
मधेशदृष्टि
सर्लाही ।
चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा हत्या भएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा घरमा बास बसेका तीन जनाको संलग्नता देखिएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । आइतबार बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको छ ।
पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकका अनुसार, राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबीच कुराकानी भएको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै युवकलाई सुत्न अर्कै कोठामा पठाएको बयान युवकले प्रहरीसँग दिएका छन् । प्रहरीले पूर्वराज्यमन्त्री रायको घरमा काम गर्दै आएका युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार युवक राति शौचालय जान निस्कँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार युवकले बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनको भनाइ छ । पूर्वराज्यमन्त्री रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङबाट धारिलो हतियार दाउ (फरसा) फेला पारेको छ ।
प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार, घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुनसक्ने प्रहरीको आशङ्का छ । घटनामा संलग्नको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षीय पूर्वराज्यमन्त्री रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको पाइएको हो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो । राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् । परिवारसँगै काठमाडौँ बस्दै आएका उनी केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारले जनाएको छ । रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न आउने जाने गरेको स्थानीयले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु । निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस् ।’
यस्तै, राष्ट्रिय एकता अभियानका संरक्षकका रूपमा रहेका रायको हत्यासँगै शोक तथा आक्रोश छाएको छ । राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा हिन्दूवादी नेता विनय यादवले जारी गरेको प्रेस विज्ञप्तिमा रायको हत्यालाई कडा शब्दमा निन्दा गर्दै हत्यारालाई शीघ्र पक्राउ गरी कडा कानूनी कारबाही माग गरिएको छ ।
यो बर्बर घटनाले सर्लाहीबासीलाई झक्झक्याएको र न्यायका लागि संघर्ष गर्न प्रेरणा दिएको यादवले बताए । पूर्वराज्यमन्त्री यादवका भाई नागेन्द्र प्रसाद यादव मलंगवा नगरपालिकाका नगर प्रमुख हुन् । उनका तीन दाजुभाई छन् । उनका दुई छोरामध्ये एउटा काठमाडौँमा र अर्को अस्टे«लियामा छन् ।