
अशिक्षा र गरिबीका कारण घरेलु हिंसाका घटना बढिरहेका छन् ।
–नरेशकुमार सिंह, प्रहरी नायब उपरीक्षक
घरेलु हिंसासम्बन्धी उजुरी धेरै देखिनु चेतना वृद्धिको उपज हो ।
–डा.रामहरि ढकाल, समाजशास्त्री
महेश कठायत
वीरगंज ।
विवाह, साझेदारी र पारिवारिक सम्बन्धमा हुने गरेको दुव्र्यवहारको एउटा रुप हो, घरेलु हिंसा । एकै परिवारमा बसेका कुनै पनि व्यक्तिलाई दिइएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना घरेलु हिंसाभित्र पर्दछ । शारीरिक, यौनजन्य, भावनात्मक र आर्थिक दुव्र्यवहारले पीडितमा गम्भीर तथा दीर्घकालीन प्रभाव पारिरहेको हुन्छ । घरभित्र हुने हिंसाबारे कतिपयलाई हिंसा हो भन्ने थाहा नभएर पनि सहेर बस्न बाध्य हुने गरेका छन् । यद्यपि पछिल्लो समय घरेलु हिंसामा परेका पीडित न्यायका लागि लड्ने क्रम पनि बढ्दो छ ।
नेपाल प्रहरीको तथ्याङ्कले नेपालमा घरेलु हिंसासम्बन्धी उजुरीको संख्या बर्सेनि बढ्दो देखाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पाँच महिना (साउन–मंसिर) मा देशभर घरेलु हिंसासम्बन्धी सात हजार सात उजुरी परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा घरेलु हिंसासम्बन्धी देशभर परेका सात हजार सात उजुरीमध्ये सबैभन्दा बढी दुई हजार तीन सय २९ उजुरी मधेश प्रदेशमा परेका छन् । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने, मधेश प्रदेशमा दैनिक १५ महिला घरेलु हिंसाको सिकार हुने गरेका छन् । मधेश प्रदेशबाहेक कोशी प्रदेशमा सात सय ४२, बागमती प्रदेशमा पाँच सय ४४, गण्डकी प्रदेशमा दुई सय ७७, लुम्बिनी प्रदेशमा एक हजार एक सय ७२, कर्णाली प्रदेशमा तीन सय ५८, सुदूरपश्चिममा पाँच सय ४७ र उपत्यकामा एक हजार ३८ उजुरी परेका छन् ।
गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी घरेलु हिंसासम्बन्धी उजुरी मधेश प्रदेशमै परेका थिए । आर्थिक वर्ष २०७९–८० मा देशभरका १६ हजार पाँच सय १९ उजुरीमध्ये चार हजार नौ सय २३ उजुरी मधेश प्रदेशका थिए । त्यसबाहेक कोशी प्रदेशमा एक हजार चार सय ७४, बागमती प्रदेशमा एक हजार तीन सय ४२, गण्डकी प्रदेशमा एक हजार १३, लुम्बिनी प्रदेशमा दुई हजार आठ सय ८८, कर्णाली प्रदेशमा आठ सय ५५, सुदूरपश्चिम प्रदेशमा एक हजार दुई सय ८, काठमाडौँ उपत्यकामा दुई हजार आठ सय १६ उजुरी परेका थिए ।
यौनदुव्र्यवहार, घेरलु हिंसा, जबर्जस्तीकरणी, कुटपिट, बालविवाह, बोक्सीको आरोप, बालविवाह, बहुविवाह, दाइजो प्रथालगायतका घटनामा महिला तथा बालबालिका बढी पीडित छन् । चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा मधेश प्रदेशमा यौनजन्य अपराधसम्बन्धी एक सय ४०, बालविवाह तथा बहुविवाहसम्बन्धी ३९, जातीय छुवाछुतसम्बन्धी चार, बोक्सी आरोपमा सात, दाइजो, जबर्जस्ती करणी र घरेलु हिंसाका कारण कर्तव्य ज्यानसम्बन्धी चार उजुरी परेका छन् । यस अवधिमा जबर्जस्ती करणी र बालयौन दुरुपयोगसम्बन्धी मधेश प्रदेशमा एक सय ४० उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७९–८० मा बोक्सीको आरोप देशभर दर्ता भएका ४३ उजुरीमध्ये ३२ वटा उजुरी मधेश प्रदेशमा परेका थिए । गत वर्ष देशभर अपहरण जबर्जस्तीकरणीका ५९ उजुरीमध्ये पनि ३३ उजुरी मधेश प्रदेशमा परेका थिए ।
आयोगमा पनि घरेलु हिंसा बढी
आर्थिक वर्ष २०७९–८० मा महिला आयोगमा दर्ता भएका नौ सय दुई उजुरीमध्ये ९१ प्रतिशत अर्थात आठ सय १६ उजुरी घरेलु हिंसासँग सम्बन्धित थिए । मानसिक, आर्थिक, शारीरिक र यौनजन्य हिंसासँग सम्बन्धित उजुरी बढी छन् । आयोगमा उजुरी गर्नेमध्ये ६१ प्रतिशत २६ देखि ४० वर्ष उमेर समूहका छन् ।
किन बढ्दो छ घरेलु हिंसा ?
