मधेशमा चार वर्षमा ४३१ हत्या

[mashshare]

‘चालु आर्थिक वर्षमा कर्तव्य ज्यानसम्बन्धी घटना अघिल्लो वर्षभन्दा कम छ । तर तथ्यांक कम छ भनेर हामी चुप लागेर बस्दैनौँ ।’
– यज्ञ विनोद पोखरेल, प्रहरी नायव महानिरीक्षक (डिआइजी)
मधेश प्रदेश प्रहरी प्रमुख, जनकपुरधाम

महेश कठायत
वीरगंज ।

घटना १ः
जेठ २७ गते आइतबार वीरगंज महानगरपालिका वडा नम्बर–१६ शंकराचार्य गेटस्थित खुलाचौरमा युवकको शव फेला । साँझ खुलाचौरमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले मुचुल्का गरी शव बरामद गर्यो

घटना २ः
जेठ २८ गते वीरगंज महानगरपालिका वडा नम्बर–११ रामजानकी मठपछाडि सिर्सिया खोलामा पुरुषको शव फेला । सोमबार दिउँसो बेवारिसे अवस्थामा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले मुचुल्का उठाइ शव बरामद गर्यो ।

घटना ३ः
जेठ २९ गते मगंलबार पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–१ बिसनपुरुवाबाट भारतको नगरदाह जाने बाटोको ओरिया खोलानजिकै दुई वटा शव गाडिएको अवस्थामा फेला परे । नेपाल भारत सीमा दशगजानजिकै गाडिएको अवस्थामा दुई पुरुषको शव फेला परेपछि प्रहरीले बरामद गर्यो ।

घटना ४ः
असार १ गते शनिबार रौतहटको गौरस्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला पर्यो ।

घटना ५ः
असार २ गते आइतबार बिहान रौतहटको राजदेवी नगरपालिका वडा नम्बर–५ पटाही टोलस्थित गढैया बागमती नदीको किनारमा युवकको शव फेला पर्यो ।

घटना ६ः
असार २ गते आइतबार सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ स्थित शिवनगरमा मृत अवस्थामा युवतीको शव भेटियो ।

मधेश प्रदेशमा भइरहेको अपराधको अवस्था जनाउन माथि उल्लेखित प्रतिनिधि उदाहरण काफी छन् । मधेश प्रदेशका आठ जिल्लामा विगत चार वर्षको अवधिमा ४ सय ३१ हत्याका घटना भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्षसम्मको जेठसम्म मात्रै ४ सय ३१ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७७–७८ मा ६९ पुरुष र ३६ महिला गरी १ सय ५ को हत्या भएको छ । आर्थिक वर्ष २०७८–७९ मा ६९ पुरुष र ३४ महिला गरी १ सय ३ को हत्या भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० मा ७२ पुरुष र ४२ महिला गरी १ सय १४ जनाको हत्या भएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १ सय ९ जनाको हत्या भएको छ । जसमध्ये ६० पुरुष र ४९ महिला छन् । चालु आर्थिक वर्षको जेठ महिनासम्म सिरहामा १८ को हत्या भएको छ भने सप्तरीमा १६ जनाको हत्या भएको छ । धनुषामा १५, रौतहटमा १५, पर्सामा १५, बारामा १३, महोत्तरीमा ९, सर्लाहीमा ८ जनाको हत्या भएको छ ।

तथ्यांक हेर्दा मधेश प्रदेशमा कर्तव्य ज्यानसम्बन्धी घटनामा खासै कमी आउनसकेको देखिँदैन । तर, यता मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेल मधेशमा आपराधिक घटना बढेको विषयलाई अस्वीकार गर्छन् । पछिल्ला दिनमा मधेश प्रदेशमा आपराधिक घटना बढ्दै गएको हो ? भन्ने मधेशदृष्टिको प्रश्नमा उनी भन्छन्, ‘आपराधिक घटना बढेको भन्दा पनि दुई–तीन ठाउँमा हत्या भएका छन् । हामीले ती हत्यामा संलग्न अपराधी पक्राउ गरिसकेका छौँ । कतिपय ठाउँमा अपराधी पत्ता लागेको छ तर पक्राउ गर्न सकिरहेका छैनौँ । हामी पक्राउ गर्छौ ।’ मधेश प्रदेश प्रहरी कार्यालयकै तथ्यांकलाई लिएर डिआइजी पोखरेले भने, ‘चालु आर्थिक वर्षमा कर्तव्य ज्यानसम्बन्धी घटना अघिल्लो वर्षभन्दा कम छ । तर तथ्यांक कम छ भनेर हामी चुप लागेर बस्दैनौँ ।’

६६ शवको पहिचान हुन सकेन
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म बेवारिसे अवस्थामा फेला परेका शवमध्ये ६६ शवको पहिचान खुल्नसकेको छैन । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्ममा पर्सामा ९, बारामा ४, रौतहटमा १३, सर्लाहीमा ३, महोत्तरी ११, धनुषामा ८, सिरहामा ६, सप्तरीमा १२ शव सनाखत हुनसकेको छैन । सडेगलेको अवस्थामा शव भेटिनु, अन्य भूगोलका व्यक्तिको शव हुनु र कतिपय अवस्थामा भारतीय नागरिकको समेत शव हुने हुँदा शव पहिचानमा ढिलाइ हुने गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा बताउँछन् ।

समाजमा अपराधका घटनामा कमी ल्याउन सचेतना फैलाउन आवश्यक रहेको प्रहरी उपरीक्षक बोहराको भनाइ छ । साथै उनले व्यक्तिगत दुश्मनी, घरायसी विवाद, अर्थिक लेनदेन, जग्गा विवादलगायतका विषय हत्याका कारण रहेको खुल्ने गरेको बताए । यस्ता घटनालाई नै मध्यनजर गरी मधेश प्रदेश प्रहरीले मधेशका आठ जिल्लामा ‘गृह आवास व्यवस्थापन’सम्बन्धी कार्यक्रम शुरु गरेको प्रवक्ता बोहराले जानकारी दिए ।

‘गृह आवास व्यवस्थापन सम्बन्धमा भन्ने कार्यक्रम दुई दिनको कोर्स बनाएर आठ वटै जिल्लामा दुई–दुई जना इन्सपेक्टरलाई तालिम दिएर पठाइसकेका छौँ । अहिले जिल्लामा नागरिकस्तरमा त्यो किसिमको तालिम दिइरहेको छ,’ उनले भने, ‘त्यसमा नैतिक शिक्षाका कुरा, छिमेकीसँग गर्ने व्यवहारदेखि आत्मरक्षालगायतका विषय समेटिएका छन् । सिमान्तकृत वर्ग, दुर्गम बस्तीमा यस्ता कार्यक्रम हुँदै आएका छन् ।’

यो पनि पढ्नुहोस्ः–  मधेश प्रदेशमा बढ्दो चोरी तस्करी 

मधेशमा दिनहुँ १५ महिला हिंसाको सिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button