
सञ्जय मिश्रा
रौतहट ।
कटहरिया नगरपालिका–५ का २५ वर्षीय सुनिल राय यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित पाँचजनामाथि मुद्दा दर्ता भएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा कटहरिया–५ का आरोपी सबै एकै परिवारका पाँच जनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो । कटहरिया–५ का रामबाबु साह सोनार, उनको श्रीमती रम्भादेवी, छोरी कोसिला देवी, छोरा बदरी भन्ने ओमप्रकाश साह,भतिज सञ्जय साहमाथि कतव्यज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको इन्स्पेक्टर राजन उप्रेतीले बताए ।
आरोपी पाँचैजना प्रहरी हिरासतमा रही थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उप्रेतीले जानकारी दिए । भदौ २९ गते बेलुका साढे सात बजे दुईपक्षीय झडपमा मदन यादवको छोरा सुनिललाई छुरा हानेर हत्या गरिएको थियो । कटहरिया–५ खानेपानी कार्यालय छेउमै सुनिलका दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झड्प भएको थियो । झडपक्रममा समूहले सुनिलको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गर्दा अचेत भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका चिकित्सकले मृत घोषणा गरेका थिए ।
लगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट त्यहाँ पुगेका प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा छुट्टाछट्टै स्थानबाट रामबाबुसहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो ।






