नवविवाहिता मृत्यु प्रकरणः मुख्य आरोपी फरार, बिचौलियाको चलखेल

[mashshare]

मधेशदृष्टि
रौतहट ।

कटहरिया नगरपालिका–५ मा विवाह भएको ६ महिना नपुग्दै नवविवाहिता मुस्लिम महिलाको मृत्युको घटनासंग जोडिएका मुख्य आरोपी फरार भएका छन्। घटना दबाउन र दोषीलाई कारबाहीबाट बचाउन बिचौलियाको चलखेल शुरु भएको छ। बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दबाब र प्रभावमा पार्न चलखेल शुरु गरेको हो ।

कटहरिया–३ बड़ेरवा टोल घरभई कटहरिया–५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानिया प्रविनको शंकास्पद मृत्यु भएको थियो । माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा आएका छन् । घटनापििछ मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान राय भाट फरार भएका छन् । तर बिचौलिया भने दिनभर इलाका प्रहरी कार्यालय गरुडाको चक्कर लगाइरहेका छन् ।
मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण छोरी सानियालाई दैनिकजसो कुटपिट गरी ज्वाईँ अरमानसहित सपरिवार मिलेर हत्या गरेको छ। विवाह भएको ६ महिना भयो तर विभिन्न सामान, दाइजोमा र पैसा पनि माग गर्दै छोरीलाई एकपटक पनि माइती जान नदिएको स्पष्ट पारेका छन् ।

घटनाको अघिल्लो दिन छोरी सानियासँग फोनमा कुराकानी भएको थियो । सम्धी अहमद रायले छोरीलाई माइती पठाउन सहमत भएका थिए । सोही सहमति अनुसार घटनाको एकदिनअघि छोरीले फोन गरेर भनेकी थिइन् बुबा गाड़ी लिएर भोलि आउनु होला साथसाथ घर जाने । छोरीलाई माइतीबाट कुर्बानी पर्वअघि बिदा गर्ने सम्धी अहमदसँग सहमति भएको थियो । छोरी सानिया मर्नु अघि २ घन्टाअघि भिडियो कल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन् । यो समय छोरी निकै खुसीका साथ कुरा गरेकी थिइन् । त्यसको मात्र २ घन्टापछि ज्वाइँ अरमान घरको छतमाथिबाट कोठामा आएर छोरीको घाँटी थिचेर मारेको बुबा मोलाजिम रोशनले बताए । छोरी सानियाको ६ महिनाअघि अरमानसँग विवाह गर्दा दाइजोमा फर्निचर, वासिङ फ्रिज, कुलर पंखा, नाक, कान, घाँटीमा सुनको गहना सुनको औँठीलगायत सम्पूर्ण सामान दिएको उनले बताए । छोरी सानियाको बिदा गर्न पटकपटक भन्दा कहिले केटिएम मोटरसाइकल त कहिले १ लाख भारु माग गरेको, केहीदिन अघि घरमा एसी जडान गर्न माग गरेको थियो । उनीहरूको माग पूरा गर्न नसकेको कारण विशेष गरी सम्धिनीसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

सम्धी अहमदको अर्को छोरा लालबाबु राय भाटसँग आफ्नो अर्की छोरी नगमा प्रविनको १० वर्षअघि विवाह गरेको थिए । अहिले नातिनातिनी सबै छन् र खुसीका साथ गुजारा गरिरहेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधबार अर्की छोरी नगमा र ज्वाइँ लालबाबु लाई बोलाएर ब्यान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाइ रहेको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भइरहेको छ। मुख्य आरोपीलाई झिकाउन प्रहरी पठाएपनि उनी सम्पर्कविहीन भएका छन् ।

यस घटनाबारे मुद्दा दर्ता गर्न नगर्न कैयौँ मानिसबाट सिफारिसका साथ अनेक प्रकारका प्रस्ताव आइरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन् । मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौँ सिफारिस आइरहन्छ तर अनुसन्धानबाट दोषी ठहर भएमा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

के हो घटना
आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाइ सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो । घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो । पोष्टमार्टमपछि मृतकको शव माइती पक्षले बुझेर लगेर सद्गद् गरिसकेका छन् ।

सानियाको सासुससुरालगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताइरहेका छन् । माइती पक्षले छोरीको हत्या गरेर शव झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही माग गरेका छन् । मृतकको काका सोलाजीम रौशनले हामी भारतबाट आएका छौँ, यहाँको भाषा, यहाँको कानूनबारे थाहा छैन तर यहाँको प्रहरीमाथि विश्वास छ, हामीलाई अवश्य न्याय दिन्छ भनेका छन्। ज्वाइँ पक्षका केही मानिसले थाना म्यानेज गरिसकेको भनिरहेका छन् तर डिएसपी कार्की र यहाँको कानूनमाथि पूर्ण विश्वास छ काका सोलाजीमाले बताएका छन् । कटहरिया नगरपालिकास्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेता अहिले, प्रहरी, सरकारी वकील र अदालतसम्मको दलाली गरिरहेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button