मधेशदृष्टि
सप्तरी ।
सप्तरीको रूपनगर क्याम्पसका विद्यार्थीले प्लाष्टिक प्रदूषणविरूद्ध अभियान शुरू गरेका छन् । वातावरण र स्वास्थ्यलाई हानी पु¥याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत आज (शनिबार) बिहान सप्तरी जिल्लाको रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको हो । बाटो, नाला, खेतबारी, विद्यालय क्षेत्र, यत्रतत्र फालिएर प्रदूषण गरिरहेको ७ बोरा प्लाष्टिक फोहर सङ्कलन गरिएको छ ।
रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा सञ्चालन गरिएको प्लाष्टिक प्रदूषणविरूद्धको अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य हेम प्रसाद अधिकारी, क्याम्पसका शिक्षक, विद्यार्थी, कर्मचारीलगायत पत्रकार तथा स्थानीयको समेतको सहभागिता रहेको थियो ।
रूपनगर क्याम्पसका केही जागरूक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’को बयानरमा आयोजित सो अभियानमा सङ्कलित प्लाष्टिक फोहरबाट ‘इको–ब्रिक’ बनाइने ‘रूपनगर युथ स्क्वाड’का संयोजक आफताब अलीले जानकारी दिए । संयोजक अलीका अनुसार उक्त अभियानबाट प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको–ब्रिक’बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्शी आदि बनाइने छ ।
‘प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पुरक एशिया नामक अन्तर्राष्ट्रिय संस्थाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएको संयोजक अलीले जानकारी दिए । उनले भने, ‘प्लाष्टिक प्रदूषण विरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ ।’
प्लाष्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्राम स्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको विश्वास छ । स्वच्छ, स्वस्थ्य र हरियो भविष्यको यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सकिने प्राध्यापक गजुरेलले जानकारी दिए । – रूपनगर क्याम्पस फिचर सेवा