
मधेशदृष्टि
वीरगंज ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही चोकमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ ।
पिकअपको ठक्करले बसमा सवार यात्रु, पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीका ५२ वर्षीय नागेन्द्र महतो नुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगंजबाट काठमाडौँको लागि छुटेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाको अर्को दिशाबाट आउँदै गरेको प्रदेश २–३ –००१ –च –२४५२ नम्बरको पिकअपले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेका कारण र पिकअपको गति तिब्र रहेकाले दुर्घटना भएको उनले बताए । यात्रुबाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बारा, सिमराका तिर महमदलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताए ।






