
जनकपुरधाम ।
जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाम उपमहानगरपालिकाकोे शहरी बजार क्षेत्रमा राती १२ बजे सम्म पसल र व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय धनुषालाई ज्ञापनपत्र बुझाएको छ ।
संघले बुझाएको ज्ञापनपत्रमा खुल्ला सिमा रहेका कारण नेपालमा भारतिय पर्यटकहरुको आगमणमा दिनानुदिन वृद्वि भइरहेको स्मरण गराउदै बोर्डरमा राती १० बजे सम्म भारतिय पर्यटकहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले जनकपुरधाम शहरी क्षेत्रमा १२ बजे सम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुड सहितका पसलहरु खोल्नका लागि सुरक्षाको प्रवन्ध मिलाइदिन हुन मांग गरिएको छ ।
१० बजे राती बोर्डरमा नेपाल प्रवेश गर्ने पर्यटक जनकपुरधाम शहरमा आउँदा बस्ने र खाने होटलहरु बन्द हुने गरेकाले एकदमै समस्या भइरहेको भन्दै संघले यस्तो मांग गरेको हो । जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटकनै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रवन्धको मांग सहित संघले ज्ञापनपत्र बुझाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत बोधार्थ गरिएको छ ।