मधेश सरकार प्रशासनिक भवन राख्ने स्थलको खोजीमा

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले प्रदेशका मन्त्रालय र प्रशासनिक भवन राख्ने स्थान खोजी गरेको छ । मन्त्रालयको प्रशासनिक भवन जीर्ण भएको भन्दै नयाँ विकल्प खोजीमा मुख्यमन्त्री र मन्त्रीहरू जुटेका हुन् । त्यसका लागि प्रयोगविहीन अवस्थामा रहेको सरकारी जग्गा, भवनको अनुगमन र छलफल शुरु गरिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीको टोली प्रयोगविहीन सरकारी जग्गा तथा भवनको निरीक्षणमा हिँडेका छन् । टोलीले धनुषाको नक्टाझिझस्थित कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवन निरीक्षण गरेको छ । सरकारी स्वामित्वमा रहेको कृषि निर्देशनालय परिसरमा २८ बिघा जमिन छ । त्यहाँ कृषि बिरुवा, धान, गहुँसमेत उत्पादन हुन्छ ।

त्यस्तै, संघीय सरकारको मातहत रहेको जनकपुरधामस्थित प्रयोगविहीन तथा जीर्ण भवनको पनि निरीक्षण भएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज यादव, श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, स्वास्थ्य मन्त्री शत्रुधन सिंह, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी कुमारी तिवारीलगायत सहभागी थिए ।

त्यसक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको साधनश्रोतको उचित प्रयोग गर्ने निर्णयसहित सरकारी जग्गाको निरीक्षण गरेको बताए । उनले जनकपुर चुरोट कारखाना परिसरको संरचना पर्याप्त नभएकाले विकल्प खोज्ने काम भएको बताए । प्रदेशका मन्त्रालय तत्कालै सार्नेभन्दा सरकारी जीर्ण भवन प्रयोगमा ल्याएर सेवा दिन खोजेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button