महादेव मन्दिरका सुरुङः रहस्योद्घाटन कहिले ?

[mashshare]
सञ्जय साह मित्र

आदिदेव तथा देवाधिदेव भनेर हिन्दू पौराणिक ग्रन्थहरुले भगवान शिवलाई मानेका छन् । सर्वसाधारणले देवताहरुका पनि देवता अर्थात् महादेव भनेर चिन्दछन् । महादेव अर्थात् शिवलाई पूजा गर्ने चलन सम्पूर्ण हिन्दू जगत्मा रहेको छ । हिन्दू भनिए पनि सनातन भनिए पनि वा हिन्दू वा सनातन जुनसुकै नामले जानिए पनि यस धर्ममा महादेवको स्थान सर्वोच्च मानिएको छ । अनि, मधेश प्रदेशमा पनि महादेवको पूजा अन्य देवदेवीकोभन्दा धेरै हुन्छ । महादेवलाई सबैका साझा देव पनि मानिएको छ, यस अर्थमा कि घरमा पनि अनि बाहिर मन्दिरमा पनि, अन्य दिनमा पनि विशेष दिनमा पनि शिवको पूजा सर्वत्र गरिन्छ । शिवलाई आदि योग गुरु पनि मानिएको छ ।

मधेशको हरेक जिल्लामा कम्तीमा एक महादेव मन्दिर जिल्लाभर प्रसिद्ध छन् । पर्सा जिल्लाको नामकरण त यहीँ पारसनाथ महादेव मन्दिरबाट नै भएको मानिएको छ । पारसनाथ मन्दिरको आफ्नै इतिहास रहेको छ । बाराको काँटघाटमा प्रसिद्ध सहजनाथ महादेव मन्दिर रहेको छ जहाँ वर्षेनी लाखौँ श्रद्धालु पग्छन् । रौतहटको शिवनगर त पहिलेदेखि प्रसिद्ध रहेकै थियो, अहिले केही वर्षदेखि पतौरामा पुरातात्विक महादेव मन्दिरको उत्खननले आश्चर्यजनक नतिजा ल्याइरहेको छ । पछिल्लो समयमा त यो पनि दाबी गरिन थालिएको छ कि नेपालमा अहिलेसम्म भेटिएका सबै संरचनामध्ये मौलापुरको धरतीको गर्भभित्र भेटिँदै गरेको संरचना सर्वप्राचीन छ । त्यहाँ पनि महादेव मन्दिर रहेको छ । सर्लाहीमा महादेव मन्दिर शिवनगरमा रहेको छ । साथै सर्लाहीको मूर्तिमा पनि महादेव मन्दिर रहेको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर त जलेश्वर महादेव मन्दिरको नामबाटै बनेको सहर हो । जनकपुरमा पनि भूतनाथ महादेव मन्दिर प्रसिद्ध छ । यसरी मधेशको हरेक जिल्लामा महादेव मन्दिर प्रसिद्ध रहेको छ । अर्थात्, शैव सम्प्रदाय नै नरहे पनि शिव पूजकहरु मधेश प्रदेशमा आदिकालदेखि रहेको सहजै अनुमान गर्न सकिन्छ ।

विभिन्न जिल्लामा प्राचीन मन्दिरहरु रहेका छन् तर कति प्राचीन होलान् ? यस विषयमा अनुमानबाहेक तथ्येतिहास पत्ता लगाउने काम चाहिँ कतै पनि भएको पाइँदैन । मौलापुरमा पुरातात्विक अन्वेषण भइरहेको छ । तर समनपुरको महादेव मन्दिरको सुरुङ र मूर्तियाको महादेव मन्दिरको सुरुङबारे अनुमानहरु मात्र रहेका छन् । हुन त अनुमानहरु सत्य नहुन सक्छन्, लोककथ्य पनि हुन सक्छन्, परम्परागत विश्वास मात्र पनि हुन सक्छन् वा देखेकाले आफ्ना सन्तानलाई भन्दै जाँदा सुनिँदै गएको सत्य पनि हुन सक्छ । सत्यलाई अनुमान गरेर साहित्य लेखिन्छ, अनुमानलाई सत्य साबित गर्न साहित्य लेखिन्छ । फेरि पनि साहित्यहरु सत्येतिहास हुन् र साहित्यहरु केवल साहित्य हुन् । यी केवल कल्पना हुन्छन् । यस्ता तर्क र बहसहरु समाजमा चेतना सक्रिय रहेसम्म सल्बलाइरहन्छन् । वास्तवमा जबसम्म अन्वेषण हुँदैन, जबसम्म अनुसन्धान हुँदैन, जबसम्म यथार्थ पुष्टि हुने औपचारिक काम हुँदैन तबसम्म यस्ता अनुमानहरुले बजार पाइरहन्छन् ।

