प्रदेश सांसदका कारण सर्वसाधारण कठिनाइमा

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
सदरमुकाम गौर गंगापिपरा सडकखण्डअन्तर्गत निर्माणको म्याद सकिनलाग्दा पनि कालोपत्रेको शुरूसमेत भएको छैन । प्रदेश सांसद नागेन्द्र साहको कम्पनी साह निर्माण सेवाले समयमा बाटो निर्माण नगर्दा दैनिक हजारौँ सर्वसाधारण सास्ती खेपिरहेका छन् ।
डिभिजन सडक कार्यालय चन्द्रनिगापुरको संरक्षणमा साह निर्माण सेवाको बदमासीका कारण दुई वर्ष बित्न लाग्दा पनि कालोपत्रे शुरूवात हुन नसकेको हो ।

दुर्गा भगवती, गढीमाई नगरपालिकादेखि सर्लाहीबाट सदरमुकाम गौर आउने मूल बाटो गंगापिपरा सडकखण्ड हुँदै दैनिक सैयौँ सवारी साधन तथा हजारौँ मानिस आवतजावत गर्दछन् । यो सडकखण्डअन्तर्गत ठाउँठाउँमा बनेका खाडलमा परेर दैनिक सवारी दुर्घटना भइरहेको छ । तर ठेक्का सम्झौता गरेको दुई वर्ष बित्न लाग्दा पनि मधेश प्रदेशका सांसद नागेन्द्र साहको निर्माण कम्पनीको गैरजिम्मेवारी पूर्ण रवैयाले हजारौँ प्रभावित भएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सडक निर्माणका लागि निकालेको टेण्डरमा नेपाली कांग्रेसका प्रदेश सांसद साहको कम्पनी साह निर्माण सेवा मलंगवा–१० ले २० करोड ५० लाख ८६ हजार ९ सय ७१ रूपैयाँ ९२ पैसामा नालासहितको १२ किलोमिटर कालोपत्रे गर्न २०७९ असार १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ भदौ १० गतेसम्म नालासहितको कालोपत्रे निर्माण पूरा गरिसक्नु पर्ने डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दीपेन्द्र पाण्डेले बताए ।

नालासहितको कालोपत्रे निर्माणका अब मात्र १० दिन बाँकी छ । तर सांसद साहले जनताको पीडा र मर्काको कुनै वास्ता नगरी सडक निर्माणमा ध्यान नदिँदा बेथिति देखिएको छ । डिभिजन प्रमुख पाण्डेका अनुसार गंगापिपरा गौर सडकखण्डअन्तर्गत ठेक्का सम्झौताको मात्र ३५ प्रतिशत नाला निर्माणको काम भएको छ । कालोपत्रे निर्माणको शुभारम्भ नै नभएकाले साह निर्माण सेवाको काम सन्तोषजनक नदेखिएको डिभिजन सडक कार्यालय चन्द्रिगाहपुरले जनाएको छ । बिगतमा निर्माण काममै केन्द्रित रहेका साह निर्माण सेवाका सञ्चालक नागेन्द्र गत निर्वाचनमा रौतहट क्षेत्र १ क बाट नेपाली कांग्रेसको टिकटमा प्रदेश सांसदमा निर्वाचित भएका हुन्, उनी जनकपुरमा केन्द्रित छन् ।

निर्माण कम्पनीको प्रत्यक्ष रेखदेखमा कमी आएका कारण दुई वर्षमा सकिसक्नु पर्ने कामको थालनीसमेत भएको छैन । गौर गंगापिपरा सडकखण्डमा कालोपत्रे निर्माण नहुँदा प्रत्यक्षरूपमा हजारौँ मानिस प्रभावित भएको अवस्थामा नियमनकारी निकायको ध्यान जानु जरूरी देखिन्छ । प्रदेश सांसद साहलाई प्रतिक्रिया लिन फोन गर्दा उनी सम्पर्कमा आएनन् । उनको प्रतिक्रिया प्राप्त भएपछि समाचार बनाउनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button