

मकवानपुरको राक्सिराङ–८ को एउटा घटना लिउँ । परिवारका अभिभावकबाटै जबर्जस्ती करणीपछि गाउँमै घटना सामसुम पार्न गरिएको प्रयत्न खेर गएर घटना प्रहरीमा दर्ता भएको छ । यौनजस्तो अक्षम्य अपराधमा पनि राजनीतिक रंग दिएर मिलाउन खोजिए पनि अन्ततः प्रहरीमा उजुरी दर्ता भएको छ ।स्थानीय समिना प्रजा (नाम परिवर्तन) ५५ वर्षीया ससुुरा नाता पर्ने सुरेन्द्रबाट डरधम्कीमा परिन् । यो ब्लाकमेलिङबाट बच्न उनी ससुरा उमेरका र नाताका पुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य भइन् । समिनालाई लाग्यो, ‘यति गरेपछि बर्बाद हुन लागेको जीवनमा एउटा गुपचुप सम्झौता भयो, अब सुरक्षित भइयो ।’ यो घटना अहिलेको थिएन, २०८० जेठ ७ गतेको हो । सुरेन्द्रले स्थानीय घ्यामरिङमा एकान्तस्थलको गोठमा बोलाएर बुहारीको अस्मिता लुटेका थिए ।
पति नभएका बेला घरको अभिभावक, अग्रज, संरक्षक जस्ता पात्रबाट भएको यो घटनाले समाज कुन बाटोमा जाँदै छ भनेर तपाईं हामी सबैको आङ सिरिङ्ग बनाउँछ । ससुरा नाताका सुरेन्द्रले भने, ‘तिमी फलानो केटासँग सुतेको देखेँ, अब मसँग पनि सम्बन्धमा रहेनौ भने यो कुरा सार्वजनिक गरिदिन्छु ।’ घरव्यवहार चलाउन पत्नी छाडेर बाहिर गएका पतिका समिनाजस्ता पत्नीका लागि समाज कति असुरक्षित छ ? यसरी बुहारीसँग सम्बन्ध राख्ने आफन्तहरु समाजमा कति होलान् ? अनुमान लगाउन सक्छौँ । काखमा एक वर्षको छोरा, ज्यामी काम गर्ने पति काठमाडौँमा । समिना घरमै हिंसामा परिन् । हिंसाको कुरुप अवतार यौनहिंसामा परिन् ।
उसो त यतिमै समिनाको संकट सकिएन । ५५ वर्षीयसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाइएकी २२ वर्षीया समिनालाई यस्तै अर्को संकट आइलाग्यो २०८० साल असार २३ गते । राति जेठाजु नाताका सुजन प्रजा छामछुम गर्दै समिनाको बिस्तरामै आइपुगे । दोहोरियो ब्ल्याकमेलिङ शैली । उनको पनि आसय बुहारीको चरित्र सुधार्ने थिएन, बरु बुहारीसँग शारीरिक सम्बन्ध राख्ने लालसा थियो । ‘तपाईं मेरो जेठाजु मान्छे, मलाई छुनसमेत हुँदैन, परै बस्नुस्,’ समिना जोगिन खोजिन् । तर सुजन मध्यराति बुहारीकहाँ आउनुमा अरु कुनै कारण नै थिएन । केही महिनापछि यो घटना गाउँभर फैलियो । जेठ–असारको त्यो अक्षम्य अपराधविरुद्ध कात्तिक २५ गते इलाका प्रहरी कार्यालय मनहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भयो । सुरेन्द्र र सुजन फरार छन् ।
महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । समाजमा यौनका यस्ता घटना पटाक्षेप भइरहेका छन् कि कतै शक्तिले, कतै हतियारले त कतै धनदौलतले महिला यौनहिंसाको सिकार भएकै छन् । घर, समाज, विद्यालय, कार्यस्थलमै नेतृत्वबाटै महिला हिंसामा परेका छन्, त्यो हिंसा सहनु नै छ, समाजमा एक्लो परिने डरले उनीहरुमाथि बर्बर यौनहिंसा भइरहेको छ । जुन उनीहरुको चाहना त के कल्पना पनि थिएन, रहेन । त्यसमाथि राजनीति दलहरु पनि यस्ता घटना प्रहरीसम्म पु¥याउन हुँदैन भनेर गाउँमै मिलाउने काममा लागेपछि समिनाजस्ता पात्रहरु समाजमा कसरी सुरक्षित हुनसक्छन् ? साथी, महिला लेखक, अधिकारकर्मी शान्ति प्रियवन्दना भन्नुहुन्छ, ‘परिवारबाटै महिला यौनहिंसाको सिकार भएका छन्, यो घटना बाहिर ल्याउँदा सडकमा पुगिने डरले उनीहरु हिंसा पनि सहन बाध्य छन् र, बदलामा सुरक्षा होइन बरु यौनहिंसामा परेका छन् ।’ तराई मधेशकै घटना सुनाउनु हुन्छ उहाँ । महिलाको अवस्थाबारे गरिने सर्वेक्षणमा अनौठा घटना भेटिए । उहाँले भन्नुभयो, ‘प्रश्न सोधियो, ‘पति कहाँ हुनुहुन्छ ?’ महिला भन्छन्, ‘भारतमा, काठमाडौँमा या विदेशमा ।’ अनि सोधियो, ‘पछिल्लोपटक यौन सम्बन्ध कहिले भएको थियो ?’ उत्तर आउँछ, ‘दुई हप्ता भयो या तीन हप्ता पुग्दैछ ।’ ‘अरे कसरी ?’ सुवेदीले सुनाउनु भयो, ‘परिवारकै ससुरा, जेठाजु या आफन्तसँग ।’
यो उदेकलाग्दो तर अपराधसँग जोडिएको विषय बाहिर आएकै छैन ।’ सुवेदी भन्नुहुन्छ, ‘समाजमा भएका यस्ता घटना बाहिर कहिले आउला ?’ उहाँले भन्नुभयो, ‘किन राखेको सम्बन्ध भनेर सोध्दा महिलाको जवाफ बाहिर कोकोसँग नाम जोडेर घरनिकाला हुने डर छ, कैयौँ यस्तो समस्या भोगिरहेका छन्, त्यही भएर घरभित्रै चुपचाप यस्ता गतिविधि भइरहेका छन् ।’ यो समाजको डरलाग्दो अनुहार कति दिन छोपेर राख्न सकिन्छ ? के पति अभावमा बालबच्चा हेरेर बसेका महिला घरमै यसरी ताडनामा परिरहनु पर्ने हो ? यो भन्दा डरलाग्दो र कुरुप अनुहार अझ कतिपय स्थानमा त कुटपिट र हत्यामा जोडिन्छ । यस्ता कैयौँ उदाहरणले भन्छ, ‘महिला हिंसा मात्र भोगिरहेका छैनन्, यौनहिंसामा परिरहेका छन्, जुन उनीहरु आर्थिक र पारिवारिक रुपमा नेतृत्व तहमा नपुगेका, आत्मबल कमजोर भएका र समाजसँग जुध्नसक्ने नभएका कारण लुकाउन र सहन बाध्य भएका छन् ।
पहाडको समिना र मधेशको यो घटनाले भन्छ कि, परिवार, नातागोता, आफन्त नै यौन हिंसा गरिरहेका छन् । महिला दोहोरो हिंसा खेपिरहेका छन् । मधेशकै कुरा गर्ने हो भने, जनप्रतिनिधि पनि यस्ता घटनामा जोडिएका छन् । जनप्रतिनिधिका परिवारका सदस्य पनि कम छैनन् । महिला हिंसाको मामलामा जनप्रतिनिधिकै परिवारका सदस्य पनि अगाडि छन् । धनुषाको कमला नगरपालिका–४ कि वडा सदस्यकी पति प्रलाद सल्हैता यादवले गरेको हिंसाको देशभर समाचार बन्यो । उनले आर्थिक अवस्था कमजोर भएकी खेलौना पसल चलाउने महिलालाई घर बोलाएर कुटपिट गरे । कात्तिक १० गते प्रलादले ५० रुपैयाँको खेलौना किने । ५० रुपैयाँ लिन महिलाले छोरालाई घर पठाए । उनलाई ‘आमालाई पठाइदिनू’ भनेर फर्काए । ५० रुपैयाँ माग्न जाँदा महिलामाथि दुव्र्यवहार भयो, कुटपिट भयो । यतिमा सकिएन घटना । महिला वडा सदस्यकी पति प्रल्हादले ती निम्छरालाई चरित्रमाथि दाग लगाउने प्रयास गरे । कुटपिट गरे, पति घरमा नभएकी ती महिलाले पाएको ताडना वडा कार्यालयमा पुग्यो । उनको पति घरमा नहुँदैमा चरित्रमाथि दाग लगाएर ५० रुपैयाँको खेलौना किन्ने बहानामा भएको यातनाको क्षतिपूर्ति के हो ? कति हो ? कतिदिन समाज यसरी नेतृत्वको नकावमा यौनहिंसामा उत्रिरहन्छ ?
