
अफरोज अर्पण
वीरगंज ।
रौतहटको मौलापुर, विगत डेढ दशकदेखि चर्चामा रहेको यो ठाउँबारे पहिला धेरै सुनिएको थिएन । २०६४ को संविधान सभा चुनावमा तत्कालीन माओवादीका एक नेता निर्वाचित भएदेखि नै विस्तारै यो ठाउँबारे यताकदा सुनिन थालियो । मधेश प्रदेशको रौतहटअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ मौलापुर । हो, मौलापुर प्रभु साहको गाउँ हो । यस क्षेत्रबाट चौथोपटक सांसद बनेका प्रभुु साहको गृह नगरपालिका पनि हो मौलापुर । पहिले प्रभु साहका नामले चर्चित यो ठाउँ, अहिले फरक पात्रको कामले चर्चामा छ ।
यो नगरपालिकाको मेयर हुन् उनै प्रभु साहपत्नी रिनाकुमारी साह । उनी लगातार दोस्रोपटक नगर प्रमुखमा निर्वाचित भएकी हुन् । मधेश प्रदेशमा पहिलो महिला मेयरका रूपमा निर्वाचित उनी उदाहरणीय काम गरेर चर्चामा छिन् । श्रीमान–श्रीमतीले नै ‘विकास प्रेमी’को छवि निर्माण गरेका छन् । रौतहट, बारा र पर्सालगायत मधेश प्रदेशदेखि देशभर उनीहरुको विकास निर्माणको प्रशंसा हुने गरेको छ । कतिपयले भन्छन् विकास हेर्नुछ भने मौलापुर जानू ।
रीनाले मौलापुर ‘स्मार्ट’ र ‘उत्तरआधुनिक’ बनाएकी छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुधार, प्रविधि, खेलकुद, महिला सशक्तिकरणजस्ता धेरै क्षेत्रमा उदहारणीय काम गरेर एउटा सुधारवादी महिला नेतृका रुपमा आफूलाई स्थापित गराएकी छन् मेयर रिनाले । हामीले यहाँ उनको केही कामको चर्चा गरेका छौँ ।
मौलापुर नगरपालिका स्मार्ट र आधुनिक बन्दै गएको छ । नगरपालिका अन्तर्गतको सरकारी कार्यालयमा सफ्टवेयरसहितको विद्युतीय हाजिरी (इहाजिरी) मेसिन जडान गरिएको छ । नगरपालिकाको सम्पूर्ण निकायलाई सुशासित गुणस्तरीय सेवा प्रदान गर्न नगरप्रमुख साहले नगरपालिकामातहत रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय, बहुप्राविधिक शिक्षालय, कृषि तथा पशु कार्यालय लगायतका कार्यालयमा इहाजिरी मेसिन जडान गरिएको छ ।
मौलापुर नगरपालिकाले ‘फ्रि बिजुली र पानी’ कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिँचाइ मिटरको सम्पूर्ण महसुल नेपाल विद्युत् प्राधिकरणलाई बुुझाउँदै आएको छ । यस्तो कार्यले आमनगरवासीलाई ठूलो आर्थिक राहत प्रदान गरेको छ । २०७८ साउन महिनादेखि नगर क्षेत्र भित्रका घरायसी प्रयोजनका ग्राहकको सम्पूर्ण विद्युत् महसुल मौलापुर नगरपालिकाले तिर्ने निर्णय गरेको थियो । यो निर्णय बमोजिम २०८० वैशाखदेखि २०८० कात्तिक मसान्तसम्मको सम्पूर्ण विद्युत् महसुलवापतको २ करोड ६६ लाख ८४ हजार ९ सय १० रुपैयाँबराबरको चेक नगरप्रमुख साहले नेपाल विद्युत् प्राधिकरण, मौलापुर वितरण केन्द्रलाई बुझाएकी थिइन् । छोरीको बिहेमा नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।
मौलापुर नगरपालिकाको ‘असहायसँग मेयर’ कार्यक्रमअन्तर्गत जनही ३० हजार रुपैयाँ दिने गरिएको छ । यो वर्ष पनि छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेस गरेकाले चेक पाएका छन् । यो वर्ष जनही ३० हजारको दरले ४९ जना लाभग्राहीलाई १४ लाख ७० हजार रुपैयाँबराबरको चेक प्रत्येक लाभग्राहीलाई हातहातमै उपलब्ध गराइएको छ । नगरप्रमुख साहको पहलमा झण्डै ६ वर्षदेखि सुरू भएको यो कार्यक्रमले आमगरिब परिवारलाई ठूलो राहत दिएको लाभग्राहीको अनुभव छ ।
