गत बुधबार होली पर्वको अवसरमा वीरगंजमा ‘एक शाम लता मंगेशकर के नाम’ म्युजिकल कन्सर्ट आयोजना गरिएको थियो । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल भारत सहयोग मञ्चले आयोजना गरेको कन्सर्टमा नेपालकी चर्चित गायिका मेनुका पौडेलको एकल प्रस्तुति दिएकी थिइन् । भारतकी स्वर कोकिला स्वर्गीय लता मंगेशकरसँग तुलना हुने गरेको मेनुकाको प्रस्तुति देखेर धेरैको आँखा रसाएको थियो । झापाको हल्दिबारीमा सामान्य परिवारमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । तर उनको स्वरमा लता मंगेशकरले गाएको कर्णप्रिय गीत सुन्दा धेरै जना रमाएका थिए । पहिलो पटक सांगीतिक प्रस्तुतिको लागि वीरगंज आएकी गायिका मेनुका पौडेलसँग मधेशदृष्टि राष्ट्रिय दैनिक, रेडियो वीरगंज र टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेको विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ गायिका पौडेलसँगको कुराकानीको सम्पादित अंश ।
तपाई एउटा नेपाली चेली अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहनु भएको छ । कतिको खुुसी हुनुहुन्छ ?
-धेरै खुसी छु, जुन यो संगीतको दौरानमा अगाडी बढ्दै जाँदा सबै तिरबाट सहयोग र समर्थन मिलिरहेको छ यसले मलाई धेरै नै खुसी लागेको छ ।
झापामा २५ वर्ष पहिला जन्मिनु भएको तपाई यतिको सफलता प्राप्त गर्नुहुन्छ भन्ने सुच्नु भएको थियो ?
–सोच्न त म खासमा केही सोँच्दिन, जे जे हुन्छ आफैँ हुँदै जान्छ । मेरो सफलता भनेको भगवानको आशिर्वाद सबै जनाको प्रार्थना, हौसला र माया हो । सोच्नु भन्दापनि मेहनत गर्दै जाने हो । अवश्य पनि मेहनत गर्दै गएपछि केही नकेहीँ त होला भन्ने लाग्थ्यो तर यति सम्म सोँचेको थिइन् ।
तपाईले संसार देखिरहनु भएको छैन तर तपाईको प्रस्तुति सबैले देखिरहेका छन् । तपाईको प्रतिभाको सम्मान गरिरहेका छन् । कति वर्षको उमेर देखि यो क्षेत्रमा लाग्नु भयो ?
–म ६–७ वर्षको उमेरदेखि नै गीत गाउँदै आएको छु । ७–८ वर्षको हुँदा खेरी हारमोनियम बजाउँथे । हरमोनियम बजाएर भजनहरु गाउँथे । मेरो दाइ दिदीहरु होस्टेलमा विहान ४ बजेदेखि नै गाउनु हुन्थ्यो । रियाज गर्नु हुन्थ्यो । एउटा सांगीतिक परिवेश मै हुर्केको हुँ । गीत संगीत सिक्न धेरै दुःख गरेको छुइन् । धेरैको साथ र सहयोग पाइरहेको छु । मैले थाहा नपाउँदै देखि गीत संगीतमा लागे ।
घरमा कति जना हुनुहुन्छ ? तपाई को पढाई कहा भयो ? विद्यार्थी जीवनमा कतिको कार्यक्रममा आफ्नो प्रस्तुति दिनु हुन्थ्यो ?
–मेरो बुवा, मम्मी र दुई जना बहिनी छन् । मैलै झापाको दूर्गा उच्च माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म पढे । स्कुलमा त कति जिते जिते, मलाई याद पनि छैन, विभिन्न स्कुलमा भाग लिइयो । धेरै राम्रो वातावरण थियो । विस्तारै सिक्दै गए ।
पहिलो चोटि ठूलो मञ्जमा तपाई कहिले जानु भएको थियो ?
– म पहिलो चोटी २०७२ सालमा रेडियो नेपालमा राष्ट्रिय स्तरीय गान प्रतियोगितामा गए । जुन प्रत्येक वर्ष हुन्छ । र, त्यहाँ निर मैले हरि लम्साल सरको संगीत र सुवास चन्द्र ढुंगेल सरको शब्दमा गीत गाउन पाएर प्रथम भएको थिए ।
त्यसपछि तपाई नेपाल आइडलमा भाग लिनु भयो, एका एक तपाई त्यहाँ कसरी पुग्नु भयो ?
