
–राकेश यादव
रौतहट प्रहरीले रुबी कुमारी साह हत्या काण्डका मुख्य आरोपितलाई बुधबार पक्राउ गरेका छन् ।
घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।
जिल्लाको माधब नारायण नगरपालिका वडा नम्बर ६ बस्ने मुख्य आरोपित लक्ष्मन पासवानलाइ घाइते भएको अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ । शरीरमा आगो लगाएको पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेको बुझिएको छ । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
शनिबार गौर नगरपालिका वडा नम्बर २ डेरा गरी बस्दै आएकी रुबी कुमारी साहको शब सुटकेशभित्र राखिएको अवस्थामा गौर नगर पालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सडकको पश्चिम किनारमा फेला परेको थियो ।






