समाजमा सद्भाव कायम गर्न मेयर सिंहको जोड

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ । वीरगंजको आदर्शनगरमा आयोजित हल्ट प्राईज वीरगंज पब्लिक कलेज (बिपिसी) को समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले वैभव वीरगंज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताए ।

२१ महिनाको अवधिमा आफूले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको शुभारम्भ गरेको बताउँदै उनले आफ्नो कार्यकालमा वीरगंजको मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता औँल्याए । साथै उनले वीरगंज महानगर प्रमुख सिंहको नेतृत्वमा छोटो समयमा वीरगंजमा भएको परिवर्तनको प्रसंशा गरे ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ । हल्टप्राइज फाइनलका लागि मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कूलका प्रबन्ध निर्देशक एवम् प्रिन्सीपल सन्नी पाख्रिन, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सहजीकरण शिवम साहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button