
मधेशदृष्टि
वरिगंज ।
सांसद प्रदीप यादवले सिर्सिया नदी प्रदूषणमुक्त बनाउन सरकारले कुनै काम नगरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन वीरगंज महानगरपालिकाको एकल प्रयासले सम्भव नभएको बताए ।
पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने, ‘सिर्सिया नदी प्रदूषणमुक्त बनाउन वीरगंज महानगरपालिकाको एकल प्रयास प्रयाप्त छैन, यसमा संघ सरकारले भूमिका खेल्नै पर्छ । महानगरले पटकपटक जरिवाना गर्दा पनि उद्योगहरुले अटेरी गर्दै आएका छन् ।’
अभियान्ताहरु सिर्सिया नदीको प्रदूषित पानी बोकेर वीरगंजदेखि काठमाडौँसम्मको पदयात्रा गरिरहेको जानकारी गराउँदै उनले सिर्सिया नदीको सफाईका लागि संघ सरकारले कुनै कदम नउठाएको भन्दै आपत्ति जनाए । नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न र नदी प्रदूषणमुक्त बनाउन सांसद यादवले संघ सरकारका उद्योग मन्त्रीको ध्यानाकर्षण गराए ।
‘‘संघ सरकारका उद्योग मन्त्री रमेश रिजाल पर्सावासी नै हुनुहुन्छ । सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारवाही गर्ने उहाँको अधिकार क्षेत्रभित्र पर्छ । हालसम्म उहाँले यसको लागि के गर्नुभएको छ, संसद्मार्फत जानकारी गराउन अनुरोध गर्दछु,’ यादवले भने ।






