
मधेशदृष्टि
रौतहट ।
जिल्लाको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट–३ का सांसद एवम् आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट बिना नै बर्षौ पहिले ट्रयाक खोलिएको थियो । धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्रयाक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसाधारणको सहयोगमा ट्रयाक खोल्ने काम भएको थियो ।
ट्रयाक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड रुपैयाँ लागतमा कालोपत्रे गरिएको छ । धनसर–जंगलसैया सडक हुँदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै विभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।
पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको छ । रौतहटमा विकास निर्माणको कार्यलाई लिएर प्रभु साहको देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ । रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् । ‘असम्भवलाई सम्भव तुल्याउने प्रभु साहको विशेषता हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ । रौतहट क्षेत्र नम्बर–३ मा मात्रै बिना बजेट बिना मुआब्जा झण्डै ३ सय किलोमिटर सडक निर्माण यसको उदाहरण हुन । यसको लागि माननिय प्रभु साहजीलाई जति सराहना गरे कम हुन्छ’ उनले भने ।
काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको निर्माण बर्षौदेखी भईरहेको छ । अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्रयाकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए । देशमा अर्बौको बजेट भएर पनि बर्षौसम्म सड़क निर्माण हुन सकिरहेको छैन् । तर बिना बजेट रौतहटमा सयौं किलोमिटर सडक निर्माण सहित कालोपत्रे भएको खबर सुन्दा खुशी लागेको बताए ।
‘जनप्रिय नेता प्रभु साहद्वारा संचालित सड़क बढ़ाओ–सड़क बचाओ अभियान अन्तर्गत आज भन्दा पाँच वर्ष अगाड़ी बिना बजेट आम जनताको सहयोगमा निर्माण भएको धन्सर–जंगलसैया सड़कको आज कालोपत्रे सम्पन्न भएको छ । पत्याउनै गार्हो हुने विधि र प्रक्रियामार्फत छोटो समयमा निर्माण भएको सड़क यति छोटो समयमा ट्रयाक देखि कालोपत्रेसम्म पुर्याउनु आफैँमा आश्चर्यको कुरा हो । यहाँ कतिपय सडकमा राज्यको अर्बौ खर्च भईसक्दा समेत बन्न नसकेको अवस्थामा रौतहटबासीका लागि खुशीको बिषय भएको छ’ साहले भने ।






