
सहयोगी मनले त एक हातले दिँदा अर्को हातलाई पनि थाहा नहोस् भन्ने हुन्छ । तर, कसैलाई हामीले सहयोग गर्यौ भनेर आफ्नो महानता र दयालुपनको प्रचार गर्दै देखावटी आवरणमा बाचिरहेका छौँ, खोक्रो नाटक मञ्चन गरिरहेका हुन्छौँ । अनि यस्तो कार्यलाई स्वार्थी समाजसेवा न भनेर के भन्ने ?

मानव सभ्यतामा समाज र राष्ट्रको विकास क्रमसँगै अत्यन्त सुनिने शब्दहरु हुन् समाज सेवा र राजनीति । यी शब्दहरु पहिले जसरी प्रयोग हुन्थे आजभोली प्रयोग, परिभाषा, विम्ब र सिद्धान्तमा पनि व्यापक परिवर्तन भएको पाइन्छ । बुद्धिजीवी समाजसेवी बन्नु अनि समाजसेवी राजनीतिज्ञ बन्नु र राजनीतिज्ञ फेरी बुद्धिजीवी बन्नु अहिलेको हाम्रो समाजमा समान्य बनेको छ । समाजसेवा एउटा बृहत् सामाजिक कार्य हो जसले कुनै संगठन, समुदाय वा समाजलाई बलियो बनाउने, समानता र अवसर प्रदान गर्ने कार्य गर्छ । समाज सुधारका अनेकौ प्रयासलाई निरन्तरता दिन्छ । समाजसेवाका क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, सरसफाई, विकास निर्माण जस्ता पर्छन् । विभिन्न समस्यामा परेकाहरुको उद्दार, पुनःस्थापना, राहत संकलन तथा वितरण जस्ता कार्यहरुलाई छुटाउन मिल्दैन् ।
भनिन्छ, दुनियाँमा स्वार्थ नभएको मानिस नै हुँदैन । निःस्वार्थी मान्छे पाउँन गाह्रो छ । निःस्वार्थ भनेको स्वार्थ रहित जसमा लोभ र कुनै प्रतिफलको आश हुँदैन । स्वार्थ अनेक किसिमका हुन्छन् । राष्ट्रिय स्वार्थ, समाजिक स्वार्थ, सामुहिक स्वार्थ र व्यक्तिगत स्वार्थ । आत्मालाई साक्षी राखी तन, मन, धन र समय खर्चेर कार्य गर्नु कुनै पनि मानिसको पहिलो कर्तव्य, दायित्व र धर्म हो । धर्मले व्यक्तिलाई निःस्वार्थ कुनै सेवामा लाग्न प्रेरित गर्छ । मानव जीवनमा नैतिकता, चरित्रवान र अनुशासन अनिवार्य सर्त हो । ज्ञान र विवकहीन मानिस स्वार्थी हुन्छ ।
अब समाजसेवाको कुरा गरौँ, अहिले हामी दखिरहेका हुन्छौँ, हाम्रो समाजमा विभिन्न संघ संस्था खोलेर विभिन्न व्यक्तिहरुले समाजसेवा गरिरहेका छन् । सबै त होइन् तर अधिकांशका लागि समाजसेवा एउटा पेशा भएको छ । समाजसेवाको नाममा व्यक्ति, समूह, समाजलाई ठग्ने धंधा चलाइरहेका छन् । अधिकांश गैर सरकारी संस्था खोलेर एक जनासँग मागेर अर्कोलाई दिने र समाजसेवा गरेको नाममा आफ्ना र आफन्तको घरमा विभिन्न सामग्रीको भण्डार लगाउने गरेको देखिन्छ । समाजसेवा अहिले त आफूँ असल छु, सहयोगि छु, दानी छु, दयालु छु भनेर दुनियाँलाई देखाउने पेशा बनेको छ । आवश्यकता परेका व्यक्तिलाई केही सहयोग गर्दा पनि हामीले दुनियाँलाई देखाउँछौँ । हेर्नुस्, मैले, मेरो संघ तथा संस्थाले फलानोलाई यो सहयोग गर्यो, यति सहयोग गर्यो । कसैलाई केही सहयोग गरेको तस्बिर समाजिक सञ्जालमा पोष्टाइरहेका हुन्छौँ । हामी कसलाई देखाउन सहयोग गरेका हौँ ? सहयोगी मनले त एक हातले दिँदा अर्को हातलाई पनि थाहा नहोस् भन्ने हुन्छ । तर, कसैलाई हामीले सहयोग गर्यौ भनेर आफ्नो महानता र दयालुपनको प्रचार गर्दै देखावटी आवरणमा बाचिरहेका छौँ, खोक्रो नाटक मञ्चन गरिरहेका हुन्छौँ । अनि यस्तो