समनपुर चाहिँ रौतहटको गढीमाई नगरपालिकामा पर्दछ । यहाँ एउटा प्राचीन शिव मन्दिर छ । यो मन्दिरको सम्बन्ध महाभारत कालसित रहेको अनुमान गरिन्छ । यहाँ रहेको महादेव मन्दिरभित्र एउटा ढुंगा रहेको छ जुन ढुंगा शिवलिङ्ग हो । अहिलेसम्म के मान्यता रहेको छ कि यहाँ शिवलिंगमा जतिसुकै जलार्पण गरिए पनि चढाइएको जल कहाँ जान्छ ? निश्चित हुँदैन । मन्दिरभन्दा बाहिर पानीको कतै निकास बनाइएको छैन । शिवलिंगको छेउमा ससाना केही प्वालहरु रहेका छन् । मेला, उत्सव वा अन्य विशेष दिनमा श्रद्धालु भक्तजनले जतिसुकै जलले जलाभिषेक गरे पनि यहाँको जल त्यहीँ साना प्वाल भएर जमिनमा जाने गर्दछ । पहिलेदेखि नै यहीँ हुँदै आएको छ । धरतीभन्दा आफैँ गहिराइमा रहेको शिवलिंगमा चढाइएको जल धरतीमा जाने गरेको रहस्यबारे धेरैलाई जानकारी त छैन तर के मान्यता रहेको छ भने यहाँको शिवलिंग एउटा सुरुङको मुखमा रहेको छ । शिवलिंग मानिएको ढुंगाले सुरुङको मुखलाई बन्द गरेको छ । अनि सुरुङ कसरी र कसले बनायो त यहाँ ?

मूर्तिया सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा पर्दछ । मूर्तिया भन्ने ठाउँको नामले नै यस ठाउँको नामकरणबारे केही कुरो बताउन खोज्छ । यहाँ मूर्तिहरु रहेको भन्ने अनुमान लगाउन सजिलो छ । मूर्तियामा पनि प्राचीन महादेव मन्दिर रहेको छ । मन्दिर परिसरभित्र एउटा इनार रहेको छ । इनारभित्र पसेर हेर्दा एउटा सुरुङ छ । सुरुङलाई त्यहाँ ब्रह्मनाल भनिएको छ ।हुन त त्यहाँ ‘ब्रम्हनाल’ लेखिएको छ तर वास्तवमा ‘ब्रह्मनाल’ हुनुपर्ने हो । नेपाली शब्दकोशले ‘ब्रह्मनाल’ शब्दको अर्थ यसरी लेखेको छ ः

“१. जीवनको अन्तिम घडीमा पुगेको व्यक्ति वा शवलाई शिव मन्दिरनजिकको नदी वा जलाशयको तटमा मन्दिरर्फ सिरानी र जलमा खुट्टा पर्ने गरी सुताउने ठाउँ । २. पशुपतिनाथको मन्दिरमा चढाइएको जल बाग्मती नदीमा निस्कने ठाउँ । ३. शिवजीलाई अर्पण गरेको जल बग्ने नाला ।” सोझो रुपमा हेर्दा यहाँ यी तीन अर्थमध्ये कुनै पनि अर्थ लाग्ने जस्तो देखिँदैन किनभने त्यहाँ मुर्दा राख्ने गरिएको छैन र त्यहाँ शिवलिंगमा चढाइएको जल पुग्ने ठाउँ रहेको जस्तो पनि लाग्दैन । यसरी किन भनिएको सुनिन्छ भने मन्दिरमा रहेको शिवलिंगमाथि गरिएको जल चाहिँ अहिले उक्त सुरुङ भएर जाने गरेको देखिँदैन अर्थात् जाँदैन रे । यदि जल चढाएको पानी त्यहाँ जाँदो हो त स्थानीयहरुले देखेको हुनुपर्ने हो वा अहिले चाहिँ जाँदैन ।हिउँद महिनामा त्यस ब्रह्मनाल भनिएको सुरुङभित्र मज्जाले मानिसहरु पस्ने गरेका छन् भन्ने सुनिन्छ । त्यहाँ लेखिएको पनि छ र स्थानीयहरु सहजै बताउने पनि गर्दछन् कि सुरुङको लम्बाइ ४२ मिटर रहेको छ । इनारभित्र पस्नको लागि एउटा फलामे सिंढी राखिएको छ र सिंढी भएर तल झरेपछि त्यहाँ इनारको तल्लो भागमा पुग्न सकिन्छ अनि दक्षिणतिर रहेको सुरुङमा पस्न सकिन्छ । सुरुङको आकृति इनारमा नपसीकनै बाहिरबाटै देखिन्छ ।

