मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरकी २४ वर्षीया कौशल्या देवी महाराको कुटपिट गरी गर्भ तुहाएको आरोपमा २७ वर्षीया विणादेवी महरा, ३५ वर्षीया अनिता देवी महाराविरुद्ध प्रहरीमा उजुरी परेको छ । गर्भावस्थामा रहेकी पीडित कौशल्या देवी महारा र आरोपितबीच असार २८ गते भएको विवादक्रममा पीडित महारामाथि आरोपितले लाठी प्रहार गरी निर्घात कुटपिट गर्दा गर्भमा रहेको शिशुको मृत्यु भएको पीडितकी पति राजा महाराले बताए ।
महाराको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा असार २८ गतेदेखि साउन ६ गतेसम्म भएको थियो । घटनापश्चात आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए । त्यसैगरी, घटनाबारे बुझ्न इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, अधिवक्ता रेखा झा, ओरेक धनुषाका शान्ति मेहता, इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादव, नील हिरा समाजका प्रदेश संयोजक प्रदिप यादवलगायतका मानव अधिकारकर्मीहरूको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा पीडित र पीडित परिवारसँग भेटघाट गरेको छ ।
यस्तै, अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हंसपुर नगरपालिका–५ का २० वर्षीय रोहित दासविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ । पीडित बालिकालाई साउन ७ गते आरोपितले खेतमा लगेर बलात्कार गरेको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । घटना पश्चात आरोपित फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।