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश कुमार सिंह घरेलु हिंसा बढ्नुमा प्रमुख कारण कमजोर आर्थिक अवस्था भएको बताउँछन् । अशिक्षा, गरिबी र चेतना कमीले पनि घरेलु हिंसाका घटना बढी देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापा सामाजिक बनोटका कारण मधेश प्रदेशमा घरेलु हिंसाका घटना बढी भएको बताउँछन् । उनका अनुसार घरेलु हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा भन्दा महिला सेलमा बढी आउने गरेकाले पनि उजुरीको संख्या धेरै देखिएको हो । पर्सामा मात्रै चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा एक हजार दुई ७८ उजुरी परेका छन्, जसमध्ये एक सय ८३ उजुरी घरेलु हिंसासँग सम्बन्धी छन् ।
‘चेतनाको उपज उजुरी बढे’
घरेलु हिंसाका घटना बढ्नुमा महिला आफैँ आत्मनिर्भर बन्न नसक्नु भएको एकथरी महिला अधिकारकर्मीको भनाइ छ । उनीहरुको बुझाइमा ‘महिला हिंसा कानुनी अपराध हो’ भन्ने विषयमा जानकार नहुनुले पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । तर, समाजशास्त्री डा.रामहरि ढकाल घरेलु हिंसासम्बन्धी उजुरी धेरै देखिनुलाई चेतना वृद्धिको उपज मान्छन् । ‘पहिले सामाजिक मूल्यमान्यताका आधारमा महिला भएको नाताले आफूमाथि भएको हिंसालाई नियति ठानेर सहनुपर्छ भन्ने सोच थियो,’ समाजशास्त्री डा. ढकाल भन्छन्, ‘अहिले हिंसा सहनु हुँदैन भन्ने चेतना वृद्धिका कारण घरेलु हिंसासम्बन्धी उजुरी धेरै देखिएका हुन् ।’ मधेश प्रदेशमा घरेलु हिंसाको दर पहिलेदेखि नै बढी देखिएको सुनाउँदै समाजशास्त्री ढकाल भन्छन्, ‘मधेशमा प्रायः बहुविवाह र दाइजोका घटना बढी देखिनुमा अन्य प्रदेशको तुलनामा मधेशमा गरिबी, पछौटेपन र साक्षरता दर न्यून हुनु हो ।’ सामाजिक, सांस्कृतिक मूल्यमान्यतामा आधारित सामाजिक कुरीतिका कारण महिला हिंसा कतिपय घटना घरपरिवार र समाजमै टुंगिन्छन् । तर, कतिपय यस्तो अवस्थामा पीडितले न्याय पाउने आशमा थप पीडा सहनु परेको देखिन्छ । घरेलु हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्षको उत्तिकै भूमिका भए पनि नागरिक चेतना प्रमुख भएको समाजशास्त्री ढकालको भनाइ छ ।