२०७८ सम्मको तथ्यांक हेर्ने हो भने, बालिका बलात्कार प्रकरणमा ८० शिक्षक पक्राउ परेका थिए । जबकि बालिकालाई सुरक्षित राखेर अशल नागरिक बनाउने अभिभावकपछि यिनै शिक्षक हुन् । अघिल्लो महिना गुल्मीमा बालिका बलात्कार प्रकरणमा मदर्साका शिक्षक पक्राउ परे । चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरमा बालिका बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक बाँके, खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ पुर्पक्षमा गएका छन् । उनले शान्तिपुरमा डेरामा बस्दै आएकी १५ वर्षीया मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेका हुन् । बालिका स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । खाँ गुल्सने मदिनामा ५ महिनादेखि शिक्षक थिए । कात्तिक १६ गते मनिषा खेतमा खेतालालाई सुर्ती पु¥याउने जाने क्रममा खाँले मस्जिदभित्रै लगेर बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दीखोलामा फालेको पाइएको छ ।
समाजमा सबैभन्दा जान्नेसुन्ने, अगुवा, संरक्षणको जिम्मा पाएको, शिक्षित र अशल नागरिक उत्पादनको जिम्मेवारीमा रहेकाहरुबाट नै महिला यौनहिंसामा परिरहेका छन् दैनिक ६ बलात्का, पछिल्लो समय हिंसाका अनेक रुपले महिला अरु पीडित र कमजोर बनाउने काम भइरहेको छ । जसले समाजमा आसा र सुरक्षाको दीप जलाउनु पर्ने दायित्व छ, उनीहरुकै अवतार महिला हिंसाको सबैभन्दा अकल्पनीय यौनहिंसामा जोडिनु समाजको पश्चगामी यात्रा हो । महिला हिंसाविरुद्ध १६ दिने अभियान र बेलाबखतच अभियान चलाउनेहरु बलात्कारीलाई फाँसीसम्मका माग गर्न थालेका छन् । फेरि पनि बलात्कार के सहर, के गाउँ सबैतिर बढेको छ । घटना बाहिर नल्याउने घरबाटै, समाजबाटै त दबाब छदैँछ, प्रहरीप्रशासन, राजनीतिक दलहरु मिल्न दबाब दिन्छन् । काठमाडौँमै यौनपीडकबाट रकम लिएर छोरीलाई कुरा बाहिर नलैजान दबाब दिने अभिभावकको पनि यो हप्ता समाचार पढिएकै हो । त्यसैले यौनमा मामलामा समाज विकटदेखि काठमाडौँसम्म पुरानै ढर्रामा चलिरहेको अनुभूत गर्न सकिन्छ । समाजलाई यो जुनीकै सबैभन्दा ठूलो कलंक हो, यसपछि समाजमा कतै पनि समायोजन हुनसकिन्न अथवा केही काम गर्न त के अनुहार देखाउन पनि सकिन्न भन्ने डरको वातावरण नबनाएसम्म बलात्कार घट्ने देखिन्न । यसका लागि फाँसी मात्रै काफी होइन, अरु पनि विकल्पहरु खोज्न ढिला भएको छ ।
लामो समय पोखराको पत्रकारितामा क्रियाशील र हाल काठमाडौँमा कार्यरत पत्रकार कृपा भण्डारी भन्नुहुन्छ, ‘परिवार तथा नाताभित्रका कुनै न कुनै पुरुषबाट महिला प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हिंसा भोगिरहेको पछिल्ला केही तथ्यांकले देखाउँछ । त्यसमा पनि झन् निरीह, एकल, शारीरिक रुपमा अपांगता भएका महिला यौनहिंसाबाट बढी प्रताडित हुनुपरेको अवस्था छ ।’ समाजवादी प्रेस संगठन नेपालका कोषाध्यक्षसमेत रहनु भएका सञ्चारकर्मी भण्डारी भन्नुहुन्छ, ‘कतिपय हिंसाका घटना बाहिर ल्याए ज्यान जाने धम्कीका डरका कारण चुपचाप बस्न बाध्य बनाउने काम हुन्छ भने कतिपय घटना बाहिर ल्याएकै कारण ज्यान गुमाउनेहरु पनि छन्, अझ ज्यान गुमाउने विषय यौनहिंसा थियो भन्ने लुकाएर मरिसकेपछि पनि अनेक आरोप लगाउन समाज, परिवारका सदस्य, अगुवाहरु पछि पर्दैनन् ।’
भर्खरका कलिला बालिकादेखि वृद्धासमेत अधिकांश यौनहिंसाका चपेटामा पर्ने गरेको भोगाइ छ भण्डारीको छ । भन्नुहुन्छ, ‘एउटी आमा, हजुरबुबाले नातिनीलाई माया गरेको देख्दा सशंकित हुनुपर्ने अवस्था बन्दै गएको छ, के बुबा ,के काका, के ठूलाबा, के देवर, के भतिजा सबैबाट महिला नै पीडित बन्ने गरेको अधिकांश घटनाले देखाउँछ । त्यति मात्रै होइन, बेइज्जत हुने त्रास र घरनिकाला हुने डरले अधिकांश महिला वैवाहिक बलात्कारको शिकार भइरहँदा पनि मौन बस्न बाध्य छन् ।’ समाजमा बढ्दो यौनहिंसा र यसलाई दबाउन लाग्नेहरु नै अपराधका संरक्षक हुन् । अपराध न्यूनीकरण हुने गरी कानुनहरु परिमार्जन र कठोर कार्यान्वयन जरुरी देखिन्छ ।