–नेपाल आइडल पछाडी मैल ‘सारे गम प मा भाग लिएको थिए । र, खोइ कसरी गए, म आफैँ पनि अन्योयमा थिए । जे होस्, आउँदै गयो मैले डिसिजन लिँदै गए, जाने कि न जाने भन्ने थियो तर, गएँ । म साई बाबामा आस्था राख्छु । र, उहाँको दर्शन गर्न म भारत पुगेको थिए । त्यहाँ जाँदा खेरी इन्डियन आइडलमा जानु पर्छ, सिजन १४ मै जानु पर्छ भन्ने टाइपको भाइब्रेसनमा जुन एउटा आस्थामा मिल्छ त्यो मलाई मिलेको थियो । र, म चाहीँ अडिसनको लागि पनि सेलेक्ट भए । यो अचानक नै भयो, मैले हल्ला पनि गरेको थिइन् कि म इन्डिन आइडलमा जाँदैछु भनेर । जनु दिन टिभीमा आयो सबैले थाहा पाउनु भयो । एउटा सरप्राइज पनि भयो । जे होस राम्रो अवसर मिल्यो मलाई ।
तपाईको यो प्रतिभा दुनियाँले देखिरहेको छ । कतिको खुसी हुनुहुन्छ अनि कतिको चुनौतिपूर्ण छ ?
–मनमा खुसी छ । चुनौति र डर पनि छ । खुसी त यतिकै पनि हुन्छ । तर डर पनि छ । डर यो मानेमा कि आज त यो सफलता मिलेको छ । भोलीको दिनमा अझै मिहिनेत गर्नुपर्छ । यसलाई म डर भन्दा पनि चुनौतिको रुपमा लिएको छु । र, एकदमै खुसी छु, मेरो यो यात्रामा सबैको साथ, सहयोग, समर्थन र माया छ । यहि सफलता सधै भरी पाईंदैन यसलाई जोगाएर राख्नुपर्छ ।
जब तपाई पहिलो चोटी भारतीय रियालिटी शो ‘सा रे गा मा पा’ को मञ्जमा उभिनुभयो, कस्तो अनुभूति गर्नु भयो ?
–त्याँ त खासै त्यस्तो केही भएन, इन्डियन आइडलको जस्तो त चर्चा भएन तर धेरै नेपालीले चिन्नु भयो । धेरै नेपालीको माझमा पुग्यो भिडियो । भारतीयमा धेरै पुगेन तर पनि एउटा राम्रो कमेन्ट र रिस्पोन्स पाएँ ।
इन्डियन आइडलमा धेरै सँगै कमपिटिसन गरेर पुग्नु भयो त्यहा पुगेर कस्तो लाग्यो ?
–अन्तिम क्षणमा त्यस्तो केही लागेन नर्मल लाग्यो । किनकी मैले जहिले पनि भन्ने गर्छु, नम्बरमा विश्वास गर्ने होइन आफनो कर्ममा विश्वास गर्नु पर्छ । र, नम्बरले केही पनि गराउँदै । मैले पहिले पनि भन्ने गरेको थिए पहिलो नम्बरमा भएपनि पछि मिहिनेत गरिएन भने त्यो खस्किन पनि सक्छ । म धेरै कार्यक्रमको अडिसनबाट पनि फालिएको थिए । तर निरन्तर मिहिनेत गरे पछि महिनेतले कहिले नि साथ छोड्दैन कुनै न कुनै दिन सफलता दिलाउँछ । त्यस्तो खिनन्ता कहिले पनि महसुस गरिन म खुसी नै थिए किनकी इन्डियन आइडलको मञ्जमा गएर माइक समाउनु नै मेरो लागि ठूलो कुरा थियो ।
तपाईले गोल्डेन माइक पाउनु भयो । सलार हिन्दी फिल्ममा पनि गित गाउनु भयो । त्यो अवसर जुटाइदिने र त्यहाँसम्म पुग्दा कसको सहयोग रहेको सम्झनु हुन्छ ?
–त्यो क्षण मेरो लागि अविस्मरणीय छ । म एकदम खुसी थिएँ । त्यति चर्चित फिल्ममा गित गाएँ खुसी थिए । धेरैले प्रशंसा गर्नुभयो । त्यति ठूलो फिल्ममा गीत गाउन पाउने मेरो लागि त्यो भगवानको प्रसाद हो भगवानको आशिर्वाद हो । र, त्यहाँसम्म पुग्न डेफिनेटली इन्डिय आइडलको भूमिका छ । त्यहाँ गाएपछि कम्पोजर रवि बसरुर सर, प्रशान्त निल, प्रभास सरले सुन्नुभएको थियो । त्यहीँबाट मलाई सलार फिल्ममा गाउन अवसर दिनु भएको थियो ।
इन्डियन आइडलको मञ्चमा एक जना डाक्टरले तपाईलाई चस्मा दिनु भएको थियो ? कस्तो चश्मा थियो त्यो ?
