मधेशदृष्टि
वीरगंज ।
वीरगंजलाई नयाँ पुस्ताले चाहेजस्तै सहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् । वीरगंजस्थित रेडियो वीरगंजले सोमबार गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रममा प्रमुख सिंहले आफ्नै कार्यकालमा महानगरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता जनाए । सिंहले भने, ‘तपाईंजस्तै युवा नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । तपाईंहरुको साथ र सहयोग पाएँ भने महानगरलाई सभ्य, सुन्दर र घुम्नलायक बन्न धेरै समय लाग्दैन ।’
महानगरले अहिलेसम्म गरेका कामको मूल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटी औँल्याइदिन पनि उनले अपिल गरे ।
सहभागी युवाको जिज्ञासा मेटाउँदै महानगर प्रमुख सिंहले भने, ‘बाल उद्यान पार्क र परवानीपुरको विपश्यना पार्कलाई मनमोहक बनाउँदै निःशुल्क प्रवेश गर्न पाइने बनाइनेछ । कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने गरी काम भइरहेको छ । पार्कलाई व्यवस्थित बनाई हेर्न र घुम्न लायक बनाउने तयारी भइरहेको छ ।’
उनका अनुसार वीरगंजको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थान निर्माणको अन्तिम तयारीमा छ । मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकलाई सुन्दर बनाउने महानगरको योजना रहेको पनि मेयर सिंहले सुनाए ।
महानगर अन्तर्गतका चार सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागिपरेको पनि जानकारी दिए ।
यसअघि शुल्क तिरेर पढ्नुपर्ने अंग्रेजी माध्यमलाई महानगरले निःशुल्क बनाएर सबैले पढ्न पाउने व्यवस्था गरेको भन्दै उनले आउँदो शैक्षिक सत्रबाट अन्य विद्यालयलाई पनि यस्तै परिमार्जन गर्दै लैजाने गरी गृहकार्य भइरहेको बताए ।
यात्रुबाहक बसलगायतका सार्वजनिक सवारी साधनमा पनि विद्यार्थीलाई परिचय पत्रका आधारमा छुट व्यवस्था गर्न महानगरले सरोकारवालासँग छलफल गर्ने र विद्यार्थीको सहजताका लागि आवश्यक काम गरिने मेयर सिंहले स्पष्ट पारे ।
सीमित साधनस्रोतमा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउँदै उनले अपेक्षाअनुसार काम गर्न यो साधनस्रोतमा केही समय भने चाहिने बताए ।
उनले भने, ‘हामीसँग स्रोत साधन एकदम सीमित छ, त्यसैले अपेक्षाअनुसारको काम गर्न असहज भए पनि वीरगंजबासीलाई निरास बनाउने छैन । जुन आशा र भरोसाका साथ मलाई मत दिनुभएको थियो, त्यहीअनुरुप वीरगंज र वीरगंजबासीको विकासका लागि सधैँ कटिवद्ध छु ।’ सरसफाइमा कसैसँग सम्झौता नगर्ने सिंहले पुरानै अडान दोहो¥याए ।
‘जीतपुरको ललका पुल कट्नेबित्तिकै सभ्य हुने हामी वीरगंजमा जथाभावी फोहोर फाल्छौँ। असभ्य भइहाल्छौ,’ उनले भने, ‘‘त्यसैले कृपया महानगरलाई सुन्दर र सफा बनाउने अभियानमा हातेमालो गर्नुहोस, जथाभावी फोहोर नगर्नुहोस् ।’
कर्यक्रममा सहभागी नयाँ पुस्ताका सुमित क्यालले महानगर प्रमुखमा सिंह निर्वाचित भएदेखि धेरै सुधार र विकासका काम भएको बताए । उनले भने, ‘‘अहिलेसम्मको प्रगति सन्तोषजनक छ, तर यहाँ घुम्ने र रमाउने खालका ठाउँ अभाव छ । बिदाका दिन हामीलाई अहिले पनि हेटौँडाको त्रिखण्डी, चितवनको सौराहालगायतका ठाउँ पुग्नुपर्छ । यसको अन्त्यका लागि पहल गरियोस् ।’ अर्का सहभागी आशिका शर्माले वीरगंज ब्रह्मचोक पछाडिको क्षेत्रमा फोहोर उठाउने ट्र्याक्टर तथा सफाइकर्मीहरु नपुगेको गुनासो गरिन् ।
वीरगंजको पावरहाउसका शिशिर झाका अनुसार, सडकलगायत विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिनु पर्ने आवश्यक्ता खट्किएको बताए । विद्यालयको शुल्कमा एकरुपता ल्याउनुका साथै शुल्क नदिँदा विद्यालयले दुव्र्यवहार गर्ने गतिविधिप्रति सुधार गर्न आर्यन साहले सुझाव दिए । वीरगंजका श्याम गुप्ताले वीरगंजमा पनि पढ्दै कमाउँदै गर्न सकिने तावरण निर्माण गर्न सुझाव दिए ।
वीरगंज अशोकबाटिकाकी प्रीति पाण्डेले महानगरले सिर्सिया नदी सफा बनाउने अभियान चालेकामा खुशी व्यक्त गर्दै अब आउने छठ पर्वमा सफा नदीमा पूजा गर्न पाउने अपेक्षा व्यक्त गरिन् ।
उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय ध्रुबराज पराजुलीले वीरगंजमै टिकाउने कार्यक्रम ल्याउन आग्रह गरे । विभिन्न स्थानमा रहेका नाला कभर गर्नुपर्ने तथा सिर्सिया पुलमा सेफ्टी बेरियर र लाईट राख्न पनि उनको आग्रह थियो ।