मधेशदृष्टि
जनकपुरधाम ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले कर्मचारीहरुकै कारण आफू असुरक्षित भएको बताएका छन् । उनले कर्मचारीहरुले अनावश्यकरुपमा असहयोग गर्ने, धाकधम्की दिने र अराजक व्यहार प्रदर्शन गरिरहेको आरोप लगाए ।
पत्रकार सम्मेलन गरेर अध्यक्ष साहले बृहत्तरमा अनियमितता भएको र आफूले त्यसलाई रोक्न खोज्दा कर्मचारीहरु आफूमाथि नै जाइलागेको दाबी गरे । उनले कर्मचारीहरुका कारण आफ्नो सुरक्षामै चुनौती भएको बताउदै आफूले सुरक्षाका लागि चारपटक प्रमुख जिल्ला अधिकारीकहाँ पत्राचार गरेको जानकारी दिए ।
साहले आफू बृहत्तरमा आउँदा आक्रमणको प्रयास गरिएको दाबी गर्दै साथीहरुले नबचाएको भए खुकुरी प्रहार गरेर हत्यासम्मको योजना रहेको दाबी गरे । उनले बृहत्तरमा देखिएको गलत क्रियाकलाप रोक्न नै आफूले नियमावली बनाउन कामकाज रोकेको दाबी गरे । त्यसको निहुँमा कर्मचारीहरुले आफूमाथि आक्रमण गर्ने कार्य गरेको आरोप लगाए । उनले केही कर्मचारीहरुको शैक्षिक योग्यतासमेत नभएको र त्यसको छानबिन गर्न थालेपछि आफूमाथि नियोजितरुपमा प्रहारहरु हुनथालेको आरोप लगाए ।
साहले विगतमा धेरैजसो जिन्सीका सामानसमेत हटाएर कर्मचारीको मिलोमतोमै गायब पारिएको आरोप लगाए । उनले भने, ‘अहिलेसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को नियमावली नै थिएन, प्रधानमन्त्री कार्यालयदेखि पर्यटन मन्त्रालयसम्म ताकेता गर्दा नबनेको पाएपछि अहिले त्यसलाई बनाउन अगाडि सारिएको छ ।’
साहले बृहत्तरको उद्देश्य राम्रो भए पनि कर्मचारीहरुका कारण बृहत्तरले आफ्नो काम राम्रोसँग गर्न नसकेको र कर्मचारीमा काम नगर्ने र बसिबसी तलब खाने मनोवृत्तिका कारण समस्या आएको बताए । साहले पटकपटक कर्मचारीलाई बोलाएर छलफल गर्न खोजे पनि उनीहरु समस्याका विषयमा कुरा नगर्ने, कहिल्यै पनि छलफलमा नबस्ने गरेको आरोप लगाए ।