
सञ्जय मिश्रा
रौतहट ।
रौतहट जिल्लामा एसईई परीक्षामा परीक्षार्थीलाई ह्वाट्सप ग्रुप बनाएर चिट चोराउने प्रधानाध्यापक, निरिक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ह्वाट्सप ग्रुपमार्फत प्रश्नपत्रहरुको उत्तर लेखेर सामाजिक सञ्जालमार्फत अदानप्रदान गर्ने प्रधानाध्यापक सहितका गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सबै प्रश्नहरुको उत्तर लेखेर बनाइएको ह्वाट्सप ग्रुपमार्फत आदानप्रदान गर्ने एक जना प्रधानाध्यापक, ४ जना परीक्षा निरीक्षक र एक कार्यालय सहायक गरी ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा रौतहटको पथरा माविका प्रधानाध्यापक उतिचन्द्र यादव, सरस्वती मावि पिपरा परीक्षा केन्द्रका परीक्षा निरीक्षक ललन राय यादव, राम अमोद प्रसाद यादव, शंकर मावि सरमुज्वाका परीक्षा निरीक्षक अबधलाल राम र कार्यालय सहायक राकेश कुमार यादव रहेका छन् ।
यस्तै अनाधिकृत रुपमा परीक्षा केन्द्रमा प्रवेश गरी परीक्षाको मर्यादा भंग गरेको आरोपमा राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षका राम सोगारथ साहलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीमाथि सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा अनुमति बिना प्रवेश गरेको आरोप रहेको छ । पक्राउ परेकाहरुमाथि शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) अन्र्तगतको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।






