कांग्रेस र एमालेको अनैतिक गठबन्धनले मुलुक बर्बादः साह

[mashshare]

मधेशदृष्टि
काठमाडौ ।
आमजनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखी शुरु भएको आजपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलीय गठबन्धन सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुट्टाछुट्टै गठबन्धन गरेर जनतासँग मत मागेका थिए । तर सत्तास्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउन लागेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन् ।’

निर्वाचनमा छुट्टाछुट्टै गठबन्धन गरेर जनतासँग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे, त्यसको विपरीत काम गरेपछि के जनतासँग लिएको मत फिर्ता गर्नुपर्दैन ?,’ साहले प्रश्न गरे ।

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाइडबडी, यतीओम्नी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखि टेरामक्सलगायतका काण्डैकाण्डले बदनाम सरकार र यी नेताहरुले के दालभात मात्रै खाएका हुन् त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ? अनि तपाईंहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुँडिखेलका ती सोझा युवा असभ्य भए, संस्कार भएन भन्ने ? अनि के तपाईंहरुले जुन देश लुटिराख्नु भएको छ, त्यो सभ्य र संस्कारी काम हो ?’
कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । आजपा अध्यक्ष साहले आफँैले बनाएको संविधान कार्यान्वयन नहुदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासँग माफी माग्नुपर्ने बताए । आफैँले उत्कृष्ट संविधान बनाएको भन्दै गर्व गर्ने नेताहरुले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्तो संविधान खारेज गरिनु पर्ने उनले बताए ।

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिइरहेको छ । हरेक बस्तुको महंगी बढ्दै गइरहेको छ । घर चलाउन धौधौ भइरहेको छ । जनता लुट्ने नेताले लुटतन्त्र मच्चाएका छन् । यसरी मुलुक समृद्ध हुनसक्दैन,’ साहले भने, ‘नेपाली नागरिकता त्यागेर विदेश बसेकाको सम्पत्ति कहाँ छ ? कति छ, सरकारले भन्नु पर्यो । लुटेरा नेताहरुले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारबाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल, दलतन्त्र, लुट्तन्त्र, बेथिति, भ्रष्टाचारविरुद्धमा र आमजनताको शासनव्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलन उद्घोष गरेका छौँ ।’

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय गर्नेबारे गम्भीर छलफल हुँदैछ । दलाल दलतन्त्रविरुद्ध र आमजनताको शासनव्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेको आजपा अध्यक्ष साहले त्यसबारे आगामी कार्ययोजनासमेत बैठकमा पेश गर्दैछन् ।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आमजनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चितता हुने बताए । बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजनासहित अगाडि बढिने बताए । बैठकमा सोही विषयमा केन्द्रित विषयमा गम्भीर छलफल हुने उनले बताए ।

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनबारे समीक्षा हुनेछ । आजपा महासचिव साहका अनुसार, भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाडलगायतका आन्दोलनबारे बैठकमा समीक्षा हुने एजेण्डा तय भएको छ । साथै यो आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र आगामी दिनमा कसरी अगाडि बढाउनेबारेमा समेत छलफल र योजना बनाउने काम हुने बताइएको छ ।

यसैगरी, शिक्षक दरबन्दीका लागि मधेशमा जारी आन्दोलनलाई अझै शसक्त बनाइने र आमशैक्षिक हड्ताल (आमशैक्षिक आन्दोलन) बारेसमेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेशमा शिक्षकको व्यवस्था सरकारले गराउन सकेको छैन । यसबारे सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए ।

तेस्रो जनआन्दोलनबारे मात्रै नभई विगतको आन्दोलनको समीक्षा गर्दै अगाडि बढ्नेबारे छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सोहीअनुसार आन्दोलन केन्द्रित गरी कार्यविभाजनसमेत हुने आजपा स्थायी कमिटी सदस्य रविन्द्र सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button