
मधेशदृष्टि
वीरगंज ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा एक वर्षको अवधिमा आठ सय आठ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०–०८१ मा दर्ता भएका आठ सय आठ वटा मुद्दामध्ये चार सय ९४ मुद्दा फछ्र्यौट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त मुद्दाहरुमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, अपहरण जस्ता जघन्य प्रकृतिका एक सय २५ वटा मुद्दा दर्ता भएका हुन् ।
एक वर्षको अवधिमा चार सय ४४ जना विभिन्न मुद्दामा फरार रहेको प्रतिवादी र अभियुक्त पक्राउ परेको महोत्तरी प्रहरी कार्यालयले जनाएको छ । सो अवधिमा लागुऔषधसहित ७१ जना पक्राउ परेको छन् भने ५३ मुद्दा दर्ता भएका छन् । बरामद गरिएको लागुऔषधमा गाँजा, खैरो हिरोइन, नाइट्रोभेट ट्याबलेट, नाइट्रोजेपाम, प्रोमेथाजाईन एम्पुल, नुफिल, ब्रुप्रेनोर्फिनलगात रहेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै हातहतियारसहित ६ जना पक्राउ परेका छन् भने पाँच वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको एक करोड २२ लाख बरामद
महोत्तरी प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दश जनालाई स्रोत नखुलेको एक करोड २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ । विभिन्न किसिमका भन्सार चोरी तस्करीका लत्ता कपडा, किराना सामानहरु, सवारी साधन, चौपायालगायत बरामद भएको ४३ जनालाई पक्राउ गरी आठ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व बुझाएको जनाएको छ । गत आर्थिक वर्षमा लैंगिक हिंसासम्बन्धी एक हजार ८२ मुद्दा दर्ता भएकोमा आठ सय ६९ मुद्दा फछ्र्यौट भएको र दुई १३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाएको छ ।
दुई हजार आठ सय मिटरब्याजसम्बन्धी उजुरी
त्यसैगरी, महोत्तरीका विभिन्न पालिकाहरुबाट दुई हजार आठ सय नौ वटा मिटरब्याजसम्बन्धी निवेदन प्राप्त भएकोमा दुई सय ३५ वटा निवेदनहरुको मिलापत्र भएको र दुई हजार पाँच सय ७३ निवेदन बाँकी रहेको जनाएको महोत्तरी प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । उक्त विवरण अनुसार मिलापत्र भएका निवेदनहरुमा २८ विगहा, ३ कठ्ठा १२ धुर बराबरको जग्गा तथा १३ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको लेनदेनसम्बन्धी मिलापत्र गरिएको छ ।
एक लाख चार हजार सवारी कारबाहीमा
एक वर्षको सो अवधिमा एक लाख चार हजार ५५ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । उक्त सवारी कारबाहीबाट प्रहरीले तीन करोड ३७ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आठ सय ११ वटा सामुदायिक प्रहरी कार्यक्रम, ६८ वटा सवारी दुर्घटना न्युनिकरणसम्बन्धी कार्यक्रम, १६ वटा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम र चार पटक नागरिक सुनवाई कार्यक्रम गरेको जनाएको छ ।






