
वीरेन्द्र रमण
जनकपुरधाम ।
नयाँ सत्ता गठबन्धनमा मधेश प्रदेश सरकार मधेशी दललाई नै दिने भनेपछि उत्साहित भएर सरकारलाई समर्थन गर्ने निष्कर्षसहित मधेश सरकारमा दाबी गरिरहेका तीन दलमध्ये यसपटक जनमत पार्टीले नै बाजी मार्ने देखिएको छ । सरकारमा दाबी गरिरहेको जसपा नेपाल र लोसपाको रहर पूरा नहुने संकेत गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले शनिशार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रममा सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन गर्ने बताइरहँदा अन्य दलहरुको पनि समर्थनले सिंहले विश्वासको मत पाउने पक्का भएको छ । शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
जसपा नेपालका नेता एवम् पूर्व मुख्यमन्त्री लालबाबु राउतले संघीय गठबन्धनमा परिवर्तन हुँदासमेत आफुहरुसँग यसमा खासै केही सल्लाह नभएकाले तत्काल पुरानै अवस्थामा रहने जानकारी दिए । उनले विगतमा आफ्नो पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह सरकार निर्माणमा सहयोग नगरेको र यसपटक विश्वासको मतसमेत नदिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको विपक्षी गठबन्धनमा हामी थियौँ, अब नेपाली कांग्रेस र एमालेसँग मिलेर नयाँ गठबन्धन निर्माण भएको छ र यस विषयमा हामीसँग केही सल्लाह र सहमति भएको छैन, त्यसकारण हामी जहाँ छौँ, त्यहाँ नै बस्ने छौँ, विपक्षमा बस्दै आएका थियौँ, विपक्षमै बस्ने छौँ ।’
नेकपा एमालेले जनमतको सरकारलाई विश्वासको मत दिने निर्णयसँगै ह्वीप नै जारी गरेको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार निर्माणक्रममा नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेका कारण तत्काल मुख्यमन्त्री परिवर्तनको पक्षमा छैनौँ, त्यसकारण विश्वासको मत दिइने बताए । उनले भने, ‘अहिले मुख्यमन्त्री परिवर्तनको विषयमा सोचियो भने अस्थिरता आउने भएकाले वर्तमान सरकारमा नेपाली कांग्रेससहित दलहरु सहभागी भएर अगाडि जानेमा विश्वस्त छौँ ।’
यता जनमत पार्टीका प्रदेश सभा सदस्य वसन्त कुशवाहालले संघमा केन्द्रीय गठबन्धन परिवर्तन भएपछि आफूहरुसमेत नयाँ गठबन्धनमा सहभागी भएको बताउदै वर्तमान मधेश सरकारलाई सबै दलले विश्वासको मत दिने बताए । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री हाम्रो बटमलाइन हो, नयाँ गठबन्धनसमेत सकारात्मक रहेका कारण विश्वासको मत पाउनेमा ढुक्क छौँ ।’
यता, मधेश प्रदेश सभामा नेकपा एमाले र नेपाली कांग्रेसले मात्रै होइन, नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ । जनमत पार्टीकी सचेतक अनिता कुमारी शाहले तीनै दलले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने समझदारी भएको बताइन् । ‘अहिलेसम्म कांग्रेस, एमाले र माओवादीसँग हाम्रो मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे समझदारी भएको छ,’ उनले भनिन्, ‘लोसपाले पनि मत दिन्छौँ भन्नुभएको छ, हेरौँ भोलिसम्म के हुन्छ ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमकान्त झाले शुक्रबार पार्टीको संसदीय दलको बैठक बसेको बताए । ‘हाम्रो दलको बैठक बसेको थियो, हामी सकेसम्म आफैँ सरकार बनाउनुपर्छ भन्नेमा छौँ,’ झाले भने, ‘तर, आजको बैठकमा सहमति जुट्न सकेन, भोलि फेरि बैठक राखेका छौँ ।’ कांग्रेस र एमाले गठबन्धन बनेकाले सिंहले विश्वासको मत पाउने विषयमा कांग्रेस पनि एमालेकै लाइनमा उभिने पक्का छ, किनभने केन्द्रमै मधेश सरकार मधेशी दललाई दिने भनिएको छ ।
यता, नेकपा माओवादी केन्द्रले पनि जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने भनेको छ । मधेश प्रदेशमा नेकपा एमालेसँग नेपाली कांग्रेस र जनमत पार्टी मिल्दा मात्रै सरकारसँग स्पष्ट बहुमत पुग्ने आँकडा छ । नेपाली काग्रेससँग २२, नेकपा एमालेसँग सभामुखसहित २५ र जनमत पार्टीसँग १३ प्रदेश सभा सदस्य छन । ५४ सदस्य पुग्न यही तीन दलको आँकडा काफी छ । सरकारमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई समर्थनसहित विश्वासको मत दिने भएका छन् ।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त गर्न नसकेपछि जनमत पार्टीका सांसद सिंह ५५ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । सिंहलाई नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका ५५ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।






