
मधेशदृष्टि
जनकपुरधाम ।
२६–११ मुम्बई हमलाको १५ औँ वार्षिकोत्सवमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनकर्तालाई संक्षिप्त सम्बोधन गर्दै यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षाको समेत चुनौती रहेको भन्दै सतर्क रहन चेतावनी दिए । उनले पाकिस्तानसँग आतंकवाद रोक्न र मानवअधिकार पालना गर्न मागसँगै हिन्दूको सहयोगी बन्न पनि आह्वान गरे ।
यादवले २६–११ को मुम्बई हमलाले आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने बताए ।
राष्ट्रिय एकता अभियानका समर्थकले पनि पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरे र आतंकवादलाई समर्थन गर्नु अपराध भएकाले विश्वका लागि खतरा भएको उल्लेख गरे । अभियानद्वारा हिन्दू समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने समेत आव्हान गरिएको छ ।
प्रदर्शनमा सहभागीरुले आतंकवाद र मानवअधिकार उल्लङ्घनविरुद्ध सबै देश एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाए । प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको र नागरिकलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको बताइएको छ ।






