क्लार्क रिसोर्टको क्यासिनोबाट सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ

[mashshare]

वीरगञ्ज, भदौ २१ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगञ्जस्थित क्यासिनोमा भेटिएपछि पक्राउ परेका छन्।

शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार अध्यक्ष यादवसहित पक्राउ परेकाहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो परिसरमा पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।

नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी प्रतिबन्ध रहेकाले घटनाले जनप्रतिनिधिको आचरण तथा सरकारी स्रोतसाधनको प्रयोगसम्बन्धी प्रश्नसमेत उठाएको छ।

सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेका जनप्रतिनिधि पक्राउ परेको यो घटना पर्सामा पहिलो भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button