सुरुङ त्यहाँ पनि रहेको छ । अर्थात् समनपुरको महादेवको मन्दिरभित्रको शिवलिंग रहेको स्थानमा पनि सुरुङ छ । यसको विषयमा यो भनिएको पाइन्छ कि महाभारत कालमा गुप्तवास बिताउनको लागि पाण्डवहरु पत्नी द्रोपदीसहित यहीँ सुरुङभित्र पसेका थिए । सुरुङभित्र पसेर सुरुङको मुख बन्द गर्न माथिबाट एउटा ढुंगा भीमसेनले राखिदिएका थिए । भीमसेन आफू सुरुङभित्र पस्दै तत्काल कोही नजानोस् भनेर सुरुङको मुखलाई ढुंगाले बन्द गरेर कतै निस्किएका थिए । पाण्डवहरु जहाँ बस्दथे, त्यसको बारेमा सबै जानकारी कौरवहरुलाई तिनका दूतहरुले दिइरहेका थिए । तिनीहरुको आँखा छल्न पाण्डवहरुले गुप्त रुपमा सुरुङको निर्माण गरेका थिए । भनिन्छ, पाण्डवहरु सुरुङमा पसेर बागमती नदीभन्दा पूर्व जंगलमा निस्केका थिए । जंगलमा निस्केर पाण्डवहरु एक वर्षको अज्ञातवास जीवन बिताउन विराटनगरतर्फ प्रस्थान गरेका थिए । विराटनगरमा राजा बिराटको दरबारमा सबै जना विभिन्न नाममा नोकरी गरी एक वर्षको समय बिताएका थिए । यसैले के मानिएको छ कि सुरुङ निकै लामो थियो र सुरुङ गहिरो पनि थियो र बागमती नदीको मुनिबाटै बागमती पारी गएको थियो । बागमती नदीभन्दा पश्चिमी किनारमा रहेको बस्तीबाट पाण्डवहरु सुरुङभित्रैबाट बागमती नदीभन्दा पूर्वको बनमा पुगेका थिए । सुरुङको एउटा मुख समनपुरमा थियो भने अर्को मुख चाहिँ बागमती पूर्वको बनमा रहेको थियो । यस अनुमानलाई यदि मान्ने हो भने वर्तमान सर्लाहीको कुन ठाउँमा त्यो सुरुङको मुख थियो त ? यस प्रश्नले अलिकति अनुमानलाई सहज बनाइदिन्छ ।

मूर्तियाको महादेव मन्दिर कहिले बनेको हो र कसले बनाएको भन्ने बारेमा खासै कतै उल्लेख पाइँदैन । कतिपयले अनुमान लगाउने गरेका छन् कि कर्नाटकालीन अवशेषहरु यहाँ रहेका छन् । यो अनुमान पनि सही हुन सक्छ तर मूर्तियाबारे खासै कतै उल्लेख गरिएको पाइँदैन । उसो भए समनपुर महादेव मन्दिर र मूर्तियाको महादेव मन्दिरबिच कुनै सम्बन्ध स्थापित हुने सूत्र रहेको छ त ? मूर्तिया महादेव मन्दिर परिसरमा रहेको सुरुङ र समनपुरमा रहेको महादेव मन्दिरको शिवलिंग स्थापित सुरुङबिच कुनै तालमेल हुन सक्ला ? के पाण्डवहरु समनपुरस्थित सुरुङमा पसेर कतै मूर्तियास्ति सुरुङबाट सबै जना निस्केका त थिएनन् ?

फेरि पनि अनुमानको लागि मात्रै प्रश्न गरिएको हो । यद्यपि सत्यापन आवश्यक छ । दुवैतिर महादेव मन्दिर छन् । दुवैतिर सुरुङ छन् र एकातिर यो विश्वास व्यापक मात्रामा रहेको छ कि गुप्तवासको लागि बनाएको सुरुङको मुखमाथि हालिएको ढुंगो नै शिवलिंग हो । यसैले अझै पनि कतिपयले समनपुर महादेवलाई भीमेश्वर महादेव भनेर पनि बोलाउँछन् । हुन त यस मन्दिरमा जुन किसिमले विवाहको मौलिक संस्कृति रहेको थियो, त्यो करिब पूरै लोप भइसकेको छ । त्यो पूर्णतया इतिहास भइसकेको छ यद्यपि समनपुर महादेव मन्दिर र मूर्तिया महादेव मन्दिरको सुरुङमाथि रहेको रहस्यको पर्दा वैज्ञानिक किसिमले हटाउनु जरुरी छ । इतिहास र संस्कृतितिर अलिकति विचार गर्ने मनहरुले कहिलेकाहीँ अलग अलग प्रश्न ते¥स्याउने गर्दछन् – सुरुङको रहस्योद्घाटन कहिले ?

प्रश्न जायज छ । मौलापुरले आफ्नो पहलमा उत्खनन गराएजस्तै दुवैतिरका पालिका सरकारले कम्तीमा यतातिर दृष्टि दिनुपर्ने हो । हुन सक्छ, सुरुङको रहस्योद्घाटनले अन्य रहस्यहरु पनि सार्वजनिक हुन्छन् कि ? हाम्रो समाज र संस्कृतिले अझ धेरै महत्व उपलब्धिहरु हासिल गर्लान् कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button