
सञ्जय मिश्रा
रौतहट ।
रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिर छेउमै दिव्य ज्योति देखिएको स्थानीयले दाबी गरेका छन् । महाशिवरात्रीको अवसरमा आयोजना हुने मधानी महोत्सवको तयारी चलिरहेकै समयमा मन्दिर छेउ जग्गा उत्खनन भईरहेको स्थानको नजिकै दिव्य ज्योति देखिएको स्थानीयले दाबी गरेका हुन् । मधानी महोत्सवबारे जानकारी दिन नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारहरु उत्खनन स्थल निरीक्षण गर्न जाँदा दर्जनौंको संख्यामा रहेका स्थानीयले दिव्य प्रकाश देखेको बताएका थिए ।
स्थानिय प्रत्यक्षदर्शी रामाकान्त यादवका अनुसार पुरातात्विक महादेव मन्दिर भन्दा करिब ५० मीटर र उत्खनन भईरहेको स्थानबाट मात्र २५ मीटरको दूरीमा खाली खेतमा राती ८ बजेको समयमा एउटा दिव्य प्रकाश देखियो । यादवले प्रकाश देखेर अन्य छिमेकीहरूलाई पनि बोलाए । सबै चकित हुँदै दिव्य प्रकाश हेरी रहे, कैयौंले आ–आफ्नो मोबाईलबाट फोटो समेत खिचेको उनको भनाई छ । बिस्तारै त्यहाँ दर्जनौ स्थानीय जम्मा भए र होहल्ला सुरु भएपछि प्रकाश कम हुँदै निभेको अर्का प्रत्यक्षदर्शी ऋषि यादवले बताएका छन् । उनका अनुसार क्रिकेटको बल जस्तो आकारबाट सुरु भएको प्रकाश फुटबलको आकार जस्तो भएर निभेको थियो । प्रकाश निभेपछि त्यहाँ जम्मा भएका स्थानीय प्रकाश आएको स्थानमा गएर हेर्दा आधा टुक्रा ईट फेला परेको उनीहरूले बताएका छन् । प्रकाशलाई स्थानीयले भगवान शिव रूपी दिव्य ज्योती भएको विश्वास लिएका छन् । त्यहाँ भेटेको ईटको टुक्रा उत्खनन भईरहेको स्थानमा निकलिरहेको ११ औं सताब्दी भन्दा पहिले गुप्त कालको जस्तो रहेको विज्ञहरुले बताएका छन् ।
पुरातत्व विभागका अवकास प्राप्त कर्मचारी देवनाथ तिवारीका अनुसार उत्खननमा निकलिरहेको ईटहरु १२ सय बर्ष अगाडि सेनकालीन कर्नाटकालिन समयको रहेको छ । यसअघि उत्खननकै क्रममा सेनकालीन कर्नाटकालीन मन्दिर फेला परेपछि त्यहाँ पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा ७ बर्ष अघि महादेव मन्दिरको निर्माण गरिएको थियो । गतबर्ष बिभिन्न आधुनिक उपकरण सहित त्यहाँ पुगेका जर्मनका पुरातत्व विभागका टोलीले मन्दिर भन्दा ५० मीटर उत्तरतर्फ जमिनमुनि अर्को संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले त्यहाँको २ कठ्ठा जग्गा २० लाख रुपैयाँमा खरिद गरेको मेयर रिना कुमारी साहले बताएकी छन् ।
हाल सोही स्थानमा उत्खनन जारी रहेको छ । जमिनको २ मिटर मुनि पर्खाल र ढोका आकारको जोडिएको ईटाहरु निक्ली रहेको छ । तिवारीका अनुसार उत्खनन कार्य १० दिनमा समाप्त भएपछि भित्रको संरचना के हो त्यसबारे पूर्ण जानकारी हुन्छ । मौलापुर स्थित पुरातात्विक महादेव मन्दिर र उत्खनन भईरहेको स्थानबाट निक्लीरहेको ईटा चौथो सताब्दीको रहेको भारत बिहारका एकजना पुरातत्वविद्ले बताएका छन् । भारत बिहार सरकारका पुरातत्व विभागका अवकास प्राप्त कर्मचारी बिधा चौधरी गतबर्ष उक्त स्थानको स्थलगत निरीक्षण पश्चात मन्दिर र त्यहाँ प्राप्त ईटाहरु चौथो शताब्दी गुप्त कालको रहेको बताएको एकजना स्थानीय लेखक सञ्जय साहले जानकारी दिएका छन् ।
महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन पूर्व मन्त्री प्रभु साहको सुझाव र मेयर रिना कुमारी साहको पहलमा २०७६ सालदेखि प्रत्येक बर्ष शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना हुँदै आएको छ । नगरप्रमुख साहले भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाइने अनुष्ठान मधानी महायज्ञमा भगवान शिवको बरात (जन्ती) यात्राबाट सुरु भई जल, जमिन र बसहाको पुजन सहित शुभारम्भ हुने र शिव विवाह लिला समेत प्रदर्शन गरिने बताइन् ।





