
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका निवर्तमान अर्थमन्त्री भरतप्रसाद साहले सीमित अवधिमा मधेश प्रदेशको आर्थिक प्रणाली निश्चित मापदण्डभित्र अगाडि बढाउने प्रयास गरेको दाबी गरेका छन् । मन्त्री साहको बिदाई कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा उनले बजेट विनियोजनमा वित्तीय संघीयता कार्यान्वयन गर्न ध्यान दिइएको बताए । यस्तै, सशर्त अनुदान वितरणमा हुने विकृति रोकेर स्थानीय तह आफैँले आयोजना छान्ने र कार्यान्वयन गर्ने गरी शर्त राखेर सूत्र बनाएर पालिकालाई रकम दिएको साहले बताए ।
उनले सूत्र बनाएर महानगरपालिकालाई १ करोड ७५ लाख रुपैयाँ, उपमहानगरपालिकालाई १ करोड २५ लाख रुपैयाँ, नगरपालिकालाई ९५ लाख रुपैयाँ, गाउँपालिकालाई ८० लाख रुपैयाँ दिइएको बताए । साहले भने, ‘हामी संघीयताका पक्षधर दलको हैसियसको खास वकालत हामीले गर्दै आएका छौँ ।’ साहले मधेश प्रदेश सरकार स्थानीय सरकारको नजिकको सहजकर्ता र संरक्षक बन्नु पर्ने बताउँदै यसतर्फ प्रदेश सरकार जानु पर्छ भन्ने सोच रुपान्तरण गर्ने पहिलो पाइला रहेको बताए । उनले अगामी दिनमा प्रदेश र स्थानीय सरकारबीच हुने समन्वय, सहकार्य र सहकारितालाई व्यवहारमा स्थापित गर्दै लैजाँदा अन्य प्रदेश र संघका लागि पनि सिकाइ हुने बताए ।
साहले आयोजना कार्यान्वयनमा देखिएका विकृति र व्यापक जनगुनासो सम्बोधन गर्न र आर्थिक सुशासन सुधार्न प्रदेशले गर्ने सबै विकास निर्माणका काम खुला प्रतिस्पर्धाबाट कार्यान्वयन हुने व्यवस्था गरेको बताए । उनले उपभोक्ता समितिबाटै गर्नुपर्ने प्रकृतिको काम भए स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति बजेटमा समेटिएको बताए । साहले खरिदमा भएको विकृति रोक्ने कामको शुरुवात विन्दु हुने बताउँदै यसका लागि बजेटमै व्यवस्था गरिएको बताए । उनले साना कामका लागि स्थानीय सरकारमार्फत प्रदेशले काम गर्ने–गराउने भन्ने सन्देश जाने बताए ।
साहले मधेशको आधार पानीलाई खास आधार बनाउनुपर्ने भनेर सिँचाई मन्त्रालय, कृषि मन्त्रालयबाट बजेट समावेश गर्न गराउन प्राथमिकता दिइएको बताउँदै सुक्खाग्रस्त क्षेत्र सम्बोधन गर्न ससाना कामका लागि स्थानीय सरकारलाई दिइएको सशर्त अनुदान विशेष अनुदान र समपूरक अनुदान लगानी गर्नुपर्ने गरी एकमात्र खुला शर्त राखिएको बताए । साहले भने, ‘मुख्यमन्त्री हरित प्रदेश अभियान, जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउनेछ सुख, एक नागरिक एक विरुवा, हरित शहर स्वच्छ शहर भन्ने अभियानलाई बजेटमा मूर्तरुप दिने प्रयास गरिएको छ ।’ उनले मधेशको समग्र विकासमा बजेटले ध्यान दिएको बताउँदै आफूले बनाएको बजेट आउने दिनमा कार्यान्वयनमा जाँदा यसको प्रतिफल मिल्ने बताए ।