मौलापुर नगरपालिकालाई धुवाँ चुल्होमुक्त बनाउने अभियानअन्तर्गत प्रमुख साहले नगरभर करिब ९० प्रतिशत घरमा ग्यास सिलिन्डर र चुल्हो पुु¥याएकी छन् । यसका लागि नगरपालिकाले बर्सेनि लाखौँ बजेट छुुट्टयाउने गरेको छ । मेयर साहले गरेको चुनावी प्रतिबद्धताअनुुरूप नै ग्यास सिलिन्डर र चुल्हो वितरण गर्दै आएकी हुन् ।
मौलापुर नगरपालिकास्थित मौलापुरमा रहेको मौलापुर पिकनिक पार्क पछिल्लो समय पिकनिकको लागि प्रसिद्ध ठाउँका रूपमा परिचित हुँदै गएको छ । पिकनिकका लागि यहाँ छिमेकी जिल्ला बारा, पर्सासहित अन्य जिल्लाबाट आउने गरेका छन् । नगरपालिकाले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न मौलापुर पार्क होटल निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुविधासम्पन्न होटल सञ्चालनमा आएपछि बाहिरबाट आएका मानिस गाउँमै आएर बास बस्ने गरेका छन् । स्मार्ट सिटीका रूपमा विकास भइरहेको मौलापुरमा सुविधासम्पन्न आधुनिक बसपार्क निर्माण भएको छ ।
छोरी शिक्षाअन्तर्गत महिलालाई शिक्षामा आकर्षित गर्न र शिक्षामा पहुँच बढाउने उद्देश्यले ल्यापटप वितरण गरिएको छ । निरन्तर १२ कक्षा पढेका नगरभरका छोरीलाई ल्यापटप वितरण भएको हो । एक सय जना प्लस टुमा अध्ययनरत छात्रालाई निःशुल्क ल्यापटप वितरण गरिएको छ । छोरीलाई साइकल दिने कार्यक्रम सुुरुआत मौलापुर नगरपालिकाले गरेको थियो । जुन अहिले मधेश प्रदेश सरकारले पनि बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत अगाडि बढाइरहेको छ । साइकल वितरणको काम सुरु भएपछि छोरीलाई विद्यालयमा पढाउनुुपर्छ भन्ने सकारात्मक परिवर्तन भएको देखिन्छ । तत्पश्चात सामुदायिक विद्यालयमा अहिले छात्राको संख्या अत्यधिक छ । नगरको सामुदायिक विद्यालयमा कक्षा ७ देखिमाथि अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल प्रदान गर्ने गरिएको छ ।
मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण गरेको छ । नगरपालिकाको वडा–२ मर्यादपुर र वडा–५ मौलापुरमा दलित बस्ती निर्माण भएको हो । नगरपालिकाले १२ बिघा १८ कठ्ठा १० धुर जमिन खरिद गरी २५ घरधुरीका लागि मर्यादपुर दलित बस्ती निर्माण भएको हो । त्यस्तै, मौलापुरमा १६ घरधुरीका लागि दलित बस्ती निर्माण गरिएको छ ।
मौलापुरमा बहुप्राविधिक शिक्षालय पनि छ । यहाँ सिभिल र जियो मेट्रिक इन्जिनियर तीन वर्षे डिप्लोमा संकायमा पढाइ हुने गरेको छ । जुन स्थानीय तहमध्ये सिटिइभिटीबाट रौतहटमा पहिलोचोटी प्राविधिक शिक्षाका लागि सम्झौता गरेको हो । सहरी विकास मन्त्रालयको सहयोगमा २५ करोड रुपैयाँ लागतमा बहुउद्देशीय भवन निर्माणपश्चात् उद्घाटनसमेत भइसकेको छ । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराएर छाड्ने उदघोष गरेकी छन् ।
मौलापुरले गत शुक्रबार पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा गरेको पत्रकार सम्मेलनमा मेयर साहले बर्सेनी हुँदै आएको महोत्सवले मौलापुरको सामाजिक, आर्थिक र धार्मिक विकास भएको चर्चा गर्दै पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा समावेश गराउने पहिलो लक्ष्य रहेको बताइन् । अहिले मौलापुरमा मधानी महोत्सव चलिरहेको छ । मधानी महोत्सवलाई भगवान शिव–पार्वतीको वैवाहिक उत्सवका रुपमा मनाइँदै छ ।








