
मधेशदृष्टि
जनकपुरधाम ।
धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको जनकपुरधाम–१६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउने सोमबारे मेलाको तयारी शुरु भएको छ । मेलामा आउने भक्तजनका लागि व्यवस्थितरुपमा लाइन व्यवस्थादेखि मेला व्यवस्थाको तयारी गरिएको कपिलेश्वरनाथ महादेव युवा कमिटीले जनाएको छ । कमिटीले पत्रकार सम्मेलन गरेर स्थानीय प्रशासनको सहयोगमा मेला भव्य बनाउन आवश्यक तयारी गरेको जानकारी दिएको छ ।
युवा कमिटी अध्यक्ष मनोजकुमार साहले मेलालाई भव्यता प्रदान गर्न पहिलो सोमबारे मेला भर्न आउने भक्तजन अत्यधिक हुने अनुमानका साथ भिड व्यवस्थित गर्न र भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइएको जानकारी दिए । उनले मन्दिरमा आउने श्रद्धालुका लागि थोरै समयमा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । मेलालाई भव्यता प्रदान गर्न शनिशार कलश शोभायात्रा निकाल्ने कार्यक्रम छ ।
मेलामा कलशयात्राका लागि जनकपुरधामको गंगासागरबाट जल ल्याइने छ भने साउन महिनाभर मन्दिरमा प्रत्येक सोमबार साँझ ७ बजे सन्ध्या आरती आयोजना गरिने छ । कार्यक्रममा जनकपुरधाम वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र पजियारले मन्दिर यस क्षेत्रकै सबैभन्दा पुरानो रहेको र १९९० सालमा आएको भूकम्पले भत्केको तथा पछि त्यसलाई जीर्णाेद्धार गरेर मन्दिरमा मूर्ति स्थापना गरिएको जानकारी दिए । उनले आयोजना हुन लागेको साउने मेला व्यवस्थित बनाउन प्रहरी तथा ट्राफिक प्रहरीसँगसमेत समन्वय गरिने बताए । कमिटीका सल्लाहकार श्रीनारायण साहले मन्दिर त्रेताकालीन रहेको बताउँदै साउन महिनामा गरिने जलाभिषेकको आफनै महत्व रहेको बताए ।
यस्तो छ मन्दिरको इतिहास
त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कुनामा महादेव मन्दिर स्थापना गरेका थिए । सोमध्येकै एक कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंग पनि हो । मिथिला महात्मा वर्णितअनुसार मिथिलाको राजधानी जनकपुरधामको पूर्वमा कपिलेश्वरनाथ महादेव, पश्चिममा जलेश्वरनाथ महादेव मन्दिर, उत्तरमा क्षिरेश्वरनाथ महादेव र दक्षिणमा कुपेश्वरनाथ महादेव मन्दिर स्थापना भएको थियो ।
इतिहासकार शिवेन्द्र लाभद्वारा लिखित जनकपुरधाम मठमन्दिर पुस्तकका अनुसार सेनवंशी राजाहरुद्वारा १७ औँ शताब्दीमा यो मन्दिर निर्माण गरिएको उल्लेख छ । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरभित्र त्रेताकालीन शिवलिंगसहित बसाहा, गणेश, पार्वती, शालिग्रामको मूर्ति छन् भने मन्दिर परिसरमा चारैतिर बगैँचासहित शिव, पार्वती, गणेश, जोगीन्दर, महारानीका मन्दिरसहित ८ वटा देवीदेवताको मन्दिर स्थापित छन् । मन्दिरभित्रका मूर्ति काला पत्थरका छन् भने मन्दिरबाहिरका अधिकांश मूर्ति सङ्गमरमरका छन् ।
मन्दिरको चारै कुनामा उत्तर पूर्वमा सन्तोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा रामजानकी, पश्चिममा हर्दिनाथ शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीलगायत १६ देवीदेवताको मन्दिर स्थापना गरिएको छ । धार्मिक मान्यताअनुसार कपिलमुनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा मुनिको आश्रमसहित यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुँदै गएको हो ।
अन्वेषकहरुको रिपोर्टका आधारमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा प्रकाशित ‘जनकपुरका मठमन्दिरहरु’ पुस्तकमा समेत कपिलेश्वनाथ महादेव मन्दिर सिम्रौनगढ शैलीमा रहेका कारण सेनवंशीय राजाका पालामा निर्माण गरिएको दाबी गरिएको छ । १७ औँ शताब्दीमै मन्दिर निर्माण भएको विभिन्न प्रमाण भए पनि वास्तविक प्रमाण विसं. १९९० मा आएको भूकम्पमा मन्दिर भत्किएपछिको मात्रै देखिन आउँछ । भूकम्पपश्चात वर्षौँसम्म मन्दिर भत्किएको अवस्थामा विसं २०३९ मा पुरातत्व विभागद्वारा केही नयाँ संरचना निर्माणसहित जीर्णोद्धार गरिएको थियो ।






