दाइजोको लोभमा छोरीलाई मारिएको बुवा सुरेन्द्रको आरोप

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
दाइजो प्रथा तथा महिला हिंसाका घटनाहरु मधेश प्रदेशमा बढ्दै गएको छ । गत भदौ १ गते शनिबार बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलिया गाउँमा एक जना महिलाले पासो लगाएर आत्महत्या गरेको घटना बाहिरिएको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ इटिहाईका सुरेन्द्र साहले करिब ४ वर्ष पहिले आफ्नी माइली छोरी रजन्ती कुमारीको विवाह बकुलियामा गरेका थिए ।

बकुलियाका किशोरी साहका छोरा २४ वर्षीय राजु साहसँग विवाह गरेकी रजन्तीले २२ वर्षकै उमेरमा ज्यान गुमाउन परेको छ । परिवारिक सहमतिमा तय भएका मध्ये मोटरसाइकलबाहेक सबै सामान दिएर सुरेन्द्र साहले छोरीलाई अन्माएका थिए । सुरुवातमा मोटरसाइकल ल्याउन रजन्तीलाई ससुराली पक्षबाट सासु, ससुरा र श्रीमान्ले दबाब दिएपनि मानसिक दबाब भोगेपनि खासै उनले शारिरीक हिंसा खेप्नु परेको थिएन, बीचबीचमा साना तिना समस्या आएपनि घरपरिवारले आपसमा बसेर मिलाएको मृतककी बुवा सुरेन्द्र बताउँछन् ।

विवाह भएको करिब दुई वर्ष पछि रजन्तीले छोरा पाइन् । छोरा पाएपनि घर परिवार सबै खुसी भए । त्यसपछि ज्वाई राजुले दाइजोमा बाँकी रहेको मोटरसाइकल दिन छोरीमार्फत दबाब दिन थालेको सुरेन्द्र बताउँछन् । जेन तेन गरेर सुरेन्द्रले ज्वाईलाई मोटरसाइकल दिए । तर, केही दिन पछि, रजन्तीले पाएको छोरा मेरो होइन भन्दै ज्वाई राजुले छोरीलाई मानसिक र शारिरीक तनाव दिन थालेको थाहा पाएको बुवा सुरेन्द्र बताउँछन् । ‘बच्चा मेरो होइन भनेर ज्वाई राजुले छोरीलाई कुटपिट गर्ने, सासु ससुराहरु पनि विभिन्न कुरा भनेर छोरीलाई टर्चर दिन थालेका थिए, छोरीले आफ्नी आमालाई फोनमा बताउने गर्थिन्’, बुवा सुरेन्द्र भन्छन्, ‘राजुले नयाँ नयाँ बहाना बनाउँदै एक पछि एक लाल्छना गलाएर छोरीलाई कुटपिट गर्न थालेका थिए ।’

विवाद बढ्दै गएपछि पटक पटक पञ्चायती बसेर समस्या समाधान गर्न कोसिस गरेको पीडित सुरेन्द्र बताउँछन् । तर, पञ्चायतीमा ज्वाईले छोरीलाई राम्ररी राख्ने, हेरविचार गर्ने भनेपनि निरन्तर कुटपिट गर्ने, टर्चर दिने जस्ता पीडा दिने गरेको उनी बताउँछन् ।
पटक पटक बसेर ज्वाईलाई बुझाउने काम भयो, गाउँघरका सबैले सम्झाए, कहिले मिलेर बस्ने कहिले झैझडदा भइरहेको थियो । तर, गत असार १३ गते रजन्तीलाई ससुराली पक्षले कुटपिट गरेपछि उनी माइत आइन् । कुटपिटविरुद्ध उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । प्रहरी परिषरमा छलफल गरेर राजुले अब उपरान्त श्रीमतीलाई राम्ररी राख्ने, नागरिकता बनाइदिने र छोराको अपनत्व लिने लिखित प्रतिवद्धता गरे । ‘प्रहरीको उपस्थिति र सबैको सहमतिमा कुरा मिल्यो, हामी छोरीलाई केही दिन माइतमा राखेर सम्झाई बुझाई ससुराली विदाइ गर्यौँ ।’, बुवा सुरेन्द्रले भने, ‘त्यसपछि केही दिन सबै ठिक थियो केही गुनासो आएन, उनीहरु मिलेर बसेका थिए, तर, अचानक यस्तो खबर सुन्नु पर्यो ।’

भदौ १ गते शनिबार रजन्तीले पासो लगाएको घटना बाहिरियो । ‘छोरीले आत्महत्या गरेको फानेमा खबर आयो, मैले सुन्ने बितिकै यो आत्महत्या होइन, मेरो छोरीलाई मारेका हुन भनेर म त्यहाँ पुगे ।’ बुवा सुरेन्द्रले भने, ‘त्यहाँ पुगेपछि थाहा पाए प्रहरी नपुग्दै घाटीबाट सल निकालिएको थियो । आत्महत्या हो भने त प्रहरीलाई बोलाउनु पथ्र्यो तर त्यसो गरिएको थिएन्, मेरो छोरीलाई मारियो ।’
जिल्ला प्रहरी कार्यालयले अहिले घटनाको छानबिन गरिरहेको छ । सोही क्रममा आइतबार प्रहरी राजु साह, उनका बुवा किशोरी साह र आमा लक्ष्मी देवीलाई पक्राउ गरि थुनामा राखेको छ ।

रजन्तीलाई पटक पटक दाइजो र छोराको कुरालाई लिएर दबाब र तनाव दिइएको मृतककी दाई पर्ने पवन साहको भनाई छ । प्रहरीले घटनाको राम्ररी छानबिन गरेर सत्यतथ्य बुझेर दोषीलाई कारबाही गरोस भन्ने पवनको माग छ । यता, बारा प्रहरीले छानबिन भइरहेको र मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको अवस्थामा अहिले केही भन्न नसक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button