भारतीय चालकहरुसँग ठेकेदारको दादागिरी

‘बाउन्सर’ राखेर अवैध कर उठाउने ढाट हटाउन बढ्यो माग

[mashshare]

जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।

अफरोज अर्पण
वीरगंज ।
भारतीय नम्बरप्लेटका हेभी सवारीबाट वीरगंज महानगरपालिकाले तोकेको शुल्क भन्दा ठेकेदारले बढी र अनुचित कर उठाइरहेको सवारी चालकहरुले गुनासो गरेका छन् । सवारी चालकहरुले ठेकेदारले दुवै तर्फबाट सवारी करका नाममा धम्क्याएर रकम असुल्दै रसिदमा लेखिएको भन्दा बढी रकम लिने गरेको आरोप लगाएका हुन् ।

भारतीय हेभी सवारी चालक सत्पाल सिंहले ठेकेदारहरुले धम्क्याएर खाली गाडीमा पनि कवाडी कर असुल्ने गरेको आरोप लगाए । ‘हामी गाडी ड्राइभरलाई धेरै नै दुःख छ, हामीलाई चाहिने करजतिको रुपैयाँ साहुले दिएका हुन्छन्,’ उनले भने, ‘ठेकेदारका मान्छेले झगडा गर्न थालेपछि आफ्नो नास्ताको पैसाबाट उनीहरुलाई दिनुपर्छ, कहाँ गएर आफ्नो समस्या सुनाउने ?’

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित आइसिपी भन्सार गेटअगाडि, हरपतगंज, बहुअरी र परवानीपुरमा राखिएका वीरगंज महानगरपालिकाको कर उठाउने ठेकेदार र तिनका ‘बाउन्सर’ले दादागिरी शैलीमा भारतीय गाडीका चालकसँग विभिन्न करका नाममा अनुचित कर लिने गरेका हुन् । उनीहरुले खाली गाडीसँग पनि दुई सय रुपैयाँ, तीन सय रुपैयाँ र पाँच सय नेपाली रुपैयाँको रसिद काटे पनि भारतीय रुपैयाँमा रकम लिने गरेका छन् । ‘तीन सय नेपाली रुपैयाँको रसिद काटेर हामीसँग तीन सय भारतीय रुपैयाँ लिने गरेका छन्,’ भारतीय हेभी सवारी चालक विश्वकर्मा यादवले भने, ‘विरोध गर्दा दादागिरी शैलीमा धम्क्याउँदै जता गएर भने पनि केही सुनुवाई हुनेवाला छैन भन्दै अपमान गर्ने गरेका छन् ।’ समस्याबारे प्रहरी र ट्राफिक प्रहरीलाई गुनासो गर्दा उनीहरुले पनि एक कानले सुनेर अर्को कानले उडाएको चालकहरुको गुनासो छ ।

गत मंगलबार वीरगंज महानगरपालिका, वडा नम्बर १७ का वडाअध्यक्ष संजु छत्कुलीले अलौंस्थित आइसिपी रोडबाट सवारी करको ढाट हटाउन माग गर्दै पत्रकार सम्मेलन गरे । मुख्यसडकमै ढाट राखेर कर उठाउँदा सडक जाम हुने र दुर्घटना पनि बढेको उनको भनाइ छ । वडाध्यक्ष छत्कुलीले वीरगंज महानगरपालिकाका नाममा ठेकेदारहरुले अनाधिकृत रकम असुल्ने गरेको गुनासो भारतीय चालकहरुले गरेको बताए । यसबारे उनी नेतृत्वको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई भेटेर ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भुषालले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता गरेको वडाध्यक्ष छतकुलीले जानकारी दिए ।

वडाध्यक्ष छत्कुलीले मंगलबार आइसिपी रोडमै पत्रकार सम्मेलन गर्दै नियमविपरीत नोभा ट्रेडिङ वीरगंजले आइसिपी रोडमा विभिन्न किसिमका ठूला सवारी साधनबाट पटके सवारी कर उठाइरहेको भन्दै त्यहाँ नउठाउन माग गरे । उनका अनुसार आइसिपी रोडमा बस, ट्रकलगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढेको छ । आइसिपीबाट निस्कने ठूलो संख्यामा हेभी गाडी त्यहाँ रोकेर ठेकेदारले वीरगंज महानगरपालिकाको पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ । वडाअध्यक्ष छत्कुलीले भारतीय हेभी चालकले भोगिरहेका समस्या समाधानबारे प्रहरी, प्रशासन र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले पनि चासो लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button