
विकास अग्रवाल
रौतहट ।
अधिकांश स्थानीय पालिकामा बारुणयन्त्र नहुँदा समयमै आगजनीका घटना नियन्त्रण हुन सकेको छैन । गर्मीयाम शुरु भएलगतै आगजनीका घटनामा तीव्रता आए पनि स्थानीय निकायमा बारुणयन्त्र (दमकल) नहुँदा वर्षेनी सर्वसाधारणले ठूलो धनमाल क्षति व्यहोर्दे आएका छन् । सदरमुकाम गौर तथा चन्द्रपुर नगरपालिकामा मात्र बारुणयन्त्रको सुविधा छ ।
स्थानीय पालिका गठन भएको ७ वर्ष बितिसक्दा पनि जिल्लाको १४ नगरपालिका तथा दुई गाउँपालिकाका प्रमुखले बिलासितायुक्त गाडी प्रयोग गर्दै डोजर, ट्रिपर खरिद गरे पनि दमकल किनेका छैनन् । समयमै बारुणयन्त्र नपुग्दा पछिल्लो एक साताको अवधीमा रौतहटको विभिन्न स्थानमा भएको आगजनीको घटनामा करोडौँ मूल्य बराबरको धनमाल जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर, इशनाथ, गंगापिपरालगायतका पालिकामा विगत एक साताको अवधीमा दर्जनौँ घरमा आगजनी भएको छ ।
कतै आगलागी हुँदा सदरमुकाम गौर र चन्द्रपुरको बारुणयन्त्र खटिने गरेको छ । अति आवश्यक भएको स्थानमा बारा र सर्लाहीबाट समेत बारुणयन्त्र उपलब्ध गराउने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कम्तीमा दुई वटा बारुणयन्त्र अझै उपलब्ध भए आगलागीका घटना नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै जिल्ला प्रशासनले बारुण यन्त्र खरिदका लागि अन्य पालिकासँग समन्वय भइरहेको जनाएको छ ।
पालिका प्रमुखहरुले आफ्नो तथा निर्वाचित जनप्रतिनिधिका लागि सवारीसाधन खरिद गरी प्रयोग गर्दै आएको आरोप लगाउँदै फतुवा विजयपुरका अमरेन्द्र साहले भने, ‘गाउँघरमा आगजनीका घटना हुँदा नियन्त्रण गर्न बारुणयन्त्र खरिद भएको छैन ।’ निर्वाचित जनप्रतिनिधिले बारुणयन्त्र खरिदका लागि चासो देखाउन नसकेको आरोप लगाउँदै उनले पालिकामा हेभी प्रकारका कुनै सवारीसाधन नभए पनि कतिपय पालिकाले कार्यकर्ता पाल्न हेभी चालकमा नियुक्ति दिएको पाइएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमुनि जयसवालले दमकल खरिद प्रक्रिया अघि बढाइने बताए ।






