
डा. अमरेश कुमार सिंहले आफ्नै पुरानो पार्टी नेपाली कांग्रेस ‘गणतन्त्रकी पम्फादेवी’को घरबाट चलिरहेको बताए । उनले भने, ‘राजतन्त्रकी पम्फादेवी भन्दा गणतन्त्रकी पम्फादेवी झन भ्रष्टाचारी भेटियो, संसदमै बोलेको छु, कांग्रेस पम्फादेवीको हातमा गयो भनेर ।’
मधेशदृष्टि
वीरगंज, २४ वैशाख ।
स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले महात्मा गान्धीले कहिल्यै आफूलाई ‘भारतको बापु’ दाबी नगरेको तर भारतसहित संसारले उनलाई ‘बापु’ नै भनेर सम्मान गर्ने र चिनिएको बताएका छन् ।
टिभी वीरगंजको कार्यक्रम ‘जनता जानेके चाहता’मा कार्यकारी अध्यक्ष ध्रुव साहसँगको सम्वादमा डा. सिंहले मधेशमा उदाउँदो शक्ति जनमत पार्टीलाई लक्ष्यित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘कसैले आफूलाई केही हुँ भन्नै पर्दैन, जनताको काम पो गर्ने हो, अहिलेदेखि मधेशको मसिहा भनेर कोही मसिहा हुन्छ ?’ उनले महात्मा गान्धीले सिंगो भारत स्वतन्त्र गराएको, पदमा जाने चाहना नराखेको तर भारतसँगै संसारले ‘बापु’ मानेको बताए । उनले भने, ‘गान्धीले कहिले भने र म भारतको बापु हुँ भनेर ?’
डा. सिंहले मधेशकै अर्को पार्टी जनता समाजवादी पार्टीप्रति पनि कटाक्ष गरे । उनले भने, ‘केही सांसद छन्, ती समानुपातिकमा आएका हुन्, दुई चार सिट भन्दा कहाँ जितेको छ र जसपाले ?’ सिंहले जसपा अध्यक्ष उपेन्द्र यादव नै कांग्रेसको सिट र भोटबाट संसदमा पुगेको बताए । उनले मधेशकै अर्को पार्टी लोसपा त कतैबाट रिमोट कन्ट्रोलले चलेकाले सकिएको टिप्पणी गरे । उनले भने, ‘श्रीमती, सम्धिनी सांसद बनाएर मधेशको उन्नयन हुन्छ ? त्यस्ता पार्टीहरु अब टिक्छन् मधेशमा ?’
डा. सिंहले आफ्नै पुरानो पार्टी नेपाली कांग्रेस ‘गणतन्त्रकी पम्फादेवी’को घरबाट चलिरहेको बताए । उनले भने, ‘राजतन्त्रकी पम्फादेवी भन्दा गणतन्त्रकी पम्फादेवी झन भ्रष्टाचारी भेटियो, संसदमै बोलेको छु, कांग्रेस पम्फादेवीको हातमा गयो भनेर ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुप्रति कटाक्ष गर्दै भने, ‘पम्फादेवीको हातमा नफुत्केसम्म कांग्रेस पनि अब बन्दैन, मधेशमै हेर्नुहोस् औँलामा गन्न सकिने रमेश रिजाल, अजय चौरसिया नै चुनाव जित्ने भएका छन् ।’ उनले संसारकै धनी सूचीमा रहेका कांग्रेस नेता तथा सांसद विनोद चौधरीले पनि कर नतिर्ने गरेको आरोप लगाए ।
भने, ‘शरीरमा एक थोपा रगत भइन्जेल मधेशका लागि सक्रिय रहन्छु, शिक्षा, विकास, जातका नाममा अब राजनीतिका नाममा दलाली चल्दैन, जनताका मुद्दा बोक्नेहरुको मधेशमा भविष्य छ ।’ कार्यक्रम ‘जनता जानेके चाहता’ टिभी वीरगंजसँगै रेडियो वीरगंज र पोखरिया एफएमबाट पनि शनिबार प्रसारण भएको छ ।






