दुई महिनादेखि अन्धकारमा बस्न बाध्य हिरापुरवासी

[mashshare]

घनश्याम बलम्पाकी
सर्लाही,२० माघ । सर्लाहीको बरहथवा नगरपालिका– ११ का झण्डै पाँच सय परिवार करिब दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

२०६७ सालदेखि विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत बिजुली बत्ती बाल्दै आएका सहकारी बिजुली बत्तीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राकिरण बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा गएको मंसिर २७ गतेबाट बत्ती काटेपछि सो क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । प्राधिकरणले गाउँको बत्ती काटेदेखि स्थानीयवासी अहिले टुकी र मैनबत्तीको भरमा रात काट्दै आइरहेका छन् ।

बरहथवा –११ हीरापुरका स्थानीय उमेश दासले नियमित बिजुली महशुल बुझाउनेको समेत बत्ती काटिएको गुनासो गरे । “सुरुदेखि महशुल नतिर्नेले पनि बत्ती बाले, बत्ती त उनीहरुको मात्रै काटिनुपर्ने हो तर हामी खुरुखुरु पैसा बुझाउनेको समेत दुई महिनादेखि बत्ती काटिएको छ,” दासले गुनासो गर्दै भने, “हामी अन्यायमा परेका छौ, अन्धकारमा रात काट्नु परेको छ । बालबच्चाले पढ्न पाएका छैनन् ।”
अर्का स्थानीय रघुनाथ महतोले महिनैपिच्छे महशुल बुझाएको बील भए पनि सबैको एकमुष्टमा दुई महिनादेखि बत्ती काटिदिँदा समस्या भइरहेको गुनासो गरे । सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचेक्र्याइँ गर्दा आफूहरु अन्धकारमा बस्नुपरेको महतोको गुनासो छ । उनले गाउँमा बिजुली नहुँदा अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन् । “अहिलेको युगमा सबै जना फोन, इन्टरनेटमार्फत परिवार तथा आफन्तसँग सम्पर्कमा हुन्छन, तर यहाँ त दुई महिनादेखि बत्ती नै छैन्,”गाउँलेको पीडा पोखे “पैसा नतिर्नेको मात्रै बत्ती काटिदिएको भए हुन्थ्यो, पैसा तिर्ने, नतिर्ने सबैलाई दुई महिनासम्म अन्धकारमा राखिएको छ ।”

बिजुली नहुँदा बरहथवा नगरपालिका–११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको छ । “बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाइरहेका छौँ,” वडा सचिव धीरेन्द्र रायले भने, “सेवाग्राही आफैले आफ्नो विवरण पञ्जिकरण शाखामा गएर ‘अनलाईन दर्ता’ गराएर ल्याउनु हुन्छ, त्यसपछि हामीले यहाँबाट उक्त कागजातमा हस्ताक्षर गरेर दिने गरेका छौँ ।”
विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले कतिपय ग्राहकले पैसा नबुझाइदिँदा यो अवस्था आएको बताए ।

चालिसेले गत वर्ष प्राधिकरणको थोक मिटरमा उठेको अंकअनुसार सम्पूर्ण बक्यौता चुक्ता गरेपनि पछि फेरि बक्यौता रकम देखाइएको बताए । “हामीले सम्पूर्ण रकम चुक्ता गरेर सरकारीमा जाने भन्यौँ, त्यसपछि प्राधिकरणले थोक मिटर काठमाडौँमा लगेर परीक्षण गर्दा दुई÷तीन महिनादेखि मिटर बिग्रिएको रहेछ भन्दै बक्यौता देखायो,” चालिसेले भने, “गाउँलेबाट पैसा उठाएर गएको वर्ष पुसमै चुक्ता गरिसकेका थियौँ, पछि फेरि बक्यौता देखाएर हामीले कहाँबाट ल्याएर तिर्नु ?”

उनले सहकारीले कुनै पनि किसिमको आर्थिक अपचलन नगरेको दावी गर्नुभयो । “३१७ घरमा मिटर थियो, त्यसमध्ये नियमित पैसा दिने ३०÷३५ जना मात्रै हुन्थ्यो प्राधिकरणले हामीकहाँ बक्यौता हुँदा हामीलाई मिटर दिँदैनथ्यो, हामीले ग्राहकलाई अन्धकारमा बस्न नपरोस् भनेर घाटा, नाफा जे भए पनि ‘सव मिटर’ राखेर भए पनि बत्ती बाल्न दिएका थियौँ,” चालिसेले भने “पैसा बाँकी राख्नेहरुले पछिसम्म पनि पैसा नदिँदा यो अवस्था आएको हो ।”

प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर बत्ती सूचारु गर्न लगाउने गरेका थिए । यो पटक भने मंसिर २७ गतेदेखि प्राधिकरणले बत्ती काटेको छ ।

ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घर–घरमा मिटर राखेर प्राधिकरणले नै ग्राहकको घर–घरमा पुगेर मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा ११ का वडाध्यक्ष नवराज राईले बताए । वडाध्यक्ष ग्रामीण विद्युतीकरण गर्ने सहकारीले हरहिसाब, लेखा परीक्षण केही नरहेको र संस्था नै लथालिंग अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महशुल संकलनको व्यवस्था मिलाउन लागि परेको बताए ।

उनले सहकारी संस्था र त्यसका पदाधिकारी तथा व्यवस्थापकको त्रुटीले स्थानीयले सास्ती खेप्नु परेको बताए । सहकारीका पदाधिकारीलाई संस्थाको घाटा, नाफा के छ ? भनेर वडामै बोलाएर छलफल राख्दा कुनै हरहिसाब नै देखाउन नसकेको वडाध्यक्ष राईको भनाई छ । समितिका पदाधिकारीलाइ पटक पटक हरहिसाव सार्वजनिक गर्न माग गर्दा रमेत हिसावकिताव केही नरहेको बताउनुले पनि आर्थिक अनियमितता भएको वडाध्यक्ष रहइले आरोप लगाएका छन् ।

वडाध्यक्ष राईले केही दिनभित्रै स्थानीयको घरमा प्राधिकरणकै मिटर राखेर बत्ती जोड्ने पहल गरिरहेको बताए ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा ११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढेको जनाएको छ । हाल सहकारीको नाममा रहेको १३ लाख रुपियाँ नगरपालिकाले तिर्ने सहमतीपछि सो गाउँमा मिटर जडान गरेर बत्ती सूचारु गर्ने तयारी भइरहेको वितरण केन्द्रका प्राविधिक प्रमुख छोटेलाल यादवले जानकारी दिएका छन् ।

“२३ लाख रुपियाँ बक्यौतामध्ये १० लाख रुपियाँ स्थानीयहरुले नै उठाएर बुझाइ सकेको छ बाँकी १३ लाख नगरपालिकाले तिर्ने भनी कार्यपालिका बैठकबाट भएको निर्णय प्राप्त भएको छ,” वितरण केन्द्रका प्राविधिक प्रमुख यादवले भने, “अब त्यहाँ बिजुली सूचारु गर्न स्थानीयलाई धमाधम मिटरको फर्म भराइरहेका छौँ, केहीदिनभित्रै मिटर जडान गरेर बत्ती सूचारु गर्छौँ ।”

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button