
मधेशदृष्टि
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । आज (बुधबार) बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरी उपचारका लागि सिनामंगलको केएमसी अस्पताल लगिएको छ । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट निकालिरहेको दृश्य देखिए पनि कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।
दुर्घटनाका कारण विमानमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ। जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका छन् ।
उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइए पनि त्यसको आधिकारिता पुष्टि भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।







