
नेपालको शिक्षा प्रणालीबारे विगतदेखि नै सार्वजनिक वृतमा विभिन्न टिकाप्पणी र आलोचना हुँदै आइरेहका बेला एसइइ नतिजाले त्यसलाई थप बल पुर्याएको छ । अहिलेको शिक्षा प्रणाली समय सुहाउँदै बनाउँदै लैजानुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । विज्ञान प्रविधीको बढ्दो विकास र विस्तारसँगै शिक्षा क्षेत्रमा पनि आमूल परिर्वतनको खाँचो देखिन्छ । तर, नेपालमा अहिले पनि पुरातनवादी शिक्षण सिकाई प्रणाली कायमै छ । वर्तमान सूचनाको युगमा विज्ञान प्रविधीको प्रयोग सायदै भेटिन्छ । यस्तो अवस्था शिक्षा क्षेत्रको बारेमा बहस हुनु स्वभाविकै पनि हो । तर, शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायले यस्ता विषयलाई निष्कर्षमा पुर्याउनुको साटो सार्वजनिक खपतको विषय मात्रै बनाउने गरेको पाइन्छ । जसले गर्दा शिक्षा क्षेत्र गुणस्तरीय विकास गरी दक्ष जनशक्ति उत्पादन गर्न हामी चुकिरहेका छौ । शिक्षा क्षेत्रमा देखिएको राजनीति, महंगो शिक्षा, शिक्षकको क्षमता अभिवृद्धिलगायत थुप्रै कारणले वर्तमान परिस्थतिलाई झेल्दै आएको नेपालको शिक्षा प्रणालीमाथि गम्भीर चिन्ताको पाटो दर्शाएको छ, एसइइ नतिजाले ।
बिहीबार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा २०८० को नतिजालाई लिएर सरोकारवाला निकायले चासो र चिन्ता व्यक्त गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ५२ प्रतिशत परीक्षार्थी नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसइइको नतिजाअनुसार २ लाख २२ हजार ४७२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी भने उत्तीर्ण भएका छन् । यसमा सबभन्दा धेरै ७८ हजार ८७४ जना जीपीए २.८० देखि ३.२० मा परेका छन् । २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका हुन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो । एसइइको नतिजालाई लिएर राष्ट्रिय परीक्षा बोर्डले आफ्नै तर्क छ । बोर्डका अनुसार ननग्रेडिङ परीक्षार्थी बढ्नुका दुई कारण औँल्याइएको छ । पहिलो, सबै विषयमा सैद्धान्तिकतर्फ लिखित परीक्षामै न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाले ननग्रेडिङ विद्यार्थीको संख्या बढेको बोर्डले जनाएको छ । विगतमा प्रयोगात्मक परीक्षाको अंक जोडेर ३५ प्रतिशत पु¥याए हुने व्यवस्था थियो । त्यस्तै, दोस्रो, यस वर्ष नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसइइ परीक्षा लिइएको हो । सोहीअनुसार, विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । निर्देशिकाअनुसार, विद्यार्थीले हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउन अनिवार्य गरिएको छ । त्यसका लागि ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गरिएको थियो । त्यसमा न्यूनतम २७ अंक ल्याउनुपर्छ । त्यो भनेको जीपीए १.६ हो । त्यसभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्छन् । त्यस्ता विद्यार्थीले बोर्डबाट ग्रेडसिटसमेत पाउने छैनन् । त्यस्ता विद्यार्थीले वार्षिक परीक्षा नै दिनुपर्छ । उनीहरूले तीन वर्षसम्म परीक्षा दिन पाउँछन् ।
एसइइको नतिजाका विषयमा विभिन्न टिकाटिप्पणी सार्वजनिक भए पनि शिक्षाको गुणस्तरमा सुधार ल्याउनुपर्ने कुरालाई भने यसले प्रष्ट संकेत गरेको छ । शिक्षण सिकाई केवल सैद्धान्तिक मात्र नभइ प्रयोगात्मकमा पनि बढी ध्यान दिनुपर्ने देखिन्छ । त्यसका लागि यहाँ विद्यार्थीलाई मात्रै दोषी दिएर उनीहरु उत्तिर्ण हुन सकेनन भन्न मिल्दैन । आधाभन्दा बढी विद्यार्थीको नन ग्रेडको दोष शिक्षक र अभिभावकले पनि लिनुपर्छ । शिक्षण सिकाइमा सुधार ल्याई समग्र शिक्षा गुणस्तर बृद्धि गर्न नीतिगत ढंगबाट पनि सरकारले अग्रसरता लिन जरुरी छ ।






