दिवाखाजा कार्यक्रममा व्यापक अनियमितता

हिसाब मिलाउन शिक्षकनै नगरपालिका काजमा

[mashshare]

राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरेको भएपनि विद्यार्थी संख्या बढेको छैन । विद्यालयमा नियमित उपस्थिति हुने भन्दा ४ गुणासम्मको नाम रजिष्टरमा लेखिन्छ र त्यसकै आधारमा दिवाखाजा रकम निकासी हुदैँ आएको छ । नगरमा रहेका ३७ विद्यालयको लागी पालिकाले चालु आर्थिक वर्षको तीन महिनाका लागि ५२ लाख २१ हजार रुपैयाँ निकासा गरेको छ ।

मुकेश कुमार यादब
सिरहा, २७ माघ ।
सिराहाका सामुदायिक विद्यालयहरुमा दिवाखाजा कार्यक्रममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । जिल्लाको धनगढीमाई नगरपालिका अन्तर्गतका दिवाखाजा कार्यक्रम सञ्चालन भएको विद्यालयहरुमा व्यापक अनियमितता भएको पाईएको हो।
जनता आधारभुत विद्यालय धनगढीमाई नपा ८ इटारीमा कक्षा ५ सम्म पढाईहुने विद्यालयको रजिष्टरमा एक सय २६ जना विद्यार्थीको नाम छ। शिक्षा शाखाले अनुगमनगर्दा ८९ जना फेलापरेको र त्यसमा १५ प्रतिशत (१३ जना) संख्या थप गरी एक सय दुई जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एकलाख ३७ हजार सातसय पठाएको छ । यो रकम चालु आर्थिक वर्षको तीन महिनाको हो ।


यो विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुनेगरेको स्थानीय बताउँछन्। गत पुस १३ गते हामी पुग्दा पनि यस विद्यालयमा ३० जना विद्यार्थी उपस्थित थिए । विद्यालयमा नियमित उपस्थित हुनेहरुको भन्दा करिब ७० जना बढी विद्यार्थीको नाममा दिवाखाजा रकम निकासा भएको छ ।

त्यसैगरी, धनगढीमाई नपा ३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा तीनसम्म पढाई हुन्छ। विद्यालयको रजिष्टरमा ९१ जना विद्यार्थीको नाम देखिन्छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ। सोही आधारमा १५ प्रतिशत थपगर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ। हामी गत माघ ३ गते विद्यालयमा पुग्दा बालकक्षा सहित जम्मा २५ जना विद्यार्थी उपस्थित थिए। यहाँ पनि नियमित उपस्थित हुने खास विद्यार्थी भन्दा ६० बढी विद्यार्थीको नाममा दिवा खाजा भक्ता निकासा भएको छ ।


नगर भित्रका अन्य आधारभुत विद्यालयको अवस्था पनि यस्तै छ भन्दा फरक छैन। खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकहरुले विद्यार्थीसँख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारीहरु निश्चत प्रतिशत कमिशन लिएर विद्यालयले पेस गरेकै डाटाकै आधारमा सवै शीर्षकको रकम सहजै सिफारिस गर्ने गरेको जानकारहरु बताउँछन्।

विद्यालयहरुमा दिवाखाजा तथा अन्य शीर्षकको रकम छुटा–छुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिएपनि शाखाका कर्मचारी तथा विद्यालयका प्र.अहरुले यसमा ठूलै रकमको चलखेल गर्नेगरेको एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए । उनले भने, ‘प्रत्येक विद्यालयहरुमा वार्षिक रुपमा विद्यालय शिक्षा सुधार देखि लिएर विभिन्न मसलन्द,नन–स्यालरी,अडिट खर्च लगायतको करिब १५ शीर्षकमा गरी १ सय विद्यार्थीको नाम रहेका विद्यालयमा ५ लाखसम्म जाने गरेको हुन्छ ।’ उनका अनुसार प्रधानाध्यापकहरुले एक ÷दुई शीर्षक वाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी हुने गर्दछ । उनले थपे, ‘ प्रधानाध्यापकहरुले अहिले शिक्षाशाखाका कर्मचारीलाई नजराना नतिरे उसको विल,भर्पाइ समेत फछर्याैट हुदैनन् । अहिले विद्यालयहरुमा शिक्षाको नाममा व्यापक रुपमा भ्रष्ट्राचार मौलाएको छ ।’


स्कुल र नगरपालिकाबीच राम्रोसँग हिसावकिताव मिलाउन धनगढीमाई ८ स्थित जन्ता माध्यमिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदिप कुमार साहलाइ शिक्षा शाखामा काजमा ल्याइएको छ । उनको सट्टामा स्कूलमा भने अर्को शिक्षकलाई तलब दिएर राखिएको छ । उनी पूर्वमेयरकै पालादेखि शिक्षा शाखमा छन् । नवनिर्वाचित मेयरसँगको सेटिङ मिलेपछि उनी अहिलेपनि शिक्षा शाखामै काजमा कार्यरत रहेको छन् ।


शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिनेगरेको बुझिएको छ। नगरले शिक्षा शाखाका लागी काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुनेगरेको गुनासो पछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थीसंख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णय अनुसार गरेका छौं।’


यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममाहुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जानेगरेको कार्यरत शिक्षहरु नै बताउँछन्।

धनगढीमाई नगरपालिकामा ८ वटा माध्यमिक विद्यालय २५ वटा आधारभुत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय रहेका छन् । २०७९÷८० मा इमिसको आधारमा करिव १० हजार भन्दा माथी विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजि विद्यालय रहेता पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाएको छ । नगरमा रहेका जम्मा ३७ विद्यालयको लागी पालिकाले ५२ लाख २१ हजार रुपैयाँ निकासा गरिएको जनाएको छ । राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरेपनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको जानकारहरु बताउँछन् । पछिल्लो समय राज्यले शिक्षामा जतीनै लागानी गरेतापनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किदै गइरहेको उनीहरु बताउँछन्।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button