी बैंक बन्द गरिनुपर्छ । एनआइसी एसिया बैंक, नबिल बैंक, एभरेष्ट बैंकलगायतका बैंक खारेजी गरिनुपर्छ । नेपाल सरकारको बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, कृषि बैंक, नेपाल बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकलगायतका बैंकहरुको शाखा हरेक गाउँको गल्लीमा स्थापना गरिनु पर्छ । अनि पाँच प्रतिशत भन्दा बढी ब्याज बढाउन नपाउने गरी जनतालाई ऋण प्रवाह गर्नुपर्छ । अहिले जुन बैंकले १५ प्रतिशत भन्दा बढी ब्याज लिएर ऋण दिने प्रक्रिया छ, त्यो अन्त्य हुनुपर्छ ।
यदि यसो गर्न नसके जतिसुकै अध्यादेश र कानुन ल्याए पनि यसको कुनै काम छैन । बरु जनताको घाँटी निमोठ्ने दलालमाथि दलाल राखेर निजी बैंकको सरकारले नै प्रोत्साहन गर्ने र जनताको शोषण सरकारले नै गरिरहन्छ । अहिले बैंक, लघुवित्तको नाममा दलालगत संरचनात्मक निर्माण छ । त्यो भत्काउनु पर्छ ।
अन्त्यमा, मधेशदृष्टि दैनिकमार्फत केही भन्न चाहनुहुन्छ ?
तपाईंको प्रतिष्ठित मधेशदृष्टि दैनिक पत्रिकाले जनताको हितमा काम गरोस्, सत्यतथ्य सम्प्रेषणबाट निर्भिकतापूर्वक निरन्तररुपमा जनताको पहरेदारी गरिरहोस् भन्ने कामना छ ।






