
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको आलोचना भएको छ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको मृत्युपटिछ बिहीबार जनकपुरधाम र मैथिल समुदायमा उनको आलोचना देखिएको हो । प्रतिष्ठानको जनकपुरधाममा भएको कार्यक्रममा गीत गाउँदा १ लाख रुपैयाँ दिने भनिएपछि बिरामी हुँदा पनि कामतले ४ घण्टा गीत गाएको तर कापडिले पैसा पछि पठाइदिने आश्वास दिएर नदिइएको घटना कामतले नै बोलेपछि र उनै कामतको उपचार खर्च नजुटेर मृत्यु भएपछि आलोचना भएको हो ।
कार्यक्रम सम्पन्न भएको चार महिना हुँदा पनि कामतलाई पैसा दिइएको थिए । कामतले पैसाका लागि प्रत्येक दुई–तीनदिनमा कापडि़लाई फोन गर्ने गरेको तर उनले कुनै न कुनै बहाना बनाउँदै टार्दै आएको पाइएको छ । कामतले सिरहामा पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कापडिले कार्यक्रम गराएको तर पैसा नदिएको बताएका थिए । कामतको यो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । कामतले भिडियोमा साहित्यकारहरुको आस्थाको केन्द्र हुनुपर्ने प्रतिष्ठानमा काम गरेबापत पाउनुपर्ने रकम आफू जीवन, मृत्युसँग संघर्ष गरिरहेको अवस्थामा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
कापडिले कामतको स्वास्थ्य उपचारका लागि प्रतिष्ठानले अरु एकलाख रुपैयाँ दिने घोषणा पनि गरेका थिए । त्यो पैसा पनि कामतलाई प्राप्त नभएको उनका परिवारजनले जनाएको छ । कापडि दुई पटक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, साझा प्रकाशनका अध्यक्ष, जनजाति आयोगका अध्यक्ष भइसकेका मैथिल समाजका मूर्धन्य स्रष्टा हुन् ।






