
सञ्जय मिश्रा
रौतहट ।
विवाहित महिलाले वडाअध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । मौलापुर–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाएपछि यसबारे बुझ्न नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।
गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोपबारे बुझ्न मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन भएको छ । घटनाबारे सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ । समितिले घटनाको प्रतिवेदन पेश गरेपछि कस्तो किसिमको कारबाही हुने भन्ने सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
छानबिन समितिमा वडा नम्बर १ का वडाध्यक्ष जयनाथ कुशवाह, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह (अधिकृत छैठौँ) सदस्य छन् । वडाअध्यक्षकै गाउँकी विवाहित महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौनशोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाको शुक्रवार बसेको बैठकले छानबिन समिति गठन गरेको हो ।