कार्यलाई स्वार्थी समाजसेवा न भनेर के भन्ने ? सडक किनारका असहाय, गरिब, निमुखा, भिखारी, टुहुराको उद्धार गर्दा हामीमा कस्तो भाव हुन्छ । पाकै पनि निःस्वार्थ सहयोगको भाव आनन्दमय हुन्छ । तर स्वार्थी मनले गरेको सहयोगले मनमा विभिन्न किसिमका प्रतिफलको आशा र अपेक्षा हुन्छ । हामीले पकै पनि देखेको हुनुपर्छ, एक किलो फलफुल सहयोग गर्दा एउटा संस्थाका कैयन व्यक्तिले तस्बिर खिचाउन तछाड्मछाड गरिरहेका हुन्छन् । त्यसता तस्बिर देखेर मानवता पनि लजाएको हुन्छ ।
विश्वका धेरै देशमा समाजसेवाका धेरै नाम र उदाहरणहरु छन् । नेपालमा पनि सामाजिक सेवा भन्ने गरिए पनि त्यसको बदनाम भएको जस्तो पनि देखिन्छ कहि कतै । कतिपय स्थानमा राम्रो भएको देखिए पनि कतिपय स्थानमा सामाजिक सेवा र समाजसेवाको नाममा भएको बदमासीले गर्दा आम मानिसहरु समस्यामा परेका घटनाहरु पनि छन् । समाजसेवा र समाजसेवीको परिभाषा नै फेर्नुपर्ने अवस्था पनि सिर्जना नहोला भन्न सकिदैन । कतिपय स्थानमा भएका समाजसेवा निकै महत्वपूर्ण र चर्चायोग्य भए पनि कतिपय स्थानमा निहित स्वार्थका लागि गरिएका केही कामलाई समाजसेवाको नाम दिएर प्रचार गर्ने गरिएको छ । आफ्नो स्वार्थका लागि गरिएको कार्यलाई भनिने समाजसेवा र त्यस्तै स्वार्थी प्रवृत्तिलाई दिइने समाजसेवी उपमाले पनि निकै सताउने गरेको पक्कै हो । समाजसेवा नाम र समाज सेवाका लागि हुने कामको पनि अब पहिचान खुल्नुपर्छ ।
सामाजिक सेवाको विषयवस्तुले नयाँ विश्वव्यापी मूल्य, नीति र अभ्यासहरू सिर्जना गर्ने दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्दछ, जसले सबै मानिसहरूको लागि विश्वास र सुरक्षाका साथै समग्र पृथ्वीको नै दिगो विकासको पैरवी गर्दछ । त्यसैले अबको दिनमा सामाजिक सेवाको दायरा र दायित्वका बारेमा पनि केही बोल्नुपर्ने आवश्यकता देखिन्छ ।
अब कुरा गरौँ राजनीतिज्ञले गर्ने समाजसेवाको । नेता तथा कार्यक्रर्ताले गर्ने समाजसेवामा भोटको आशा गरिएको हुन्छ । नेताले भन्ने गरेका छन्, ‘मैले त फलानोलाई समस्या परेको बेला सहयोग गरेको छु, उ मेरो मान्छे हो । उसले त मलाई र मेरो पार्टीलाई नै भोट दिन्छ ।’ यस्ता शब्द त हामीले पकै पनि सुनेको हुनुपर्छ । अधिकांश राजनीतिज्ञहरु कुनै पनि काम बिना कुनै लोभ लालच गरेका हुँदैनन् । जनताले तिरेको करलाई जनतामा खर्च गर्दा पनि उनीहरुले आफूलाई ठूलो सहयोगी र महान दानी ठान्छन् । यतिसम्म कि अघिपछि कुनै सहयोग नगर्ने उनीहरु चुनावका बेला ठूला दानवीरको मुकुट गलाएर टोल टोलमा सहयोग बाड्न पुग्छन् । भनिन्छ राजनीति समाजसेवा हो । तर किन यो समाजसेवामा स्वार्थको राजनीति मिसाइन्छ । स्वार्थी मनले गरेको समाजसेवाले के मनलाई साचिक्कै आनन्दित बनाउँछ ? यस्तो सहयोगले के समाज र व्यक्तिलाई स्वाभिमानी बनाउन मद्दत गर्छ ? यी र यस्ता प्रश्नले समाजसेवीको मुकुट लगाएका स्वार्थी व्यक्तिलाई पिरोल्दैन ? स्वार्थी समाजसेवीको प्रतिफल अपेक्षित कार्यले निःस्वार्थ समाजसेवामा लागेकाहरुलाई पनि गिज्याइरहेको हुन्छ । अन्त्यमा ‘जस करणी तस फल’ ।






