वीरेन्द्र रमण
जनकपुधाम ।
मधेश प्रदेशका आठ जिल्लामा १५ लाख बालबालिका सामुदायिक विद्यालय पढ्छन् । तर तिनै विद्यालयको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाई उपलब्धी राम्रो हुनसकेको छैन । मधेशको थारै विद्यालयलाई छाडिदिने हो भने विगतको भन्दा हरेक वर्ष सिकाइको अवस्था खस्किन थालेको छ । विद्यालय व्यवस्थापनले यसतर्फ सुधारको चासोसमेत देखाउनसकेको छैन । शैक्षिक सुधारका लागि वर्षौँदेखि दातृनिकाय सहयोगमा सरकारले कार्यक्रम चलाइरहे पनि विद्यार्थीको सिकाइमा सुधार आउन सकेको छैन ।
अहिले एसइइ परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा अनुगमनका नाममा हरेक परीक्षा केन्द्रमा विभिन्न जिम्मेवार निकाय जाने गरेका छन् । तर परीक्षा सकिएको दिनदेखि उनीहरुका लागि विद्यालय अनुगमनको चासो नै हराउने गरेको छ । जसले विद्यालयको पठनपाठनदेखि उनीहरुको पठनपाठनदेखि सिकाइसमेत कमजोर बन्दै आएको छ । तर मधेश प्रदेशमा कतिपय विद्यालयको अवस्था भने कमजोर देखिदैँन । विद्यालयका शिक्षक र प्रधानाध्यापकले गरेको मेहनतको कारणले विद्यालय निकै सबल देखिएका छन् । तर सबल रहेका विद्यालय र कमजोर विद्यालयको सिकाईको विषयमा कहिले पनि अन्तरक्रियासमेत नहुने गरिएका कारणसमेत विद्यालयको सिकाइ अवस्था कमजोर बन्दै आएको छ ।
मधेश प्रदेशमा ३ हजार ४ सय १ सामुदायिक विद्यालय छन् भने ७ सय ५४ संस्थागत विद्यालय सञ्चालनमा छ । १५ लाख ३८ हजार २ सय २ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये मधेश प्रदेशमा ८२ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा भर्ना भएका छन् भने संस्थागतमा १८ प्रतिशत विद्यार्थी छन् । तर राज्यको अकर्मण्यता, कर्मचारी तथा शिक्षकको गैरजिम्मेवारीपन र अभिभावकको बेवास्ताका कारण विद्यालय शिक्षा चरम बेथितिले गाँजिएको छ ।
संकटमोचन माध्यमिक विद्यालय जनकपुरका शिक्षक अरुण लाल कर्णले विद्यालयको सिकाईको अवस्था कमजोर हुनुमा शिक्षकका साथै अभिभावकहरुसमेत उतिकै जिम्मेवार रहेको बताउँछन् । उनले कमजोरी सबैको रहेको तर शिक्षक भन्दा अभिभावकका तर्फबाट बढी कमजोरी भइरहेको जिकिर गरे । उनले भने, ‘शिक्षकले समेत पढाएजस्तो कक्षा कोठामा जाने र अभिभावकहरुसमेत छोराछोरीलाई विद्यालय पठाएर आफनो कर्तव्य पूरा गरेको ठान्छन्, जो सबै भन्दा कमजोर पक्ष हो ।’ उनले अभिभावकहरु कहिले पनि विद्यालयमा आएर छोराछोरीको विषयमा समेत सोधखोज गर्दैनन्, शिक्षकहरु समेत जिम्मेवार बन्न सकेनन् भन्ने उनको तर्क छ । शिक्षक कर्णले दोष एकअर्कालाई लगाएर मात्रै विद्यालय शिक्षामा सुधार आउन नसक्ने बताउदै यसका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।
निम्न र मध्यम परिवारका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयको अवस्था कमजोर छ । विद्यालयको कमजोर व्यवस्थापन र सिकाइ पद्धतिमा सुधार नल्याइएका कारण विद्यार्थीको सिकाईसमेत कमजोर बन्दै गएको छ । समग्र बेथिति अन्त्य गर्दै शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउने विषयमा ठोस पहलकदमी भएको पाइँदैन । ज्ञानआर्जन गर्ने प्रक्रियामा भइरहेको लापरबाहीले निरन्तरता पाइरहनु विडम्बनापूर्ण छ ।
अभिभावक अवधेश कामतले सरकारको नीतिका कारण विद्यार्थीको सिकाई कमजोर बन्दै आएको बताए । उनले सरकारी विद्यालयमा पढाई कमजोर रहेको भन्ने मानसिकताका कारण अभिभावक सरकारी भन्दा पनि ऋण काढेर भएर पनि निजीमा पठाउने गरेको बताउँदै सरकारी विद्यालयप्रति अभिभावमा समेत अविश्वास रहेको बताए । उनले अविश्वासका कारण समस्या देखिएको जिकिर गरे ।
हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने वातावरण तयार गर्ने विषयमा राज्य चुकिरहेको छ । अहिले सामुदायिक विद्यालयमा राज्यले लगानी मात्र गरेको तर परिणाम उत्कृष्ट बनाउनपट्टि उचित ध्यान नदिएको स्थिति छ । शिक्षाविद् कामेश्वर मल्लिकले शिक्षकहरुप्रति विद्यालयमा आस्थाको कमी आएका कारण नै शिक्षामा समस्या देखिएको बताए । पहिला शिक्षकहरु दायित्वका साथ कक्षा कोठामा प्रस्तुत हुने गरेको तर अहिले दायित्व भन्दा पनि जागिर गर्दैछौँ भन्ने सोचमा कक्षा कोठामा जाने गरेका कारण समस्या आएको उनको भनाइ छ । उनले भने, ‘शिक्षक र अभिभावक दुवैमा मानसिक परिवर्तन आवश्यक छ ।’
विद्यालयमा नियमित र अनुकूल वातावरणमा पठनपाठन नहुँदा बालबालिकाको सिकाइमै असर पुग्छ । मधेश प्रदेशको अधिकांश विद्यालयको अवस्था कमजोर छ, यसको प्रत्यक्ष असर विद्यार्थीको सिकारमा पर्ने गरेको छ । विद्यालयमा शिक्षकको आभाव छ भने अर्कातर्फ दरबन्दी मिलाउन हुनसकेको छैन । सामुदायिक विद्यालय सुधारका लागि विद्यालय अभिभावक र स्वयम् विद्यार्थीको समेत अग्रसरता आवश्यक छ ।