–त्यो एआई चश्मा हो, देखिने चश्मा होइन् । त्यसलाई आफ्नो मोबाइलसँग कनेक्ट गरेपछि लेखिएको शब्दहरुलाई बोल्दिने हो । त्यसले आँखा देख्ने होइन् । किताब पढ्नलाईसम्म त्यो ठिक छ बाँकी मेरो काम मैले आफैँले गरिनै हाल्छु । डाक्टर साबले मलाई त्यो चश्मा पुरस्कार स्वरुप दिनु भएको थियो । मैले त्यसलाई स्वीकार गरे । शरीरिक अवस्था त एउटा स्वास्थ्यसँग जोडिएको कुरा हो । तर गीत संगित मेरो जिवनसँग जोडिएको छ । त्यसैले म आफनो फोकस गीत संगितको क्षेत्रमा मात्र केन्द्रीत गरेको छु । आज एउटा स्वस्थ मानिस पनि भोली आफनो कुनै अंग गुमाउन सक्छ । तर उसले चाहेको क्षेत्रमा मिहिनेत गर्यो भने सफलता प्राप्त गर्न सक्छ ।
अहिले के मा व्यस्थ हुनु हुन्छ ?
अहिले म्युजिकमा इन्डिन आइडलको टिमसँग काम भइरहेको छ । मेरो आफ्नो पनि केही काम गरिरहेको छु । केही फिल्मको गीत गाएको छु, त्यो छिट्टै रिजिल हुँदैछ । फिल्म बाहिरका पनि केही गीत गाएको छु । त्यो केही दिनमा रिजिल हुन्छ । म पहिलो चोटी वीरगंज आएँ, ‘एक शाम लतामंगेशकर के नाम’ कार्यक्रममा प्रस्तुति दिएँ, मैले सुने, धेरै राम्रो भयो कार्यक्रम, धेरैले मन पराउनु भयो । टिभी वीरगंजबाट लाइभ भएको थियो । धरैले हेर्नु भयो । मेरो भेरिफाइड इन्टाग्राम अकाउन्ट छ मेनुका पौडेल अफिसियल, त्यहाँ गएर फलो गर्नुभयो भने मेरो बारेमा अपडेट लिनसक्नु हुनेछ ।
तपाई पहिलो पटक वीरगंज आउनु भएको छ, कस्तो प्रतिक्रिया पाउनु भयो ?
–म पहिलो चोटी वीरगंज आए, रमाइलो लाग्यो, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य सरलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई पहिलो पटक लता मंगेशकर अवार्डबाट सम्मान गर्नु भयो । योग्य सम्झनु भयो, म त्यति योग्य त छैन, तर पनि एउटा हौसला दिनुभयो, मिहिनेत गर्ने इच्छा जगाइदिनु भयो । त्यसको लागि धेरै धरै आभार व्यक्त गर्न चाहन्छु । वीरगंजवासीलाई धन्यवाद दिन चाहन्छु । पहिलो चोटी आएँ यहाँको म्युजिकल इन्भारमेन्ट राम्रो छ, रमाइलो लाग्यो ।
तपाईले प्रस्तुति दिइरहदा, त्यो देखेर धेरैको आँखा रसाएको थियो । विभिन्न संस्थाले तपाईलाई उतिखेरै सम्मान गरे । यो विषयमा के भन्नु हुन्छ ?
–धेरै धेरै धन्यवाद, वीरगंजवासीले मलाई धेरै माया गर्नुभयो । मेनुका बहिनी आउने थाहा पाएर पानी परिरहदा पनि उहाँहरु टाढा टाढाबाट मलाई माया गरेर मेरो प्रस्तुति हेर्न आउनु भयो । धेरै राम्रो अडियन्स पाएँ, सबै जना रमाउनु भएको थियो । त्यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । उहाँहरु प्रति आभारी छु ।
तपाईको गुरुको हुनुहुन्छ, उहाँहरुलाई कसरी सम्झिनु हुन्छ ?
–मेरो गुरु झापाकै अनिल फागु हुनुहुन्छ । जोसँग मैले झापादेखि नै गीत संगीत सिक्दै आएँ । काठमाडौँमा म्युजिक प्लस टु गरे, डिप्लो गरे, साउथ इन्डियन म्युजिक सिक्दै छु । साथै म आफनो घर परिवार र इश्वरलाई सम्झन चाहन्छु । म सर्वधर्म मान्छु । म साई बाबाको अनुयायी हुँ । मलाई साई बाबामाथि आस्था छ ।
अन्त्यमा, वीरगंजको बसाई र प्रस्तुति बारे के भन्न चाहनुहुन्छ ?
अन्त्यमा, म भारतीय महावाणिज्य दूतावस, अशोक वैद्यलागयत सबैजनालाई धन्यवाद दिन चाहन्छु । वीरगंजमा हुने यस्ता कार्यक्रमका लागि मलाई फेरी फेरी सम्झिनु हुन्छ भन्ने आशा र विश्वास छ । टिभी वीरगंजलाई विशेष धन्यवाद जसले मेरो प्रस्तुतिलाई देश दुनियासम्म पुर्यायो । वीरगंजवासीको अपार माया प्रति फेरी पनि आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।