सरकारमा समेटियो कांग्रेस–लोसपा

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
अर्थ मन्त्रालय नेपाली कांग्रेसलाई दिने सहमति भएपछि मधेस प्रदेश सरकार विस्तार भएको छ । नेपाली कांग्रेसले अर्थ मन्त्रालय आफूहरुलाई दिने मुख्यमन्त्रीसँग भद्र सहमति भएको र अन्तिम समयमा जनमतले दाबी नछाडेपछि काग्रेस मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारमा सहभागी भएको थिएन ।

बिहीबार बिहान नेपाली कांग्रेसले संसदीय दल बैठक डाकेर सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेपछि जनमत अर्थ मन्त्रालयको दाबी छाडेर सरकार विस्तारका लागि तयार भएको हो । अर्थ मन्त्रालय दिने सहमति भएपछि कांग्रेसले आफ्नो भागमा परेका चार मन्त्रालयमा मन्त्री पठाएर शपथ लिएको छ । मधेस प्रदेशका नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ नेपाली कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका १ गरी पाँच प्रदेशसभा सदस्यले मन्त्रीका रुपमा शपथ लिएका हुन् । मुख्यमन्त्री सिंहको सिफारिसमा नियुक्त भएका पाँचजना मन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट रौतहटका सुनिल यादव अर्थ, पर्साका जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानी र सर्लाहीका कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बनेका छन् । यस्तै, लोसपाबाट महोत्तरीकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्री बनेकी छिन् । नेकपा एमालेका राजकुमार लेखी शिक्षामन्त्रीबाट गृह, सञ्चार तथा कानून मन्त्री बनेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिइसकेपछि कांग्रेसबाट चारजनाले मन्त्रीको रुपमा शपथ लिने तयारी गरे पनि अन्तिम समयमा आएर मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफूसँगै राख्ने भनेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

इमान्दार र स्पष्ट छविका क्षेत्री
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री मधेश मन्त्रिपरिषद्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित क्षेत्री नेपाली कांग्रेसका पर्सा सभापति पनि हुन् । २०७९ मा पहिलोपटक प्रदेश सभाको चुनावमा भाग लिएर क्षेत्री निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई पराजित गरी निर्वाचित भएका हुन् । उनै क्षेत्री प्रदेश सभा सदस्य भएको पहिलो कार्यकालमै मधेशको कृषि मन्त्रालय सम्हाल्ने जिम्मेवारीमा पुगेका छन् ।

२०४६ को पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनबाट विद्यार्थी राजनीतिमा होमिएका क्षेत्री राजनीतिकरुपमा स्पष्ट र इमान्दार नेता मानिन्छन् । आफ्नै समकालीन कांग्रेसी नेता अजय द्विवेद्वीले विभिन्न अवसर पाउँदा र केन्द्रीयस्तरमा राजनीतिक छवि बनाइसक्दा उनी भने पहिलो पटक प्रदेशमा मन्त्री बनेका छन् । कांग्रेस पर्साको उपसभापति हुँदै विस. २०७८ मा नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा विजयी क्षेत्री पर्साका अनुभवी र स्पष्ट छविका राजनीतिज्ञ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button