
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी पर्साले असमान शिक्षक दरवन्दी विवरण सच्याउन, तह गत र विषय गत शिक्षक दरवन्दी एवम् विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरवन्दी तत्काल आपूर्ति गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
आम जनता पार्टी पर्साका अध्यक्ष विश्वराज पटेलको नेतृत्वमा आइतबार टोलीले पाँच बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । टोलीमा पार्टीका केन्द्रिय सचिव बाबुराम कौशिक, राजकुमार साह, इद्रिस मियाँ, राजु साह, जलिल मियाँ लगायतको सहभागिता रहेको थियो । पाँच बुदे माग सहित बुझाईएको ज्ञापन पत्रमा उठाएका माग पुरा नभएमा जेठ १५ गते जिल्ला शिक्षा समन्वय इकाईमा घेराउ गर्ने र २० गते शिक्षा विभाग घेराउ गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
यसैबीच मधेशका सामुदायिक विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बारामा आम जनता पार्टी (आजपा) ले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । बारा, पर्सा सहित मधेशका जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपतमा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन आइतबार बाराको कलैयामा आम जनता पार्टीका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्र पनि बुझाएको आम जनता पार्टीका केन्द्रीय सचिव एवम् मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।






