एकीकृत भएर नव संघर्षको उठान गर्न नेता महतोको आह्वान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
टीकापुर घटना भएको ९ वर्ष पूरा भएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले सो अवसरमा थारु समुदायलगायत सम्पूर्ण उत्पीडित समुदायमा अब छुट्टा छुट्टै नभई एकीकृत भएर नव संघर्षको उठान गर्न आह्वान गरेका छन् । २०७२ भदौ ७ गते कै दिन कैलालीको टीकापुरमा स्वायत्त थारुहट प्रदेश माग गर्दै लाखौं थारुहरु आन्दोलित भएको थियो । ‘सोही भिडमा सुनियोजित ढंगले प्रहरी र बालकको ज्यान जानेगरी दुःखद घटना भएको थियो ।

शान्तिपूर्ण राजनैतिक आन्दोलनमा यस प्रकारको हिंसात्मक घटना निश्चय नै दुःखद हो । मृतकहरु प्रति हार्दिक श्रद्धान्जली छ । तर उक्त घटनाको भोलिपल्ट भदौ ८ गते प्रशासनले कफ्र्यु जारीकै समयमा, प्रशासनको सुरक्षामा केहि अराजक अपराधीहरुले थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफ एममा आगजनी गरिएको थियो । सोही भदौ ७ गतेको घटना अभियोगमा रेशम चौधरी लगायत ५२ जना माथि झुठा मुद्दा लगाइयो । तर ८ गते भएको घटनाको बारेमा राज्य मौन बस्यो । बरु टिकापुर घटना भएपश्चात थरुहट आन्दोलनकर्मी नेता कार्यकर्ताहरू उपर सुनियोजित ढंगले झुठा मुद्दा लगाएर फसाउनुका साथै अदालती प्रक्रियाबाट झनै जटिल बनाइयो ।’ शुक्रबार अभियानका संयोजक महतोद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेता महतोले घटनामाथि सत्यतथ्य छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन, गृहमन्त्रालद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन आयोगको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुको सट्टा अदालतद्वारा अपराधि करार गराई आम माफी माग्न लगाई केहि राजबन्दीलाई गरिएको रिहाइले त थारु राष्ट्रलाई अपराधि नै होस् भन्ने मनोविज्ञानमा पुर्याई दिएको उल्लेख गरेका छन् ।

‘टिकापुर बिद्रोहलाई यसरि दबाइयो कि त्यस भेगका थारुहरु बिस्थापित हुनुपर्यो, रहेका बचेकाहरु प्रताडित हुनुपर्यो । त्यसपछि त राजबन्दी रिहाइ बाहेक मुद्दा नै बन्न सकेन र त्यो पनि माफिनामामा गएर खस्कियो । यसले गर्दा अझै पेल्न सकिन्छ कि भनेर थारु लगायत उत्पीडित माथि झुठा मुद्दा लगाएर शोषण, दमन गरिरहेको छ र थारुहरु लगायत उत्पिडितहरु पनि दमित अवस्थामा बाचिरहेका छन्’, विज्ञप्तीमा भनिएको छ । नेता महतोले अब थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह गर्ने र त्यसैको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति स्थापना भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button