
मधेशदृष्टि
वीरगंज ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्ने काममा अवरोध नगर्न जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।
मंगलबार वीरगंज आएका मेयर साहले बसपार्कमा रहेको भानुचोक र भानुभक्र आचार्यको शालिक अवलोकनपछि मधेशदृष्टिसँग भने, ‘भानुभक्तको शालिक राख्ने काम गरेका वीरगंजका मेयर राजेशमान सिंहलाई धन्यवाद दिन चाहन्छु, यो सन्देश जनकपुरका जसपाका नेताहरुसम्म पुगोस् ।’
उनले भने, ‘मधेश आन्दोलन र २०६३÷६३ को आन्दोलनमा भानुभक्त आचार्यको शालिक विखण्डन भएको थियो । वीरगंज र जनकपुरधाममा शालिक हटाइएको थियो । भानुभक्त आचार्य, जसले नेपाली भाषामा रामायण उल्था गरे । यही रामायणले जनकपुरको पहिचान बन्यो । अरबौँ हिन्दू धर्मावलम्बीका लागि जनकपुर गन्तव्य बन्यो । २०६३ मा जनकपुरमा भानुभक्तको शालिक तोडफोड भयो ।
जनकपुर उपमहानगरपालिका यो शालिक पुनस्थापनामा अघि बढेको छ । वीरगंज महानगरमा भानुभक्तको शालिक पुनःस्थापना भएको छ । वीरगंजमा जस्तै जनकपुरधामका जनता समाजवादी पार्टीका नेताहरुलाई पनि आग्रह गर्न चाहन्छु कि, जनकपुरधाममा पनि भानुभक्तको शालिक स्थापनामा साथ दिनु होला ।’
मेयर साहले भने, ‘जनकपुर भानुचोकमा भानुभक्तको शालिक पुनस्थापना गर्ने विषयमा विवाद भयो । शालिक नराख्न भनियो । त्यहाँ सहिद रमेश महतोको नाममा गेट नै कायम गर्न भनिएको छ ।’ साहले थपे, ‘२००७ देखि आजसम्मका सबै सहिदको गेट जनकपुरमा बनाइसकेका छौँ । धेरै गेट बनाइसकेका छौँ । यसपटक भानुचोकमा भानुकै शालिक राख्न चाहन्छौँ । भानुचोकबाटै जनकपुरको पहिचान बनेको छ । सारा परिचय भानुचोकबाटै भएकाले त्यहाँ भानुभक्तकै शालिक रहोस् भन्ने चाहनामा सबै जनकपुरबासी पनि छन् । जसले रामायण पढ्छन्, उनले जनकपुर चिन्छन् । नेपाली भाषामा रामायण लेख्ने काम नेपाली आदिकवि भानुभक्त आचार्यबाटै भयो । जसले जनकपुर र सीता चिन्छन्, त्यो रामायणकै कारण हो । यसैले भानुचोकमा भानुकै शालिक राख्न उचित हुन्छ । केही राजनीतिक दल विरोध गरिरहेका छन् । सायद अब गर्दैनन् पनि । यो पनि भन्न चाहन्छु कि, वीरगंजबाट पनि केही सिक्न जरुरी छ ।’
मेयर साहले भने, ‘जसपाबाटै जितेका मेयरले वीरगंजमा भानभुक्तको शालिक राख्न हुने, जनकपुरमा राख्न नहुने त होइन । त्यसैले वीरगंजमा जस्तै हामी जनकपुरमा पनि भानुभक्तको शालिक राख्ने काम गर्नेछौँ । वीरगंजबाट जनकपुरले सिक्नु पनि पर्छ ।’
जनकपुर र वीरगंजबासीको धन्यवाद दिन चाहन्छौँ । राजेशमान सिंहको पनि धन्यवाद । यही प्रेरणा जनकपुरमा पनि मिलोस् । जनकपुरको त अझ रामायणसँग कनेक्सन पनि छ । भारत स्वतन्तत्रा दिवसमा भारतीय नागरिकलाई पनि शुभकामना ।






